Author: उजुर राई

  • साकेलाबाट ३७ लाख बढी सामाजिक सुरक्षा भत्ता रकम फिर्ता

    साकेलाबाट ३७ लाख बढी सामाजिक सुरक्षा भत्ता रकम फिर्ता

    टेस
    साकेला । खोटाङको साकेला गाउँपालिकाबाट पछिल्लो पटक ३७ लाख रुपैंया भन्दा बढी रकम फिर्ता पठाईएको छ । बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्न थालिएपछि हालसम्म बैंकको सम्पर्कमा आएर आफ्नो खाता सक्रिय नगराउने ७८ जना लाभग्राहीहरुको कूल ३७ लाख ३६ हजार ८६५ रुपैंया हालै संघीय संचित कोषको बेरुजु खातामा फिर्ता पठाईएको गाउँपालिकाले जनाएको छ ।
    यसअघि उक्त गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को दोश्रो र तेश्रो चौमासिकमा लाभग्राहीको खातामा भुक्तानी भए पनि बैंकको सम्पर्कमा लाभग्राही नआएपछि४६ लाख ७४ हजार ७६६ रुपैयाँ रकम फिर्ता पठाएको थियो ।
    साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले कार्यपालिका वैठकबाट निर्णय गरेर बैंकमै थन्किएको लाभग्राहीको रकम संघीय संचित कोषमा फिर्ता पठाईएको बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउने उदेश्य अनुरुप उक्त रकम फिर्ता गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई व्यवस्थित गरि लाभग्राहीलाई सहजता प्रदान गर्न वर्षको तीन पटक सम्म वडा तथा टोलटोलमा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाईको भए पनि उक्त रकम लिन शिविरस्थल तथा बैंकको सम्पर्कमा लाभग्राही नआएपछि सो रकम फिर्ता गर्न गाउँपालिका वाध्य भएकोअध्यक्ष राईको भनाई छ ।
    भौगोलिक कठीनाई र वृद्ध अवस्थाका अशक्त तथा अपाङ्गता भएका लाभग्राहीहरुलाई लक्षित गरि पालिकाले बैंकसँगको समन्वयमा भुक्तानी शिविर सञ्चालन गर्दै आएको छ भने भत्ता लिने लाभग्राहीको सहजताका लागि हरेक वर्ष टोल तथा वस्तीस्तरमा नवीकरण शिविर र घरदैलै अभियान समेत सञ्चालन गर्दै आएको छ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन हरेक स्थानीय तहहरुमा गृह मन्त्रालय अन्तर्गत रहेको पञ्जीकरण विभागले सेवा इकाईको स्थापना गरि एमआईएस सिष्टम सञ्चालन गर्ने कर्मचारीको व्यवस्थापन गरेको छ ।गाउँपालिकामा स्थापना भएको सूचना व्यवस्थापन प्रणाली (एमआईएस) सिष्टम सञ्चालन गर्ने सेवा इकाई मार्फत हुने कार्य र बैंकिङ प्रणाली मार्फत हुने भत्ता भुक्तानीको कार्यले वास्तविक लाभग्राहीको पहिचान खुलेको छ, यस कार्यले अनियमितता रोकी पारदर्शिता कायम भएको गाउँपालिका अध्यक्ष राईको दावी छ ।
    यसअघि गाउँपालिकाले खातामा भएको रकम झिक्न पटक पटक सूचना प्रकाशन गर्नुका साथै हरेक वडा कार्यालयहरु मार्फत लाभग्राहीहरुको खोजि गरि जानकारी गराए पनि लाभग्राहीहरु सम्पर्कमा नआएपछि वाध्य भएर रकम फिर्ताको प्रकृया अघि बढाईएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले बताउनुभयो ।
    पाँच वटा वडा रहेको गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि सबै प्रकारको सामाजिक सुरक्षा भत्ता वितरण नेपाल एसबिआई बैंक मार्फत वितरण गर्दै आएको छ ।
    चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकदेखि भने गाउँपालिकाले विद्युतीय भुक्तानी प्रणाली (ईएफटी) मार्फत लाभग्राहीहरुको खातामा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । साकेला गाउँपालिकामा हाल १ हजार ३ सय ४७ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही कायम रहेका छन् । यस त्रैमासिकमा उक्त लाभग्राहीहरुको लागि १ करोड ३४ लाख १९ हजार ४१४ रुपैंया रकम विद्युतीय भुक्तानी प्रणाली (ईएफटी) मार्फत खातामा भुक्तानी गरिएको छ ।२०८१ बैसाख २५ गते ।

  • खोटाङ बाम्राङका केजिन युरोप महासंघको अध्यक्षमा निर्वाचित

    खोटाङ बाम्राङका केजिन युरोप महासंघको अध्यक्षमा निर्वाचित

    टेम्के सम्बाददाता
    नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले खोटाङ बाम्राङका केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । अध्यक्ष राई खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न ३ बाम्राङ सामातुङका हुनुहुन्छ । राई २०४६ साल देखि पत्रकारिता क्षेत्रमा निरन्तर लागिपर्नु भएको छ ।
    अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, बासु सत्याल ,दिलनिशानी मगर, द्रोण रिजाल,, महासचिव शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश गौतम(साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन् ।
    त्यसैगरी सदस्यहरुमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली(स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी) माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुबास चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल),अमृता राई (रोमानिया), मनि तमु रहेका छन् ।
    नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यमा गत बुधबार सम्पन्न अधिवेशनलाई उद्घाटन गर्दै ‘महासंघ बलियो भयो र एकता भयो भने हामी दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए। बेनेलक्स तथा युरोपियन युनियनकालागि राजदूत गेहेन्द्र राजभण्डारी, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल ,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्ती, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष सुरज भण्डारी, पत्रकार महासंघ जापान शाखा अध्यक्ष शान्त पहारी, प्रेस सेन्टर नेपाल केन्द्रीय उपमहासचिव राजेश चाम्लिंग राई, प्रवास इञ्चार्ज इञ्चार्ज आरबी खड्का, प्रवास अध्यक्ष हरि नेपाली, एनआरएनए अभियन्ताहरु रामशरण सिंम्खडा, प्रवासी नेपाली मञ्च युरोप संयोजक मुक्त गुरुङ, जनसम्पर्क समिति युरोप महामन्त्री गंगाधर गौतम ,नेपाली जनप्रगतिशिल मञ्च युरोप उपाध्यक्ष गंगाप्रसाद भुसाल, प्रवासी नेपाली एकता मञ्च युरोप इन्चार्ज सुवास पोखरेल, एनपिपीएृफ आयरल्याण्ड महासचिब मिलन छन्त्याल, एनपिपीएफ जर्मनी अध्यक्ष गोबिन्द भण्डारी , राप्रपा पोर्चुगल निबर्तमान अध्यक्ष दिपक शर्मा , प्रेस युनियन पोर्चुगल सभाति बसुदा सत्याल ,प्रवासी पत्रकार महासंघ बेलायत पूर्व अध्यक्ष चिरन शर्मा, प्रवास नेपाली सम्पर्क विभाग(रास्वपा) भोला लामिछाने, पोर्चुगलकालागि पर्यटन नेपाली प्रवर्द्धक रमेशराज बाँस्तोला, एनआरएनए बेल्जियम एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, अनेसास पोर्चुगल महासचिव एनबी अन्जान, पानी अभियान्ता मित्रलाल पार्देलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए। पत्रकार महासंघले तोकेको केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा पत्रकार महासंघ केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा ,सरिता बराईली, केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयाॅ कार्यसमिति चयनको प्रक्रिया पूरा गर्दै बन्द सत्र सम्पन्न गरेको थियो। उक्त कार्यक्रमको सभापतित्व प्रेम परियार, संचालन द्रोण रिजाल र स्वागत मन्तव्य राजकुमार थापाले गरेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले १० बुँदे प्रस्तावहरू पारित समेत गरेको छ।
    प्रस्तावहरू
    १) युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ ।
    २) प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ।
    ३) युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।
    ४) श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ ।
    ५) सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ ।
    ६) पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ।
    ७) नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ।
    ८) सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ ।
    ९) युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ।
    १०)यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल,प्रेस सेन्टर केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ। २०८१ बैसाख २४ गते ।

  • साकेलाका स्कुल अंग्रेजीमय हुने

    साकेलाका स्कुल अंग्रेजीमय हुने

    टेस
    साकेला गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म ‘अंग्रेजी माध्यम’द्धारा पठन-पाठन सुरु गर्ने भएको छ । यस वर्ष पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमद्धारा पठनपाठन सुरु गर्नेगरी तयारी गाउँपालिकाले थालेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दो क्रममा रहेको अवस्थामा हालै बसेको गाउँ शिक्षा समितिको वैठकले पठनपाठनमा गुणस्तर बढाई सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने उदेश्यले अनिवार्य ‘अंग्रेजी मिडियम’मा पठन पाठन गराउने निर्णय गरेको हो ।
    साकेला गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ शिक्षा समिति वैठकले शिक्षक, व्यवस्थापन समिति, अभिभावक मार्फत आएका सुझावलाई ध्यानमा राखेर आगामी दिनमा कार्यान्वय गर्दैनिरन्तर प्रकृयामा लैजाने समेत निर्णय गरेको छ ।
    शिक्षा समृद्धिको मुहान भएको र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रमुख दाता शिक्षक भएकाले शिशु तहबाटनै नैतिक र व्यवहारिक शिक्षाको थालनी गर्नुपर्ने अध्यक्ष राईको भनाई छ । अहिले गाउँका विद्यालयहरुमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ । अभिभावकहरुले आफ्ना बच्चाहरुलाई बोर्डिङ पढाउने बाहनामा सहर र सदरमुकाम केन्द्रित गरिरहेको अवस्थामा यसै शैक्षिक सत्रदेखि माध्यमिक तहमा अनिवार्य अंग्रेजी मिडियम लागू गरेपछि बसाई सराईको क्रमलाई समेत न्यूनिकरण गर्न टेवा पुग्ने अध्यक्ष राईको भनाई छ ।
    हामी सहर र बजारको महंगा नीजि विद्यालय होईन, गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा छौं, गाउँका सामुदायिक विद्यालयलाई राम्रो बनाउने अभियानमा जोडिन अध्यक्ष राईलेसम्पूर्ण अभिभावकहरुलाई आग्रह समेत गर्नु भयो । उहाँले कक्षा १-३ मा अंग्रेजी माध्यमबाट पढाई हुने हुँदा निशुल्क पढाई हुने सामुदायिक बिद्यालयमा नै आफ्ना बालबालिकालाई भर्ना गराउन समेत अनुरोध गर्नुभयो ।
    अध्यक्ष राईले यसै वर्षदेखि पठनपाठन थालिने कक्षा १-३ को अंग्रेजी माध्यमको पुस्तक खरिद गर्नका लागि व्यक्तिगत रुपमा एक लाख रुपैंया नगद समेत उपलब्ध गराउनु भएको छ । आगामी वर्षहरुमा गाउँपालिका आफैले नैतिक र व्यवहारिक ज्ञान सहितको पाठ्यक्रम तयार गरि पुस्तक प्रकाशन गर्ने जनाएको छ । २८ वटा सामुदायिक विद्यालय रहेको यस गाउँपालिकामा यस शैक्षिक सत्रमा पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी मिडियमको कक्षा लागू गरिने र आगामी वर्षहरुमा अन्य विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने अध्यक्ष राईले बताउनुभयो । कक्षा १-३ मा अंग्रेजी माध्यमद्धारा पठन पाठन गराउनका लागि शिक्षकको दरबन्दी मिलान र विद्यालय मर्जको कार्य प्रारम्भ गरिएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिनुभयो ।
    सामुदायिक विद्यालयमा पनि निशुल्क रुपमा अंग्रेजी माध्यममा पढाई हुनेभएपछि विगतमा देखिदै आएको विद्यार्थीको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। २०८१बैसाख ६ गते ।

  • शिक्षा प्रति प्रवासी साकेलाको माया

    शिक्षा प्रति प्रवासी साकेलाको माया

    टेस
    साकेला- खोटाङको साकेला गाउँपालिका-१ डाँडागाउँको एक विद्यालयलाई नगद सहयोग प्राप्त भएको छ । आफू जन्मिएको ठाउँको विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुर्याउनका लागि युके निवासी वकिङ नेप्लिज समाजका निवर्तमान अध्यक्ष तथा किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष आशा राई र उहाँको श्रीमान शैकुमार राईले सरस्वती आधारभूत विद्यालयलाई नगद ५१ हजार १०१ रुपैंया नगद प्रदान गर्नुभएको हो ।
    सोही विद्यालयलाई किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष अनिता राई र उहाँको श्रीमान गजेन्द्र राईले पनि नगद ५० हजार १५५ रुपैंया सहयोग प्रदान गर्नुभएको छ । आफ्नो स्वर्गीय बुवा सारजण्ट राजबहादुर राई र स्वर्गीय आमा सुखलक्षी राईको सम्झनामा एक कार्यक्रमका बीच उक्त सहयोग रकम प्रदान गर्नु भएको हो ।
    गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहयोगीद्वय आशा राई र अनिता राईले सोही विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत १८ जना बालबालिकालाई ट्याकसुट वितरण गर्नुका साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सल र गल्फन लगाएर सम्मान गर्नुभयो । यसैबीच, विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुर्याउने उद्देश्यले साकेला गाउँपालिका-१ स्थायी घर भई हाल कतारमा कार्यरत जित कुमार राईले सोही सरस्वती आधारभूत विद्यालयलाई नगद दश हजार रुपैंया सहयोग प्रदान गर्नुभएको सो विद्यालयका प्रधानाध्यापक गोविन्द बस्नेतले जानकारी दिनुभयो ।
    कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष राईले आजको बालबालिका भोलिका कर्णधार भएको हुनाले उनिहरुको वृत्तिविकासमा शिक्षकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । हामीले शिक्षालाई समृद्धिको जग मान्दै आएका छौं, शिक्षक समृद्धिको मुहान हो, शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको हुने भएकालेबालबालिकाको रुची र चाहनाअनुकूल प्रविधिमैत्री सिकाई हुनुपर्ने कुरामा अध्यक्ष राईले जोड दिनुभयो । शैक्षिक गुणस्तर वृद्धि गर्न साकेला गाउँपालिका सरकार निरन्तर लागिरहेको बताउनुहुँदै अध्यक्ष राईले कस्तो शिक्षा प्रणालीबाट कस्तोजनशक्ति उत्पादन गर्ने भन्ने कुरा राज्यको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ विधी, मूल्याङ्कन पद्धतिले निर्धारण गर्ने भएकाले नैतिक र व्यवहारिक शिक्षाको पाठ्यक्रम चाँडै तयार गरिने बताउनुभयो ।
    कार्यक्रममा बोल्नुहुँदै सहयोगदाता आशा राईले आफू जन्मिएर हुर्किएको ठाउँको विद्यालयलाई सहयोग गर्नु पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावकको अहम् भूमिका हुने भएकाले विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नुपर्दछ । अर्का सहयोगदाता अनिता राईले आजका बालबालिका भोलिको भविष्य बन्न सक्ने भएकाले उनिहरुको क्षमता र चाहनालाई बुझेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । आगामी दिनमा पनि गाउँको विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफूले सकेको सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत उहाँहरुले व्यक्त गर्नुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राई तथा सहयोगदाताहरुलाई विद्यालयका प्रधानाध्यापक गोविन्द बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन राई लगायत सो विद्यालयका शिक्षक-शिक्षकाहरुले स्वागत गर्नुभएको थियो । विभिन्न समयमा विद्यालयलाई सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई एक कार्यक्रमबीच सम्मान गरिने प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभएको छ ।२०८० फागुन २९ गते ।

  • सोल्मा फुटबल खेलमा चार टिम बाहिरिए

    सोल्मा फुटबल खेलमा चार टिम बाहिरिए

    उजुर राई
    हिजो भएको खेलमा नेर्पा स्पोस्र्ट क्लव र खाल्ले विजयी भएको छ । सोल्मा स्पोटर्स क्लवको आयोजनामा फागुन १३ गते देखि सञ्चालन भईरहेको २३ बर्ष मुनिका फुटबल प्रतियोगितामा भएको दोश्रो दिनको खेलमा नेर्पाले नेर्पाले ईन्द्रेणीपोखरीलाई र खाल्लेले खोटाङ फुटवल एकेडेमीलाई पराजित गरेको हो ।
    खेलको दोश्रोदिन पहिलो खेलमा नेर्पाले र ईन्दे्रणीपोखरीलाई एकको बिरुद्ध तीन गोलान्तरले पराजित गरेको थियो । खेल सुरु भएको २२ औ मिनेटमा नेर्पाका रोशन क्षेत्रीले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । दोश्रो गोल ईन्द्रेणीपोखरीका सुबिन अधिकारीले गरी खेललाई खेलमा फर्काएका थिए । तर त्यो बराबरीको अबस्थालाई दोर्पाका खेलाडी बिकी राईले धेरैबेर रहन दिएनन् । बिकीले ३२ र ७० जाडा दुई समयमा एक/एक गोल गरी दोर्पा टमिलाई जितको सुनिश्चित गराई बिजयी गराएका थिए ।
    उक्त दिन भएको दोश्रो खेलमा भने दर्शकले सोचे भन्दा फरक नतिजा देखियो । दिक्तेल क्षेत्रको फुटबलमा गनिएको र चिनिएको खोटाङ फुटबल एकेडेमीले नराम्रो हार बेहोरेको थियो । एकेडेमीलाई भर्खरै फुडबल खेलमा प्रबेश गरेको खाल्लेले दुईको बिरुद्ध एक गोलान्तरले पराजित गरेर घर पठाईदियो । उक्त खेलमा खाल्लेका जर्सी नम्बर १५ का जोबसन राईले खेल सुरु भएको १७ औ मिनेटमा पहिलो गोल गरी आप्mनो टिमलाई अग्रता दिलाएका थिए भने खेलको दोश्रो केएफएका रोषेश श्रेष्ठले ४० औ मिनेटको समयमा गोल गरी खेललाई बराबरीमा फर्काएका थिए । तर बराबरी खेललाई ५५ औ मिनेटमा पुनः जोबसन राईले दोश्रो गोल गरी खाल्लेलाई जितको सिमाना पार गराएका थिए ।
    दोश्रा दिनको पहिलो खेलमा बुईपाले दिप्रुङ चुइचुम्मा गाउपालिकाको टेम्मालाई पराजित गरेको छ । उक्त खेलमा बुईपाले टेम्मालाई चार एकको फराकिलो गोलान्तरले पराजित गरेको थियो । मंगलबार नै भएको दोश्रो खेलमा मिरमिरे युवा ल्कब बाम्राङले केपिलासगढी वास्पानीलाईलाई तीनको बिरुद्ध एक गोलान्तरले पराजित गरेको थियो । उक्त खेलमा खेल सुरु भएको पहिलो हाफमा मिरमिरेका जर्सी नम्बर २३ का हरि खवासले खेल सुरु भएको १० औ मिनेटमा पहिलो गोल गरी आप्mनो टिमलाई अग्रता दिलाएका थिए । मिरमिरेले पाएको कर्णर किकको सदुपयोग गर्द खवासले गोल गरेका थिए । मिरमिरेका जर्सी नम्बर १० का खेलाडी सुजन खवासले दोश्रो ५३ औ मिनेटमा गोल गरेका थिए । खवासले भने खेल मैदानको मध्य भागबाट फ्री किकको फाईदा उठाउदै दरिलो प्रहार गरी गोल गर्न सफल भइ आफ्नाे टिमका लागि गोल थपेका थिए ।
    खेल समयको हाफ पछाडी भने दुबै टिमले एक/एक गोल गरेका थिए । खेलको हाफ समय पछाडी मिरमिरेका जर्सी नम्बर ३० का खेलाडी भुवन राईले क्रस आएको बललाई कुनै बाधा अबरोध बिनै सहजरुपमै गोल थप्दै आफ्नाे टिमको खातामा शुन्यको बिरुद्ध तीन गोल बनाएका थिए । तर वास्पानीका जर्सी नम्बर १० का खेलाडी कविराज राईले मिरमरिेका भुवनले गोल हानेको १० मिनेट पछाडी सान्त्वना एक गोल हान्न सफल भएका थिए ।
    खेल सोल्मा स्पोर्टस ल्कवको आयोजनामा सोल्मा खेल मैदानमा गत १३ गते उद्घाटन भई सुरु भएको हो । उक्त प्रतियोगितामा जिल्लाका १२ टिमले सहभागिता जनाएको छ भने अहिले सम्म चार टिम खेलबाट बाहिरी सकेको छ । २०८० फागुन १६ गते ।

  • साकेलामा फोहोर गरे दण्ड र जरिवाना

    साकेलामा फोहोर गरे दण्ड र जरिवाना

    टेस
    साकेला- साकेला गाउपालिका एरोयामा फोहोर मैला गरे दण्ड र जरिवाना गरिने भएको छ । साकेला गाउँपालिकाभित्र बढिरहेको फोहोरमैलालाई व्यवस्थापन गर्नका लागि बनेको साकेला गाउँपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याएर यस्तो व्यबस्था गरिएको हो । हालै बसेको गाउँ कार्यापालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ उपदफा २ (११) बमोजिम र सोही ऐनको दफा ७ तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ ले दिएको अधिकार प्रयोग गरि निर्माण गरिएको कार्यविधिलाई पास गरि कार्यान्वयनमा ल्याएको हो ।
    फोहोरमैलाको दिगो व्यवस्थाैपन गरि गाउँपालिकालाई पूर्ण सरसफाईमैत्री पालिका बनाईने गाउँपालिकाको आवधिक विकास योजनाको लक्ष्य अनुरुप हाल पालिकाको पाँचवटै वडामा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन भईरहेको छ ।
    फोहोरमैलाको दिगो व्यवस्थापनका लागि गाउँपालिकाले निर्माण गरेको आवधिक योजनामा पूर्ण सरसफाईमैत्री पालिका कार्यान्वयनलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।
    घर तथा बस्ती र बजारबाट निस्कने फोहोरबाट विभिन्न किसिमका रोग उत्पन्न हुनुका साथै मानव जीवनमा दीर्घकालिन असर पर्ने भएका कारण फोहोरमैलाको बेलैमा उचित व्यवस्थापन गर्न सके सुन्दर र सफा पालिका निर्माण गर्न सकिने अध्यक्ष राईको भनाई छ ।
    पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत प्रत्येक वडाको टोल तथा बस्ती, सार्वजनिक स्थल, सरकारी कार्यालय तथा विद्यालय, बजार र पार्कमा फोहोरमैला संकलन गर्नका लागि पालिकाले डष्टविन वितरण गरिसकेको छ । उक्त डष्टविनमा संकलित फोहोरमैलालाई गाउँपालिकाले सटिङ साईडमा पुर्याएर व्यवस्थापन गर्ने लक्ष लिएको छ । साकेला-३ खिदिमामा गाउँपालिकाले सटिङ साईड निर्माण गर्ने तयारी अनुरुप काम गरिरहेको छ भने सटिङ साईट र सो स्थानसम्म पुग्ने सडकका लागि आवश्यक जग्गा स्थानीयहरुले उपलब्ध गराएका छन् ।
    फोहोरमैला व्यवस्थापन गर्नका लागि बनेको कार्यविधिको दफा १४ मा उल्लेखित भए अनुसारको दण्ड, सजाय तथा जरिवाना सम्बन्धि व्यवस्था निम्नानुसार रहेको छ । २०८० फागुन ८ ।

  • बाम्राङका चन्द्रसेन राईको मृत्यु प्रकरणमा मेहेता पक्राउ

    बाम्राङका चन्द्रसेन राईको मृत्यु प्रकरणमा मेहेता पक्राउ

    टेस
    २०६९ फागुन १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का ७२ वर्षीय चन्द्रसेन राईको उपचारको क्रममा मृत्यु भएपछि त्यसमा संलग्न सुनसरी गढी गाउँपालिका–३ मझौका ४१ वर्षीय जिवानन्द मेहता पक्राउ परेका हुन् ।
    महतोलाई माघ २४ गते उनकै घरबाट पक्राउ गरी दिक्तेल ल्याएर तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले सोमबार बताए । ‘मेहताले चीनबाट नक्कली सर्टिफिकेट ल्याएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ,’ कार्कीले भने–‘अनुसन्धानपछि सबै कुरा थाहा हुन्छ ।’
    उक्त घटनामा संलग्न आरोपमा हलेसी पोलिक्लिनिकका सञ्चालक सप्तरी बोदेरबर्साइन नगरपालिका–२ बैरियाका ४२ वर्षीय अशोकुमार साह र सप्तरीकै छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साहलाई पनि माघ २८ गते पक्राउ गरी तीनै दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको कार्कीले सुनाए । चन्द्रसेनको मृत्युपछि उनकी श्रीमती देवीसरा राईले २०६९ चैत १४ गते दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान केसमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्कीले बताए । २०८० माघ २९

  • बाम्रङमा फस्टायो फुटबल भाले प्रतियोगिता

    बाम्रङमा फस्टायो फुटबल भाले प्रतियोगिता

    उजुर राई
    बाम्राङ– बाम्राङमा केहि बर्ष यता फुटबल प्रतियोगितामा भाले पुरस्कार दिने प्रचलन फस्टाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङमा गत तीन बर्ष देखि भाले प्रतियोगिताको नाम गरी प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई भाले पुरस्कार प्रदान गर्ने प्रचलन चलेको छ ।
    भाले प्रतियोगिता अन्तरगत बाम्राङको साविक वडा नं. ४ कट्टीको अजम्बरी स्पोर्टस क्लवले प्रथम हुने टिमलाई ६ किलोग्राम बराबरको तीनवटा, दोश्रो हुने टिमलाई ४ किलोग्राम बराबरको दुईवटा भाले र तृतिय हुने टिमलाई २ किलो बराबरको एकवटा लोकल भाले प्रतियोगिता सम्पन्न गरी उक्त प्रतियोगितालाई निरन्तर दिने काम भयो ।
    उक्त प्रतियोतिगामा साविक वडा नं. २ सिरिसेको मिर्मिरे क्लव प्रथम स्थान हासिल गरी तीवटा भाले पक्रन सफल भयो भने, दोश्रो स्थान हासिल गरी साविक वडा नं. ५ सामातुङको राईजिङ स्पोस्र्ट क्लवले दुईवटा भाले पक्रन सफल भयो, त्यस्तै साविक वडा नं. ८ को बाम्राङ पूmलबारी सेवा समाज तेश्रो स्थान हासिल गरी एकवटा भाले पक्रन सफल भएका थिए ।
    गत तीन बर्ष देखि बाम्राङमा भाले प्रकृतिको फुटबल खेलको आयोजना हुदै आएको छ । यसै बर्षमा यस प्रकारकोे खेल मिर्मिरे स्पोस्र्ट क्लवले आयोजना गरेको थियो । यस प्रतियोगितामा भने राईजिङ स्पोस्र्ट क्लव प्रथम, मिर्मिरे स्पोस्र्ट क्लब दोश्रो भएको थियो ।
    बिगत तीन बर्ष देखि संचालन हुदै आयको भाले प्रतियोगितामा बाम्राङका साविक वडा तथा बिभिन्न संस्थाहरुले आयोजना गदै आएको थियो । आगामि फागुन महिनामा साविक वडा नं. ८ खत्रीगाउँले पनि यस्तै प्रकारको खेलको आयोजना गर्ने आयोजक सदस्य पवन दाहालले बताए ।
    यस प्रकारको फुटवल खेलको आयोजना गर्दा खेलाडीहरुले खेल खेलिसके पछि उत्साहित भई खानपिनमा सन्तुलन हुने र अन्य खेलप्रेमीहरुलाई छुट्टै सन्देश जाने आयोजक संस्थाका सदस्य सचिव पवन थापाले बताए । २०८० माघ २९ ।

  • उपाधि साकेला माविले चुम्यो

    उपाधि साकेला माविले चुम्यो

    टेस
    साकेला÷साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छा प्रथम भएको छ । गाउँपालिकाभित्र सञ्चालित पाँच वटा माध्यमिक विद्यालयबीच गराईएको प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र तीन काँस्य पदक सहित साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालित साकेला मावि प्रथम भएको हो ।
    प्रतियोगितामा नौ स्वर्ण पाँच रजत र सात काँस्य पदक जित्दै राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा दोश्रो भएको छ भने सात स्वर्ण, सात रजत र पाँच काँस्य पदक जित्दै सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता तेश्रो हुन सफल भएको छ ।सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ २३ गते मंगलबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा पाँच रजत र पाँच काँस्य पदक जितेर सिद्धेश्वरी मावि खिदिमा चौथो र चार रजत र पाँच काँस्य पदक जितेको बालबालिका मावि मात्तिम पाँचौ भएको छ । विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने प्रथम, द्धितीय र तेश्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले बताउनुभयो ।
    प्रतियोगिताको समापन समारोहमा शुभकामना मन्तव्य प्रदान गर्नुहुँदै साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई उजागर गरि खेलप्रतिको लगावलाई उच्च बनाउन पालिका सरकार लागिरहेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधिलाई निरन्तरता दिदै प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकायमा पुर्याउन गाउँपालिका प्रतिवद्ध भएको घोषणा गर्नुभयो । अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन आफू प्रतिवद्ध भएको बताउनुभएको छ ।
    उहाँले आजका विद्यार्थी नै भोलिको देश विकासको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा अहिलेदेखिनै ध्यान दिनु जरुरी भएको बताउनुभएको छ । साकेलाको मात्र हैन सिङ्गो देशको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने कुरामा जोड दिनुभयो ।
    गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउँदै सँस्थागत रुपमा खेलकुदको विकास गर्न लागि पर्ने कुरामा जोड दिनुभयो ।
    साकेला गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन खत्रीको सभापतित्वमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि सबै विद्यालय र खेलाडी विद्यार्थीहरुलाई साकेला माविका प्रअ शिवेन्द्र कुमार राई, गाउँ शिक्षा समिति सदस्य समराज राई, कार्यपालिका सदस्य सर्मिला कटेल लगायतले शुभकामना प्रदान गर्नुभयो ।
    प्रतियोगितामा भलिवल, कब्बडी, हाईजम्प, लङजम्प, ट्रपल जम्प, सटफुट, ज्याभलिङ, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र-छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय सरस्वती माविका प्रअ शितल राईले जानकारी दिनुभयो ।
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ ।प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन।२०८० माघ २८ ।

  • स्वास्थ्य शिविरबाट १ सय ६८ लाभान्दित

    स्वास्थ्य शिविरबाट १ सय ६८ लाभान्दित

    टेस
    साकेला- टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ साकेला गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरबाट 168 जना महिलाहरुले उपचार तथा परामर्श सेवा पाएका छन् ।
    गाउँपालिकाको पाँच वटै वडाहरुमा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य, रुग्णता सम्बन्धि स्क्रिनिङ शिविरबाट पाठेघरको मुखको क्यान्सर VIA जाँच तथा परामर्श सम्बन्धिको उपचार ८४ जनाले पाएका छन् । त्यस्तै परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट २४ जनाले राखेका छन् । परिवार नियोजनकै अस्थायी साधन इम्प्लान्ट १३ जनाले झिकेका छन् भने पुरानो झिकेर नयाँ राख्ने ९ जना छन् । कपर्टी एक जनाले प्रयोग गरेका छन् ।
    शिविरबाट आङ खस्ने समस्या भएका ११ जनाको रिङ प्रेसरी राखेर प्राथमिक उपचार गरिएको छ भने दुई जनालाई अन्यत्र उपचारका लागि रेफर गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभएको छ ।
    गत आईतबार मात्तिम स्वास्थ्यचौकी देखि सञ्चालन गरिएको शिविर शुक्रबार वडा नम्बर २ को साकेला आधारभूत अस्पतालमा आएर टुङ्गिएको छ । शिविरको दोश्रो दिन सोमबार आधारभूत स्वास्थ्य सेवा ईकाई केन्द्र मात्तिम, मंगलबार स्वास्थ्यचौकी खिदिमा, बुधबार स्वास्थ्य चौकी बाँझेच्यानडाँडा, बिहीबार सामुदायिक स्वास्थ्य सेवा ईकाई केन्द्र डाँडागाउँ र अन्तिम दिन शुक्रबार साकेला आधारभूत अस्पतालमा शिविर सञ्चालन गरिएको थियो ।
    शिविरबाट सेवाग्राहीलाई यौन रोग सम्बन्धी उपचार तथा परामर्श सेवा समेत उपलब्ध गराईएको संयोजक ढकालको भनाई छ ।
    गाउँपालिकाले आङ् खसेर बिरामी भई अन्त्रय उपचारका लागि रेफर भएका बिरामीहरुको अस्पताल जाने-आउने, अस्पतालमा लाग्ने खर्च र उपचार अवधिभरको खानेबस्ने व्यवस्था गर्ने भएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले त्यस्ता बिरामीहरुको लागि छुट्टै कार्यविधि बनाएर सहयोग उपलब्ध गराईने बताउनुभयो । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि जटिल समस्या रहेको बताउँदै उहाँले सम्भव भएसम्म आगामी दिनहरुमा टोलटोलमा स्वास्थ्य सेवा पुर्याई नागरिकको पहिचान गरि सुविधा उपलब्ध गराईने बताउनुभएको छ । २०८० माघ २८ ।

  • साकेला गाउँपालिकामा ट्रक  प्रवेश गरे २० हजार जरिवाना

    साकेला गाउँपालिकामा ट्रक प्रवेश गरे २० हजार जरिवाना

    टे स
    साकेला- काठ बोक्ने २१ टन क्षमताको दश चक्के ट्रकलाई साकेला गाउँपालिका प्रवेशमा रोक लगाईएको छ । प्रवेश गरे २० हजार जरिवाना गरिने भएको छ । गाउँपालिका भित्र निर्माण भएको मुख्य तथा शाखा सडकहरु भएकोले आईतबार बसेको कार्यपालिका बैठकले २१ टन क्षमताको दश चक्के र १५ टन क्षमताको छ चक्के ट्रक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
    पालिकाको निर्णयको बिपरित प्रवेश गरेमा २० हजार रुपैंया जरिवाना गर्ने निर्णय समेत कार्यपालिका वैठकले गरेको छ । निर्णयमा भनिएको छ –२१ टन क्षमताको दश चक्के मालबाहक ट्रक यस गाउँपालिकाभित्र प्रवेश गर्न पूर्ण रुपमा प्रतिबन्ध गर्ने साथै हालसम्म कटान गरि राखिएको काठ १५ टन क्षमताको छ चक्के ट्रकबाट सम्बन्धित वडा कार्यालयबाट अनुमति लिएर निकासा गरिसक्ने र त्यस पश्चात सो ट्रकलाई समेत प्रवेश निषेध गरिनेछ ।
    त्यस्तै, काठ निकासीको क्रममा भत्किएका सडक, पर्खाल, नाली लगायतका संरचनाहरुको क्षतिपूर्ती प्राविधिक स्टिमेटका आधारमा व्यवसायिहरुबाट असुल उपर गरिने समेत वैठकले निर्णय गरेको छ ।
    गाउँपालिका अध्यक्ष रविप्रकाश राईले गाउँपालिकाभित्रका सडक ठूला ठूला क्षमता भएका ट्रकले क्षतविक्षत बनाउन सुरु गरेपछि सडक बचाउन यस्तो निर्णय गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो- दुईचार हजार कर उठाउने लोभले करोडौं करोड लगानी गरेर निर्माण गरेका सडकहरु भत्काउन दिनु भएन, यसरी बिगारिएका सडक पुन निर्माण गर्न राज्यको करोडौं खर्च हुन्छ । राज्यको करोडौं खर्च हुनबाट जोगाउनका लागि यस्ता बढी क्षमता भएका सवारी साधन प्रवेश गर्न रोक लगाईएको अध्यक्ष राईले भन्नुभयो ।
    अहिले साकेला गाउँपालिकाको वडा नम्बर ३ खिदिमा, वडा नम्बर २ रतन्छा र वडा नम्बर १ बाँझेच्यानडाँडाबाट उत्तिस, चिलाउने, पात्ले लगायतका रुख निकासी गर्नका लागि ठूला ठूला मालबाहक ट्रकहरु गाउँपालिकाभित्र प्रवेश गर्ने गरेको थियो । २०८० फागुन २८ गते ।

  • साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    टेस/साकेला
    साकेला गाउपालिकामा मंगलबा देखि छैटौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन आफू प्रतिवद्ध भएको बताउनुभएको छ । गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल जगतलाई माथि उठाउनको लागि सिङ्गो पालिका सरकार लागि पर्ने कुरा बताउनुभएको हो ।
    साकेला गाउँपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ताको व्यवस्थापनमा मंगलबारदेखि स्थानीय नौलाखर्क खेलमैदानमा सुरु भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो । उहाँले आजका विद्यार्थी नै भोलिको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा ध्यान दिनु जरुरी भएको बताउनुभएको छ । हामीलाई जनताले भरोसा गरि नेतृत्वमा पुर्याउनुभएको छ, हामी तपाईहरुको भरोसालाई निराशामा बद्लिन दिदैनौ, उहाँले भन्नुभयो पालिकाबासी नागरिकले देखेको सपनालाई व्यवहारमा रुपान्तरण गरि पालिकालाई दिगो विकास गर्न प्रयत्नशिल छौं ।
    अध्यक्ष राईले साकेलाको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने बताउनुभएको छ । साकेला गाउँपालिका सरकार जनताको सरकार भएको हुँदा जनतानै मालिक बनाउने हाम्रो सपना छ, गाउँपालिकाको हरेक क्षेत्रमा कुनै प्रकारको पनि विभेद नभएको बताउनुहुँदै उहाँले जनताको निर्णय र माग बमोजिम नै पालिका सरकार सञ्चालन हुने उद्घोष गर्नुभयो ।
    गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउनुभयो । पालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाउन पालिका सरकार लागिरहेको बताउनुहुँदै पालिकाले गर्ने हरेक सकारात्मक विकासमा आम नागरिकको सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।
    कार्यक्रममा गाउँ शिक्षा समिति सदस्य तथा पूर्व सांसद कूल प्रसाद फुयाल, पूर्व गाउँपालिका उपाध्यक्ष सरिता खड्का, १ नम्बर वडा अध्यक्ष हेमन राई, नेकपा एमालेका नेता गोपिकृष्ण खड्का, शिक्षक महासङ्घका अध्यक्ष इन्द्रकुमार तामाङ, साकेला माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवेन्द्र कुमार राई लगायतले साकेलाको खेलकुदको विकास गर्नका लागि संस्थागत रुपमा लागि पर्नु पर्ने सुझाव दिनुभएको छ । साकेला गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन खत्रीको सभापतित्वमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी बिहीबार सम्म सञ्चालन हुने जनाईएको छ ।
    प्रतियोगितामा भलिवल तर्फ छात्रछात्रा, कब्बडी, हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौड लगायत विभिन्न २६ विधामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिष्पर्धा हुने व्यवस्थापनको जिम्मा पाएको विद्यालय सरस्वती माविका प्रधानाध्यापक सितल राईले जानकारी दिनुभयो । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ ।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध भएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन-जान तथा अन्य व्यवस्थापन खर्चको व्यवस्थापन समेत पालिकाले गर्नेछ । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कहिलेबाट शुरु हुने भन्ने बारे टुङ्गो लागेको छैन ।२०८० माघ २४ गते