खोटाङको साकेला गाउँपालिकाले अब जन्मिने नावालक शिशुहरुलाई लक्षित गरी नयाँ स्कीम ल्याएकाे छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई नेतृत्वको जनप्रतिनिधि टोलीले आगामी आर्थिक वर्ष ०८२/०८३ देखि कार्यान्वयन हुने गरी बालबालिका लक्षित नयाँ योजना ल्याएको हो । मंगलबार गाउँपालिकामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम मार्फत “नवजात शिशु बचत योजना” अन्तर्गत नयाँ स्कीम घोषणा गरिएको हो ।
विद्यमान व्यक्तिगत र राष्ट्रिय ऋणको बोझ र त्यसबाट प्रभावित साना बालबालिकाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ देशकै नयाँ र पहिलो “Project भविष्य” नीति अघि सारिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । नयाँ नीति अनुरुप आगामी साउनदेखि गाउँपालिकाभित्र जन्मिने हरेक शिशुको नाममा नेपाल एसबीआई बैंकको सहकार्यमा बैंक खाता खोलि रकम जम्मा गर्न सुरु गरिने अध्यक्ष राईले बताउनुभयो । अब जन्मने बच्चाहरुको नाममा पहिलो वर्ष १० देखि १५ हजार रुपैंयासम्म खातामा जम्मा गरिने र वार्षिक केही रकम वृद्धि गर्दै लगिने अध्यक्ष राईको भनाई छ । खाता खोल्नका लागि स्वास्थ्य संस्थामा बच्चा जन्माएको हुनुपर्ने, समयभित्रै जन्मदर्ता गराएको हुनुपर्ने लगायतका न्यूनतम मापदण्ड तयार गरिनेछ ।
यसरी खोलिएको खातामा १८ वर्षको उमेर सम्म पालिकाले आन्तरिक आम्दानीको केही हिस्सा रकम वार्षिक रुपमा थप गरि वृद्धि गर्दै लैजाने गरि मापदण्ड तयार गरि लागू गरिने अध्यक्ष राई बताउनुहुन्छ । तर यसरी जम्मा भएको रकमको हकदार हुन भने कम्तीमा कक्षा १२ सम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने, बसाँईसरी अन्यत्र जान नपाईने लगायतका मापदण्ड तयार हुनेछ । यस कार्य मार्फत बालबालिकाहरूलाई उच्च शिक्षा र समुन्नत जीवनका लागि आधार स्थापित गर्ने प्रमुख नीति लिइएको छ ।
साकेला गाउँपालिकाले व्यक्तिगत र पारिवारिक ऋणका असरहरू कम गरी प्रत्येक शिशुको पालनपोषण, शिक्षा र भविष्यका सम्भावनाहरू सुरक्षित गर्ने विश्वास लिएको छ । यस नीति र कार्यक्रमबाट बढ्दो बसाइँसराइलाई न्यूनीकरण गरी समृद्धि र समावेशीताको वातावरण सृजना हुने अपेक्षा गरिएको अध्यक्ष राई बताउनुहुन्छ । २०८२/०३/१२