शैक्षिक स्थिती सुधारका लागि कडा निती

टेम्के खबर

साकेला- साकेला गाउँपालिकामा शैक्षिक गतिविधिबारे गरिने हरेक औपचारिक कार्यक्रमहरुमा गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई अनिवार्य रुपमा सहभागि गराउनुपर्ने नीति ल्याईएको छ । गाउँ शिक्षा समिति र गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले शैक्षिक गतिविधिबारे औपचारिक कार्यक्रम गर्नुपूर्व प्रमुख र उपप्रमुखलाई जानकारी दिएर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने नीति ल्याईएको हो ।

मंगलबार गाउँपालिकास्थित शिक्षा शाखाले आयोजना गरेको विद्यालयका प्रधानाध्यापकहरुको वैठकबाट उक्‍त प्रस्ताव निर्णय गरेको हो । वैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित गाउँपालिका प्रमुख रवि प्रकाश राईले खस्कँदो शैक्षिक स्थितीलाई सुधार गरी शिक्षामा गुणस्तर बढाउन उक्त निर्णय गरिएको बताउनुभयो ।

हामीले आवधिक योजनामै गुणस्तरीय शिक्षा सहितको नमूना विद्यालय निर्माणको नीति अघि सारेका छौं, प्रमुख राईले भन्नुभयो- शैक्षिक गतिविधिबारे हरेक कार्यक्रमहरुमा हाम्रो प्रत्यक्ष निगरानी हुनेछ । गाउँपालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाई नमूना पालिका निर्माण गर्नका लागि शैक्षिक क्षेत्रमा गुणस्तर बढाउनु पर्ने हुन्छ, भौतिक संरचनाले मात्र नभई गुणस्तरीय शिक्षामा विकास गराउन सके मात्र नागरिकले देखेको समृद्ध पालिकाको सपना पुरा हुने प्रमुख राईको तर्क छ ।

पालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि भनेर आयोजना गरिएको वैठकले विभिन्न निर्णयहरु समेत गरिएको छ । २८ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक उपस्थित वैठकले हरेक त्रैमासिक रुपमा सञ्चालन गरिने परीक्षाको नतिजा प्रकाशन गरेपछि उक्त नातिजाबारे विष्लेषण र समिक्षा गर्न अभिभावकहरुसँग समिक्षा गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धि गरि विद्यार्थीहरुलाई सिकाईप्रति जागरुक गराउन मासिक परीक्षा सञ्चालन गरी सो को समिक्षा विद्यार्थीसँग गर्ने लगायतका विभिन्न निर्णयहरु गरिएको छ । शिक्षा शाखा संयोजक कविराज राईले सञ्चालन गर्नुभएको अन्तरक्रियात्मक वैठकमा उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई समेतको उपस्थिती रहेको थियो । २०८० भदौ २७ गते ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *