Author: उजुर राई

  • झापामा गोलि चल्यो

    झापामा गोलि चल्यो

    टे स

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी युवाको आन्दोलनमाथि प्रहरीले गोली चलाएको छ ।

    दमक चोकमा प्रदर्शपछि जु्लुस लगाउँदै दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएर नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

    प्रहरीको हस्तक्षेपपछि भीड अनियन्त्रित बन्दै गएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर एक जना घाइते भएको स्थानीयले बताएका छन् । प्रहरीले भने घटनाबारे स्पष्ट जानकारी दिएको छैन ।

    प्रदर्शनकारीहरुले नगरपालिका अगाडी मोटरसाइकल आगजनी गरेको र त्यहाँ जोडिएका सीसि क्यामेरासमेत तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर झापाको कमल ५ का प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको बताइएको छ ।

    झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले भिड अनियन्त्रित भएपछि हवाई फायर गरेको जानकारी आएको बताएका छन् । थप सुरक्षा टोली त्यसतर्फ पठाएको जानकारी दिँदै उनले अवस्था यकिन भइनसकेको उल्लेख गरे ।साभार हाम्रो मत

  • श्रमदानमा मध्यपहाडि सडक मर्मत सुरु

    श्रमदानमा मध्यपहाडि सडक मर्मत सुरु

    टे स

    साकेला- राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडि लोकमार्गको सेखुवा झगरपुर-चखेवा सडक खण्ड श्रमदान जुटाएर मर्मत गर्ने कार्य आजवाट प्रारम्भ भएको छ । साकेला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने करीव दश किलोमिटर उक्त सडक गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अगुवाईमा मर्मत कार्य सुरु गरिएको हो ।

    लामो समय बितिसक्दा पनि सडक मर्मतमा केन्द्र सरकारले चासो नदेखाउँदा उक्त सडकमा दैनिक यात्रा गर्ने हजारौं यात्रु तथा सवारी साधनले सास्ती खेप्नु परेको छ । केही समयदेखि लगातार परेको वर्षादका कारण उक्त सडक खण्डमा हिलाम्मे भएर सवारी साधन आवतजावतमा समस्या हुँदै आएको छ । यस सडक हुँदै पूर्वी जिल्ला तथा राजधानी काठमाडौ आवत जावत गर्ने यात्रुहरुले सास्ती भोग्दै आएपछि पालिका आफैले श्रमदान जुटाएर मर्मत कार्य सुरु गरेको हो ।

    यात्रुहरुको सहजताका लागि गाउँपालिका अध्यक्ष राईको अगुवाईमा आज पहिलो दिन निर्वाचित जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीयबासी सहित करीव ७० जनाको उपस्थितिमा श्रमदान मार्फत करीव एक किलोमिटर सडक मर्मत गरिएको छ । चाडवाड नजिकिँदै गर्दा यस सडक हुँदै यात्रा गर्ने यात्रुहरुलाई सहजता दिलाउन आजैबाट श्रमदान मार्फत सडक मर्मत सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ । अफ्टेरो सडकका कारण यात्रा गर्न असहज हुने स्थानहरुमा मर्मत गरि सवारी आवतजावतमा सहजता प्रदान गरिने उहाँले बताउनुभएको छ । सडक मर्मतका लागि गाउँपालिकाको तर्फबाट दुईवटा ट्याक्टर र मध्यपहाडि आयोजनाको दुई वटा जेसिवि र स्काभेटर मेसिन परिचालन गरिएको छ ।

    साकेला गाउँपालिकाले वर्षादका कारण बिग्रिएर यातायातका साधन आवत जावतमा समस्या हुँदै आएको पालिकाभित्रका मुख्य तथा सहायक सडकहरु निरन्तर मर्मत र सरसफाई गरि आवगमनलाई सहजता प्रदान गर्दै आईरहेको छ । त्यसका लागि गाउँपालिकाले स्थापना गरेको आकस्मिक पूर्वाधार सेवा मार्फत जनशक्ति र साधन जुटाएर सडक मर्मतको कार्य गर्दै आईरहेको छ । पालिकाले सञ्चालन गर्ने श्रमदान अभियानमा स्थानीय नागरिकहरु स्वस्फूर्त रुपमा जागरुक भएर साथ दिईरहेका छन् । २०८२ भदै २२ गते

  • प्रदेश खेलकुद बोर्ड : अनियमितताको विरोध गर्ने तीन सदस्य बर्खास्त,

    प्रदेश खेलकुद बोर्ड : अनियमितताको विरोध गर्ने तीन सदस्य बर्खास्त,

    विराटनगर

    कोशी प्रदेश खेलकुद विकास बोर्डले तीन जना बोर्ड सदस्यहरुलाई बर्खास्त गरेको छ ।

    कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ३१ औँ बैठकले रोशनी राई, सन्दिप राई र जिवनी राईलाई खेलकुद क्षेत्रमा व्याप्त विकृति र विसंगतिको चर्को विरोध गर्दै आएकाहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

    बर्खास्त गरिएका रोशनी र सन्दिप राई एकीकृत समाजवादी निकट मानिन्छन् भने जिवनी राई माओवादी केन्द्र निकट हुन् । उनीहरु तत्कालिन सामाजिक विकास मन्त्री राजन राईको पालामा २०७९ साउन १२ गते बोर्ड सदस्यमा नियुक्त भएका थिए ।
    यद्यपि, बर्खास्तमा परेकी सदस्य रोशनी राईले भने यो निर्णयलाई खेलकुदभित्रको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफूहरूलाई निशाना बनाइएको आरोप लगाएकी छिन् । उनले सदस्य सचिव पशुर्राम बस्नेतको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको र यही कारण आफूसहित दुई साथीलाई नियोजित रूपमा बर्खास्त गरिएको दाबी गरेकी छिन् ।

    ‘म खेलाडी हुँ । त्यसैले म सधैं खेलकुदभित्र भएको विकृति र विसंगतिको हिजो पनि विरोध गर्थें, आज पनि गर्छु र भोलि पनि गर्नेछु,’ रोशनी राईले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै लेखेकी छिन्, ‘म सधैं खेलकुदभित्रको भ्रष्टाचार, अनियमितता, गलत निर्णयहरूको विषयमा बोल्ला म सहित अरु दुई जना साथीहरुलाई पनि बोर्डबाट हटाइएको कुरा सुन्दैछु । यदि हो भने खेलकुद कसैको घर र पार्टी कार्यालय होइन र खेलकुदमा राजनीति कसैले पनि गर्न मिल्दैन । कानुनको पालना सबैले गर्नु पर्छ र म पनि कानुनको बाटोमा हिंड्नेछु ।’

    बोर्ड सदस्य जीवनी राईले बैठक बारेमा जानकारी नगराइ कारवाही गरिएको असन्तोष व्यक्त गरेकी छिन् ।
    यसअघि पनि बोर्ड सदस्य रोशनी राईले कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय जुडो प्रतियोगितामा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएपछि त्यसको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएकी थिइन् । राष्ट्रिय जुडो प्रशिक्षक समेत रहेकी रोशनीले जुडो प्रतियोगिता एक निजी क्लब ‘विराट कोशी जुडो क्लब’ लाई सुम्पेर आयोजना गरिएपछि सशक्त विरोध जनाएकी थिइन् ।

    रोशनी राईले बोर्डको यो अन्यायपूर्ण निर्णयविरुद्ध कानुनी उपचार खोज्न अदालत जाने चेतावनी दिएकी छिन् । यस घटनाले कोशी प्रदेश खेलकुद विकास बोर्डमा राजनीतिक चलखेल, कार्यकर्ता पोस्ने र आफ्नै प्रभावमा रहेका संघसंस्थाहरूलाई लाभ पुर्याउने सदस्य सचिव बस्नेतमाथि लाग्दै आएका आरोपहरूलाई थप बल पुर्याएको छ । जसले प्रदेशको खेलकुद विकासमाथि नै प्रश्नचिह्न खडा गरेको छ । सदस्य सचिव बस्नेत एमाले कोशी प्रदेशका सदस्य पनि हुन् ।

    बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले भने विधानअनुसार लगातार तीन पटकसम्म बैठकमा अनुपस्थित भए कारबाही गर्ने प्रावधान रहेकोले उनीहरु बर्खास्त भएको दावी गरेका छन् । बर्खास्तीमा परेका सदस्यहरुले भने आफूहरुलाई बोर्ड बैठकको सुचना नै नदिई अनुपस्थित भएको भन्दै बर्खास्तीको काइते निर्णय भएको बताएका छन् । साभार हाम्रो मत

    भदौ १९, २०८२, 

  • बर्षादमा पनि श्रमदान

    बर्षादमा पनि श्रमदान

     

    साकेला (टे स)

    झरी, बादल, वर्षा, सार्वजनिक विदा समेत नभनी यतिबेला साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई निरन्तर जनश्रमदान अभियानको नेतृत्व गरिरहनुभएको छ ।

    वर्षाले बिगारेको सडकले आफ्ना नागरिकलाई दुख नहोस भनेर केही कर्मचारीहरुको साथमा कहिले मुख्य, कहिले शाखा सडक सकार्ने काममा निरन्तर भेटिनुहुन्छ । अध्यक्ष राई पालिकाभित्रका सडकको सौन्दर्य कायम राख्नका लागि थुनिएको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको झ्यासझुस फ्यालेर चिटिक्क बनाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने कार्यमा दिनहुँ लागिरहनुभएको छ ।

    अध्यक्ष राईको नेतृत्वदायी भूमिकालाई साथ दिँदै साकेलाबासी नागरिकहरु पनि प्रत्यक्ष जनश्रमदानमा जोडिएर सफा र सुन्दर पालिका निर्माण गर्ने अभियानमा लागिरहेको पाईन्छ । पालिकामा उपलब्ध भएको जेसिवि मेसिन र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीहरुको साथमा दिनहुँ जनश्रमदानमा भेटिने गर्नुभएका गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई देशकै नमूना गाउँपालिका बनाउने निरन्तर अभियान चलाईरहनुभएको छ ।

    भौतिक विकासले मात्र परिवर्तन सम्भव नहुने बताउनुहुँदै उहाँले सँस्कार र सभ्यताको थालनी स्वरुप पूर्ण सरसफाईको अभियानलाई समेत सँगै हाँकिरहनुभएको छ । साप्सुखोला-मानेभन्ज्याङ-पाँचधारे सडक, बाँझेच्यानडाँडा-रतन्छा-मानेभन्ज्याङ सडक, कात्तिके-सोस्तुङ-रतन्छा नैनेपाटी सडक लगायत पालिकाभित्रका बजार, पार्क, कार्यालय र सार्वजनिक स्थलहरुको सरसफाई गर्नुका साथै उक्त स्थानहरुमा विभिन्न प्रजातिका बोटविरुवाहरु रोप्ने कार्य अध्यक्ष राईको नेतृत्वमा भई नै रहेको छ । अध्यक्ष राईको नेतृत्वमा भएका यावत गतिविधिहरु प्रत्यक्ष अवलोकन गर्न हामी जो कोहीले सकिन्छ ।

    यसैबीच, हिजो शुक्रबार साकेला गाउँपालिका-३ खिदिमास्थित बोपुङका स्थानीय नागरिकहरुको सक्रियतामा मानेभन्ज्याङदेखि बोपुङहुँदै भाङटार जाने सडक सरसफाई गरिएको छ । करीव ३५ जना स्थानीय नागरिक र कर्मचारीहरुको समूहले सडक सरसफाई गर्नुका साथै वर्षाका कारण भएको खाल्डाखुल्डी पुर्ने, भित्ता सफा गर्ने, नालीको उचित व्यवस्थापन गर्ने कार्य गरिएको छ । लगातारको वर्षाका कारण सडक बिग्रिएर सवारी साधन आवत जावतमानै समस्या देखिएपछि शनिबारदेखि रतन्छा खण्डको सडक सरसफाई र मर्मत गर्न सुरु गरिएको छ । गाउँपालिकाले स्थापना गरेको आकस्मिक पूर्वाधार सेवाको नीति अनुरुप पालिकाबासी नागरिकलाई सेवा उपलब्ध गराउनका लागि निरन्तर प्रयासरत रहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ । २०८२ भदैा ९ गते

  • एमाले खोटाङका तीन जना नेताविरुद्ध भ्रष्टाचारको अभियोग

    एमाले खोटाङका तीन जना नेताविरुद्ध भ्रष्टाचारको अभियोग

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमाले खोटाङका तीन जना नेताविरुद्ध भ्रष्टाचारको अभियोग लगाउदै विशेष अदालतमा बिहिबार मुद्दा दायर गरेको छ। आयोगले भ्रष्टाचार गरी गैरकानूनी लाभ लिएको तथा राज्यलाई हानि पुर्‍याएको ठहर गर्दै मुद्दा दायर गरेको बताईको छ ।

    मुद्दा दायर हुनेमा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा पूर्व जिल्ला समन्वय समिति सदस्य चर्चबहादुर विश्वकर्मा, एमाले कोशी प्रदेश कमिटी सल्लाहकार सदस्य एवम् पूर्व ईलाका सदस्य दिलीप कुमार राई, र २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष बवेन्द्र राई रहेका छन्।

    आरोप लागेका तीनै जना नेताले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ को उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय खोटाङबाट प्राप्त विभिन्न विषयका अनुदान रकम हिनामिना गरेको आरोप लगाईएको छ। आयोगको अनिसन्धानमा  चर्चबहादुर विश्वकर्माले २४ लाख, दिलीप कुमार राईले ३० लाख ५० हजार र बवेन्द्र राईले ७ लाख रुपैयाँको भ्रष्टाचार गरेको देखिएको छ।

    अख्तियारले उनीहरूमाथि बिगो रकमसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको  छ। संविधान: वडाध्यक्ष बवेन्द्र राई मुद्दा दर्ता भएसँगै निलम्बनमा परेको छ।

    आदोपितहरु अदालतको फैसला पछि मात्र  दोषी वा निर्दोषी प्रमाणित हुनेछ।

  • नगर र गाउँपलिकाहरुको सभा धमाधम

    नगर र गाउँपलिकाहरुको सभा धमाधम

    टेम्के सम्वाददाता

    आर्थिक बर्षको अन्त्य हुनै लाग्दा जिल्लाका नगर र गाउँपलिकाहरुले सभा मार्फत धमाधम वजेट ल्याउदैछ । नेपाल सरकारको निति अनुसार पलिकाहरुले प्रत्येक बर्षके असारको १० गते भित्र ल्याउनु पर्ने प्राबधान रहेको छ ।

    यसैक्रममा हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि  ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट ल्याएको छ । सोमबार सम्पन्न भएको १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हा ।

    सङ्घीय सरकार राजश्व बाँडफाँडबाट ११ करोड २९ लाख १८ हजार ७ सय १९, प्रदेश सरकार राजश्व बाँडफाँडबाट  १ करोड ६ लाख ९२ हजार, सङ्घीय सरकार वित्तीय समानीकरणबाट ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट  ९९ लाख ९२ हजार बजेट प्राप्त भएको छ भने नगरपालिकाको आन्तरिक स्रोतबाट  एक करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट  दश लाख बजेट आउने अनुमान गरिएको छ ।

    सङ्घीय सरकार सशर्त अनुदानबाट ३४ करोड ७६ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट  ६९ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट  ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट  एक करोड ४० लाख, प्रदेश सरकार सशर्त अनुदानबाट  एक करोड ५१ लाख ७९ हजार र सामाजिक सुरक्षा तथा संरक्षणबाट  १५ करोड बजेट प्राप्त हुने जनाइएको छ । नगरसभाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ  ४६ करोड १५ लाख २९ हजार, पूजीगततर्फ  १९ करोड  तीन लाख ५२ हजार ७१९ र सामाजिक सुरक्षातर्फ १५ करोड बजेट विनियोजन गरेको छ ।

    नगरपालिकाले भौतिक पूर्वाधार बाहेक पानी, पर्यटन र पूर्वाधारमा मात्रै ६ करोड ४७ लाख ९४ हजार ११९ बजेट विनियोजन गरिएको छ । नगरसभामा नगरप्रमुख विमला राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    केपिलासगढी

    केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ५० करोड सात लाख ५९ हजार ३७३ बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

    गाउँसभाले आर्थिक विद्येक, विनियोजन विद्येक, आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा विभिन्न विद्येकहरु सर्वसम्मतरुपमा पारित गरेको छ । गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ को लागि वित्तीय समानीकरणतर्फ रु ८ करोड १ लाख, राजश्व बाँडफाँड तर्फ ८ करोड ५४ लाख ९ हजार ३ सय ७३, सशर्त अनुदानतर्फ रु २१ करोड २७ लाख, समपुरक अनुदानतर्फ ३ करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ ।

    उपप्रमुख राईले विशेष अनुदानतर्फ ३ करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तर्गत वित्तीय समानीकरण तर्फ ६८ लाख ६४ हजार, राजश्व बाँडफाँडतर्फ रु ५९ लाख ५ हजार, सशर्त अनुदानतर्फ १ करोड ४७ लाख ८१ हजार बजेट प्रस्तुत गर्नुभएको छ । समपुरक अनुदानतर्फ १ करोड ६० लाख, अन्तरिक राजश्वतर्फ रु ३५ लाख र गत वर्षको मौज्दात ९० लाख रकमलाई समेटेर वार्षिक बजेट छ ।

    गाउँसभामा गाउँपालिका प्रमुख राईले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्रमुख विशन राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

    आन्तरिक आय २ करोड २० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट १४ करोड ९३ लाख ९० हजार ६ सय ७८, सङ्घीय सरकार अनुदानबाट ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान ८ करोड ६८ लाख ४२ हजार र अल्या ७ करोड ९० लाख १ हजार ७ सय १२ स्रोत जुटेको उपप्रमुख राईले नगरसभा मार्फत जानकारी दिनुभएको छ ।

    व्यवसायिक कफी खेती प्रवद्र्धन गर्न १ करोड, स्थानीय उत्पादनको बजारीकरण गर्न रु १९ लाख, मुढेमा चिस्यान केन्द्र निर्माणका लागि रु २० लाख, बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै बैकल्पिक बाली प्रवद्र्धनमा रु ३० लाख, प्राङ्गरिक खेती प्रवर्धन गर्न १० लाख, बङ्गुर र बाख्रा प्रवद्र्धनमा १८ लाख, कृषि तथा पशुपञ्छी विकास कार्यक्रम अन्तर्गत ३ करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

    नगरसभामा नगरप्रमुख भट्टराईले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    बराहपोखरी

    बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु ३८ करोड ४० लाख ५६ हजार ७ सय ७० बजेट ल्याएको छ । मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा उपप्रमुख भुवलराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

    गाउँपालिकालाई आगामी आर्थिक वर्षमा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु सात करोड ३७ लाख ९८ हजार १३३, प्रदेश सरकारबाट रु ५० लाख १९ हजार र सङ्घीय सरकार समानीकरण अनुदानबाट ७ करोड ९५ लाख बजेट प्राप्त हुने उपप्रमुख राईले जानकारी दिनुभएको छ । यस्तै, प्रदेश सरकारबाट रु ६७ लाख ६१ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ १ करोड ४० लाख र प्रदेश सरकारबाट १ करोड ६० लाख बजेट प्राप्त हुने गाउँसभामा जानकारी दिइएको छ ।

    सङ्घीय सरकार सशर्त अनुदानबाट  १५ करोड ८५ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २१ लाख ४७ हजार, आन्तरिक राजश्वबाट २१ लाख, स्थानीय राजश्व बाँडफाँड १ लाख, बैङ्क मौज्दात १ करोड ८८ लाख ३१ हजार ६२७ बजेट गाउँपालिकामा आउने गाउँपालिकाले जनाएको छ ।

    गाउँसभामा गाउँपालिका प्रमुख सालिकराम बञ्जाराले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । २०८२/०३/१२

     

  • साकेला गाउँपालिकाको नयाँ स्कीम सार्वजनिक, जन्मँदै बैंक खातामा रकम

    खोटाङको साकेला गाउँपालिकाले अब जन्मिने नावालक शिशुहरुलाई लक्षित गरी नयाँ स्कीम ल्याएकाे छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई नेतृत्वको जनप्रतिनिधि टोलीले आगामी आर्थिक वर्ष ०८२/०८३ देखि कार्यान्वयन हुने गरी बालबालिका लक्षित नयाँ योजना ल्याएको हो । मंगलबार गाउँपालिकामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम मार्फत “नवजात शिशु बचत योजना” अन्तर्गत नयाँ स्कीम घोषणा गरिएको हो ।

    विद्यमान व्यक्तिगत र राष्ट्रिय ऋणको बोझ र त्यसबाट प्रभावित साना बालबालिकाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ देशकै नयाँ र पहिलो “Project भविष्य” नीति अघि सारिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । नयाँ नीति अनुरुप आगामी साउनदेखि गाउँपालिकाभित्र जन्मिने हरेक शिशुको नाममा नेपाल एसबीआई बैंकको सहकार्यमा बैंक खाता खोलि रकम जम्मा गर्न सुरु गरिने अध्यक्ष राईले बताउनुभयो । अब जन्मने बच्चाहरुको नाममा पहिलो वर्ष १० देखि १५ हजार रुपैंयासम्म खातामा जम्मा गरिने र वार्षिक केही रकम वृद्धि गर्दै लगिने अध्यक्ष राईको भनाई छ । खाता खोल्नका लागि स्वास्थ्य संस्थामा बच्चा जन्माएको हुनुपर्ने, समयभित्रै जन्मदर्ता गराएको हुनुपर्ने लगायतका न्यूनतम मापदण्ड तयार गरिनेछ ।

    यसरी खोलिएको खातामा १८ वर्षको उमेर सम्म पालिकाले आन्तरिक आम्दानीको केही हिस्सा रकम वार्षिक रुपमा थप गरि वृद्धि गर्दै लैजाने गरि मापदण्ड तयार गरि लागू गरिने अध्यक्ष राई बताउनुहुन्छ । तर यसरी जम्मा भएको रकमको हकदार हुन भने कम्तीमा कक्षा १२ सम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने, बसाँईसरी अन्यत्र जान नपाईने लगायतका मापदण्ड तयार हुनेछ । यस कार्य मार्फत बालबालिकाहरूलाई उच्च शिक्षा र समुन्नत जीवनका लागि आधार स्थापित गर्ने प्रमुख नीति लिइएको छ ।

    साकेला गाउँपालिकाले व्यक्तिगत र पारिवारिक ऋणका असरहरू कम गरी प्रत्येक शिशुको पालनपोषण, शिक्षा र भविष्यका सम्भावनाहरू सुरक्षित गर्ने विश्वास लिएको छ । यस नीति र कार्यक्रमबाट बढ्दो बसाइँसराइलाई न्यूनीकरण गरी समृद्धि र समावेशीताको वातावरण सृजना हुने अपेक्षा गरिएको अध्यक्ष राई बताउनुहुन्छ । २०८२/०३/१२

  • साकेलाको बजेट ३९ करोड ३० लाख

    साकेलाको बजेट ३९ करोड ३० लाख

    उजुर राइ

    साकेला

    खोटाङको साकेला गाउँपालिकाले ३९ करोड ३० लाख ३९ हजार ६५९ को बजेट सार्वजनिक गरेको छ । मंगलबार आयोजित १५औं गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आगामी आर्थिक वर्ष ०८२/०८३ मा कार्यान्वयन हुनेगरी चालु तर्फ २७ करोड ४७ लाख एक हजार ६९ रुपैंया र पुँजीगत तर्फ ११ करोड ८३ लाख ३८ हजार ५९० रुपैंया बराबरको बजेट सभामा पेश गरिएको छ ।

    गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट बहुमतबाट पारित गरिएको छ ।

    आगामी आर्थिक वर्षका लागि साकेला गाउँपालिकालाई वित्तीय समानीकरण अनुदान अन्तर्गत ६ करोड ८९ लाख, राजश्व वाँडफाँडबाट ६ करोड ३२ लाख ५६ हजार ६५९, सशर्त अनुदान तर्फ १४ करोड चार लाख, सशर्त अनुदान पुँजीगत तर्फ एक करोड ३८ लाख, संघीय सरकार समपूरक अनुदान तर्फ दुई करोड २२ लाख,  विशेष अनुदान चालु तर्फ एक करोड ५४ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

    यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५८ लाख नौ हजार, सवारी कर वाँडफाँडबाट ४९ लाख ९० हजार, प्रदेश सशर्त अनुदान तर्फ ७५ लाख ६५ हजार, प्रदेश सरकार पुँजीगत तर्फ एक करोड ७२ लाख ५९ हजार, समपूरक अनुदान पुँजीगत तर्फ एक करोड ६० लाख, जिल्ला समन्वय समितिबाट साझेदारी बापत १८ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन शुल्क बाँडफाँड बापत एक लाख ५० हजार, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर बापत दश हजार तथा गाउँपालिकाको प्रक्षेपित राजश्व रकम ३० लाख, आ.व. २०८१/०८२ बाट सरेर जाने बैंक मौज्दात एक करोड २५ लाख प्रक्षेपित आय अनुमान गरिएको छ । २०८२।०३।१०

  • उदयपुर(टेस)

    नेपाल विद्युत प्राधिकरण उदयपुरले चालु वर्ष साढे ३३ करोड रुपैँया उठाएको छ । गएको साउनदेखि वैशाखसम्मको १० महिना अवधिमा ३९ करोड ६७ लाख ५९ हजार ५ सय ५ रुपैँया बराबरको विद्युत विक्री गर्दै सो परिमाणको महसुल उठाएको हो ।

    जेठ महिनामा विक्री र उठेको रकमको रिपोर्ट भने आउन बाँकी रहेको लेखा अधिकृत राजन राईले बताए । उनका अनुसार केन्द्रको विक्री शाखाले जेठको तथ्याङ्क सङ्कलन गरिरहेकाले वैशाखसम्मको मात्र हिसाव अभिलेखमा रहेको छ । प्राधिकरणले विभिन्न ९ प्रकारका ग्राहकलाई विद्युत विक्री गर्ने र महसुल सङ्कलन गर्ने गरेको छ ।

    जसमा सबभन्दा बढी महसुल सर्वसाधारण ग्राहक (उपभोक्ता)बाट २३ करोड ५४ लाख ९८ हजार रुपैँया उठाएको अधिकृत राईले बताए । त्यस्तै व्यवसायिक ग्राहकबाट ३ करोड ८३ लाख १३ हजार रुपैँया उठेको छ भने औद्योगिक ग्राहकबाट ३ करोड ५५ लाख ७५ हजार सङ्कलन भएको छ ।

    खानेपानी ग्राहकको महसुल ८४ लाख १७ हजार २ सय ४८ उठेको छ भने सिँचाई उपभोक्ताको ५८ लाख ५० हजार ५ सय ७६ रुपैँया, सडक बत्तीवापत ५७ लाख ११ हजार ८ सय ३० र ३३ लाख १ हजार ७ सय ६० रुपैँया महसुल यातायात क्षेत्रबाट उठेको लेखा अधिकृत राईले बताए । त्यसैगरी मठ मन्दिरको महसुल ३ लाख ७४ हजार ८ सय ३९ रुपैँया उठेको छ । अस्थायी ग्राहकबाट अहिलेसम्म ३ लाख ९ हजार ४ सय १८ रुपैँया महसुल सङ्कलन भएको छ ।
    प्रााधिकरणको बक्यौता रकम पनि उत्तिकै उठ्न बाँकी छ । गत वैशाख मसान्तसम्म बक्यौता महसुल ६३ करोड २७ लाख ६८ हजार ५ सय ४० उठ्न बाँकी छ । गत आर्थिकवर्षको असारसम्म बक्यौता महसुल ५९ करोड ६३ लाख ५४ हजार ५ सय १३ रुपैँया उठ्न बाँकी थियो । चालु वर्ष बक्यौता उठाउन लाईन काट्ने तथा पत्राचार गरेर ताकेता गर्ने काम भईरहेको छ ।

    वितरण केन्द्र प्रमुख माधवप्रसाद यादवका अनुसार प्राधिकरणको सदरमुकाम गाईघाटमा वितरण केन्द्र, चौदण्डीगढी नगरमुकाम बेलटार र कटारी नगरमुकाम कटारी बजारमा शाखा कार्यालयहरुमार्फत विद्युत विक्री भईरहेको छ । तीनवटै कार्यालयबाट ७६ हजार ९ सय ५१ ग्राहक सङ्ख्या पुगेको वितरण केन्द्र प्रमुख यादवले बताए ।

    गाईघाट अन्तर्गत ३३ हजार ४ सय ४६ ग्राहक छन् भने बेलटार अन्तर्गत २३ हजार ९ सय ९६ र कटारी शाखा मातहत १९ हजार ५ सय ९ ग्राहक उपभोक्ता रहेको यादवले बताए । उदयपुरको झण्डै ९० प्रतिशत उपभोक्तासमक्ष विद्युत सेवा विस्तार भईसकेको पनि हाकिम यादवले बताएका छन् ।

    बक्यौता यति धेरै हुनुमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडले तिर्न बाँकी महसुल मुख्य कारण हो । पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट मात्र ३५ करोड बढी महसुल बक्यौता छ । प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि देशलाई लोडसेडिङ मुक्त बनाउने क्रममा उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङक लाईनमार्फत २४ घण्टै सञ्चालन गर्ने गरी दिएको सुविधावापत महसुल अहिलेसम्म उद्योगले नतिरेकाले व्याज र हर्जाना जोडिएर यति ठूलो परिमाण बक्यौता पुगेको हो ।

    सरकारी उद्योग भएकाले हिसाव मिलान गर्ने गरी बाँकी रहेको बक्यौता मन्त्रीपरिषदबाट आन्तरिक व्यवस्थापन गर्न नसक्दा महसुल रकम व्याज र हर्जना चक्रवर्ती रुपमा बढ्दै त्यत्ति ठूलो आकारको बक्यौतामा परिणत हुन पुगेको उद्योग प्रशासनले जनाएको छ ।

    वितरण केन्द्र प्रमुख यादवले बक्यौता रकम उठाउन ताकेता गर्दै पत्राचार भईरहेको छ । पहिलो पटक सचेत गराइने, दोस्रो पटकको ताकेतामा पनि महसुल नउठे लाईन काट्ने प्रक्रिया अघि बढाउने हाकिम यादवले बताए ।

  • उदयपुर ट्रफिकले १ करोड २४ लाख राजस्व संकलन गर्यो

    उदयपुर (टेस)

    जिल्ला ट्राफिक कार्यालय उदयपुरले आर्थिक बर्ष २०८१–०८२ मा १ करोड २४ लाख २१ हजार रुपैँया राजस्व संकलन गरेको छ । २०८१ साउन देखी ०८२ असार सम्म कारवाहिमा परेको जम्मा १५ हजार ५ सय ३८ वटा सवारी साधनबाट उक्त राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

    जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्याङ्क अनुसार यस अवधिमा ट्रक २ हजार ४ सय १७ वटा, टिपर ६ सय ४४ वटा, बस १ हजार २ सय ९१ वटा, कार–जिप ४ हजार ९ सय ७८ वटा, ट्याक्टर ६ सय ६२ वटा, मोटरसाईकल ४ हजार ४ सय २३ वटा, टेम्पो–अटो १ हजार १ सय ६ वटा र अन्य १७ वटा सवारी साधनलाई कारवाहि गरिएको छ ।

    सबै भन्दा बढी राजस्व कार र जिप बाट संकलन भएको छ । कारवाहिमा परेको कार र जिपबाट ३८ लाख ८५ हजार रुपैँया राजश्व संकलन गरिएको हो । त्यस्तै मोटरसाईकलबाट ३३ लाख ९३ हजार ५ सय, ट्रकबाट १९ लाख ५ हजार ९ सय, टेम्पो–अटोबाट ११ लाख २७ हजार ५ सय, बसबाट ९ लाख ९४ हजार, टिफरबाट ५ लाख ५७ हजार ५ सय, ट्याकटरबाट ४ लाख ९३ हजार ५ सय र अन्य सवारी साधनबाट ११ हजार रुपैँया गरी जम्मा १ करोड २४ लाख २१ हजार रुपैँया राजस्व संकलन गरिएको तथ्याङ्कले देखाएको छ ।

  • गढीमा चैतेधानमा बृद्धी

    उदयपुरगढी गाउँपालिकामा चैते धानको खेती विस्तार हुँदै गएको छ ।

    विगतमा सीमित क्षेत्रमा सीमित मात्रामा लगाइने चैते धान अहिले तल्लो भेगका अधिकांश खेतमा फैलिएको छ ।

    कृषकहरूका अनुसार पालिकाको कृषि विकास शाखाले सिँचाइका लागि कुलो निर्माण, उन्नत बीउ, मल र कृषि उपकरण उपलब्ध गराएपछि खेती विस्तारमा टेवा पुगेको हो । कृषक हरीबहादुर कार्कीका अनुसार तावा खोला क्षेत्रमा पहिले थोरै मात्रामा लगाइने चैते धान अहिले अधिकांश खेतमा लगाउन थालिएको छ ।

    गाउँपालिकाका विभिन्न वडामा चैते धान खेती हुँदै आएको र करिब १०० हेक्टर क्षेत्रफलमा उत्पादन हुने कृषि शाखा प्रमुख पारसमणी फुयलले जानकारी दिए। अनुगमनका क्रममा कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बि.सी.ले सिँचाइ सुविधामा थप लगानी गर्न सके क्षेत्र अझै बढ्न सक्ने बताए । उनका अनुसार धान खेतीलाई आधुनिकीकरण गर्ने प्रयाससँगै कृषकहरू आत्मनिर्भर र प्रोत्साहित हुँदै गएका छन् ।

  • सुनकोसीमा बाढी आउन सक्ने

    दिक्तेल, ६ असार । सुनकोसीमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सतर्कता अपनाउन एक बिज्ञाप्ती जारि गर्दै अनुरोध गरेको छ ।

    असार ७ गतेसम्म चिनको तिव्वत क्षेत्रमा अधिक वर्षा हुने र बाढी सुनकोसीमा आउने सम्भावना भएकाले प्रशासनले सुनकोसी आसपासमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

    चिनको प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार ६ गते सार्वजनिक सूचना जारी गरेको हो । सुनकोसीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई छुन्छ ।