काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक (पूर्वडीजी) प्रदीप अधिकारीले अख्तियार प्रमुखसहित उच्च तहका व्यक्तिहरूको हत्या योजना बनाउन रकम दिएको स्वीकार गरेका छन् ।
प्रहरी हिरासतमा रहेका अधिकारीले प्रारम्भिक बयानमै अभियुक्त प्रकाश पाठक लाई २ करोड रुपैयाँ दिएको बताएका हुन् । प्रहरीका अनुसार यो प्रकरणमा संगठित अपराध, आपराधिक षड्यन्त्र र विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहित १० जना ‘भीआईपी’ लाई धम्क्याउन करिब १० करोड रुपैयाँको योजना बनेको र त्यसैमध्ये २ करोड ‘सुपारी’ दिइएको अनुसन्धान अधिकारीहरुको दाबी छ । अधिकारीहरूका अनुसार उक्त रकम हुन्डीमार्फत फिलिपिन्स पठाइएको थियो ।
प्रारम्भिक बयानमा अधिकारीले व्यापारिक प्रयोजनका लागि पैसा दिएको दाबी गरे पनि उनी र पाठकबीचको फोन सम्पर्कलाई प्रहरीले मुख्य प्रमाण मानेको छ । पठाइएको रकमबाट पाठकले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको खुलेको छ ।
यसअघि इन्टरपोलको सहयोगमा ‘रेड नोटिस’ जारी गरी पक्राउ गरिएका पाठकले पनि उक्त रकम लिएको स्वीकार गरिसकेका छन् । उनीमार्फत उच्च तहका व्यक्तिहरूलाई धम्कीपूर्ण सन्देश पठाइएको प्रहरीको निष्कर्ष छ ।
अख्तियारले नलिन्चोक हेलिप्याड र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी भ्रष्टाचार प्रकरणमा अधिकारीमाथि अनुसन्धान गरिरहेको थियो । त्यसबाट बच्न उनले अख्तियार प्रमुखसहितको हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अधिकारी र पाठकविरुद्ध थप अनुसन्धान गरिरहेको छ । क्यानका पूर्वडीजीको स्वीकारोक्तिसँगै घटनाले नयाँ मोड लिएको छ । सभार: मुलुकी खबर डटकम