टे स
साकेला- खोटाङको साकेला गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा बुधबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा चण्डेश्वरी माध्यमिक विद्यालय, डाँडागाउँको व्यवस्थापनमा साकेला–१ स्थित बाँझेच्यानडाँडाको खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो । पालिकाभित्रका छ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको तीनदिने प्रतियोगितामा भलिबल,
हाइजम्प, लङजम्प, सर्टफुट, १००, २००, ४००, ८०० र १५ सय मिटर दौडका साथै १०० मिटर र ४०० मिटर रिले दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको छ । १५ सय मिटर दौडमा छात्रालाई सहभागी नगराइएको आयोजकले जनाएको छ । प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले ३ लाख र वडा कार्यालय बाँझेच्यानडाँडाले १ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको साकेला गाउँपालिकाका शिक्षा संयोजक कविराज राईले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष राईले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको सर्वाङ्गीण विकाससँग जोडिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने
भएकाले गाउँपालिकाले शिक्षा क्षेत्रमा पूर्वाधार, गुणस्तर र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो । “स्वस्थ विद्यार्थी नै सक्षम नागरिक बन्छन्, त्यसका लागि खेलकुदलाई शिक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाइएको छ,” अध्यक्ष राईले भन्नुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालय र खेलाडी विद्यार्थीहरुलाई आफ्नो विद्यालयको जितको लागि मात्र खेल खेल्नु भन्दा सिंगो पालिकाको प्रतिष्ठालाई माथि उठाउने दृढ संकल्पका साथ सहभागि हुन निर्देशन समेत अध्यक्ष राईले दिनुभयो ।
उपाध्यक्ष बिर्सिका राईले शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउँदै छात्रा, विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचानमा सहयोग पुग्ने भन्दै शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने गाउँपालिकाको नीति रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष राईसहित साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का, वडा नम्बर १ का वडाध्यक्ष हेमन राई, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष जीवन खत्री, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । गत वर्ष सम्पन्न सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेले उचालेको थियो । २०८२/१०/२२ गते ।