× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / उपाधि साकेला माविले चुम्यो

उपाधि साकेला माविले चुम्यो

टेस
साकेला÷साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छा प्रथम भएको छ । गाउँपालिकाभित्र सञ्चालित पाँच वटा माध्यमिक विद्यालयबीच गराईएको प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र तीन काँस्य पदक सहित साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालित साकेला मावि प्रथम भएको हो ।
प्रतियोगितामा नौ स्वर्ण पाँच रजत र सात काँस्य पदक जित्दै राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा दोश्रो भएको छ भने सात स्वर्ण, सात रजत र पाँच काँस्य पदक जित्दै सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता तेश्रो हुन सफल भएको छ ।सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ २३ गते मंगलबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा पाँच रजत र पाँच काँस्य पदक जितेर सिद्धेश्वरी मावि खिदिमा चौथो र चार रजत र पाँच काँस्य पदक जितेको बालबालिका मावि मात्तिम पाँचौ भएको छ । विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने प्रथम, द्धितीय र तेश्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले बताउनुभयो ।
प्रतियोगिताको समापन समारोहमा शुभकामना मन्तव्य प्रदान गर्नुहुँदै साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई उजागर गरि खेलप्रतिको लगावलाई उच्च बनाउन पालिका सरकार लागिरहेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधिलाई निरन्तरता दिदै प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकायमा पुर्याउन गाउँपालिका प्रतिवद्ध भएको घोषणा गर्नुभयो । अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन आफू प्रतिवद्ध भएको बताउनुभएको छ ।
उहाँले आजका विद्यार्थी नै भोलिको देश विकासको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा अहिलेदेखिनै ध्यान दिनु जरुरी भएको बताउनुभएको छ । साकेलाको मात्र हैन सिङ्गो देशको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने कुरामा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउँदै सँस्थागत रुपमा खेलकुदको विकास गर्न लागि पर्ने कुरामा जोड दिनुभयो ।
साकेला गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन खत्रीको सभापतित्वमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि सबै विद्यालय र खेलाडी विद्यार्थीहरुलाई साकेला माविका प्रअ शिवेन्द्र कुमार राई, गाउँ शिक्षा समिति सदस्य समराज राई, कार्यपालिका सदस्य सर्मिला कटेल लगायतले शुभकामना प्रदान गर्नुभयो ।
प्रतियोगितामा भलिवल, कब्बडी, हाईजम्प, लङजम्प, ट्रपल जम्प, सटफुट, ज्याभलिङ, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र-छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय सरस्वती माविका प्रअ शितल राईले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ ।प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन।२०८० माघ २८ ।

प्रतिक्रिया दिनुहोस्