× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / फ्रि वाइफाइ, डिजिटल पालिका निर्माण गरिने

फ्रि वाइफाइ, डिजिटल पालिका निर्माण गरिने

फ्रि वाइफाइ, डिजिटल पालिका निर्माण गरिने

साकेला टे स

साकेला गाउँपालिकाले सार्वजनिक स्थलहरूमा फ्रि वाइफाइ सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तारका लागि महत्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको हो । गाउँपालिकाले वडा नम्बर ५ मात्तिमस्थित पालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला र गाउँपालिकाको केन्द्रमा रहेको मानेभन्ज्याङ पार्कमा फ्रि वाईफाई सेवाको पहुँच विस्तार सुरु गरिसकेको छ ।

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा पालिकाले उक्त स्थानहरुमा एक हजार एमविपिएस क्षमता बराबरको फ्रि वाईफाई विस्तार गरेको हो । पालिकाले वडा नम्बर २ को रतन्छास्थि साकेला (थान) पार्क र तावाभन्ज्याङ क्षेत्रमा समेत फ्रि वाईफाई जडान गर्ने तयारी गरेको छ । फ्रि वाईफाई सेवाको उपलब्धतासँगै सो क्षेत्रहरुमा सिसि क्यामेरा समेत जडान गरिएको छ । विभिन्न पूर्वाधारहरुको निर्माणसँगै पालिकाले उक्त स्थानहरुको गतिविधिको नियमित निगरानीका लागि सिसिक्यामेरा राखेको हो । पालिकाको केन्द्रमा बसेर उक्त स्थानमा हुनेगरेका गतिविधिको निगरानी गरिनेछ ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईका अनुसार निःशुल्क वाइफाइ सेवाले इन्टरनेटको पहुँच नपाएका साकेलाबासी नागरिक, विद्यार्थी तथा बाहिरबाट घुम्नका लागि आउने आगन्तुक पाहुनाहरुलाई लाभ पुग्ने अपेक्षा गरिएको बताउनुभयो । अनलाइन कक्षा, ई–लाइब्रेरी, अनुसन्धान सामग्री तथा नयाँ–नयाँ प्रविधि सिक्न चाहनेहरूका लागि यो सेवा उपयोगी हुने उहाँको भनाई छ ।

डिजिटल पर्यटन प्रवर्द्धन, स्मार्ट पालिका निर्माण तथा डिजिटल साक्षरता विस्तारलाई पनि लक्षित गर्दै फ्रि वाइफाइको सेवा जडान गरिएको अध्यक्ष राईले बताउनुभयो । आगन्तुकहरूले स्थान सम्बन्धी जानकारी, डिजिटल नक्सा, अनलाइन पेमेन्ट तथा अन्य डिजिटल सेवा सहजै प्रयोग गर्न पाउने हुँदा फ्रि वाईफाई सेवाले पर्यटन प्रबर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने उहाँको अपेक्षा छ ।

प्रविधिमैत्री सेवामा लगानी गर्दै साकेला गाउँपालिका ‘स्मार्ट पालिका’को अवधारणालाई मूर्तरूप दिन दिनरात लागि परिरहेको छ । फ्रि वाइफाइ सहितको प्रविधि विस्तारले भविष्यमा स्मार्ट सिसिटिभी, डिजिटल सूचना बोर्ड, अनलाइन सेवा प्रवाह लगायतका प्रणाली कार्यान्वयन गर्न सहज हुने अध्यक्ष राईको अपेक्षा छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्