टे स
साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत सेवा–सुविधाबाट प्राप्त रकम सामाजिक सहयोगमा समर्पण गर्दै उदाहरणीय कार्य गर्नुभएको छ । माघ २४ गते शनिबार परेको जन्मदिनको अवसरमा अध्यक्ष राईले साकेला गाउँपालिकाभित्रका पाँचवटै वडामा गठन भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने मिलिजुली समूहलाई १५ हजार रुपैयाँका दरले कुल ७५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभई महाजन्मत्सोब मनाउनु भएको छ ।
साकेला गाउँपालिकाको आयोजनामा सञ्चालन भएको आठौं माध्यमिक तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहका अवसरमा अध्यक्ष राईले उक्त सहयोग रकम अपाङ्ग संघ साकेलाका अध्यक्ष तिर्थबहादुर राईलाई हस्तान्तरण गर्नुभयो ।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले आफ्नो सेवासुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा प्रयोग गरिएको बताउनुभयो । व्यक्तिगत उत्सवलाई समाजसेवामूलक कार्यसँग जोड्दै आएको उल्लेख गर्दै उहाँले यस किसिमको सहयोगले समावेशी समाज निर्माणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष राईले यसअघि पनि जन्मदिनका अवसरमा विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आउनुभएको छ । दुई वर्षअघि बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाका लागि एलसिडी ट्याब्लेट वितरण गर्नुभएको उहाँले गत वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । यसले उहाँको व्यक्तिगत जीवनशैलीभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने सोच स्पष्ट रूपमा देखाउँछ ।
कार्यक्रममा उपस्थित स्थानीयवासी तथा सरोकारवालाहरूले अध्यक्ष राईको यो कदमलाई उदाहरणीय सामाजिक कार्यका रूपमा प्रशंसा गरेका छन् । सहयोग रकमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न तथा समावेशी गतिविधि सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
साकेला गाउँपालिकाले सामाजिक न्याय, समावेशी विकास र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अध्यक्ष राईले व्यक्तिगत रूपमा गरेको यो सहयोग पनि गाउँपालिकाले अवलम्बन गर्दै आएको समावेशी र सामाजिक उत्तरदायित्वको नीतिसँग मेल खाने निरन्तर प्रयासको रूपमा हेरिएको छ । २०८२/१०/२५