× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / शिक्षा प्रति प्रवासी साकेलाको माया

शिक्षा प्रति प्रवासी साकेलाको माया

टेस
साकेला- खोटाङको साकेला गाउँपालिका-१ डाँडागाउँको एक विद्यालयलाई नगद सहयोग प्राप्त भएको छ । आफू जन्मिएको ठाउँको विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुर्याउनका लागि युके निवासी वकिङ नेप्लिज समाजका निवर्तमान अध्यक्ष तथा किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष आशा राई र उहाँको श्रीमान शैकुमार राईले सरस्वती आधारभूत विद्यालयलाई नगद ५१ हजार १०१ रुपैंया नगद प्रदान गर्नुभएको हो ।
सोही विद्यालयलाई किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष अनिता राई र उहाँको श्रीमान गजेन्द्र राईले पनि नगद ५० हजार १५५ रुपैंया सहयोग प्रदान गर्नुभएको छ । आफ्नो स्वर्गीय बुवा सारजण्ट राजबहादुर राई र स्वर्गीय आमा सुखलक्षी राईको सम्झनामा एक कार्यक्रमका बीच उक्त सहयोग रकम प्रदान गर्नु भएको हो ।
गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहयोगीद्वय आशा राई र अनिता राईले सोही विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत १८ जना बालबालिकालाई ट्याकसुट वितरण गर्नुका साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सल र गल्फन लगाएर सम्मान गर्नुभयो । यसैबीच, विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुर्याउने उद्देश्यले साकेला गाउँपालिका-१ स्थायी घर भई हाल कतारमा कार्यरत जित कुमार राईले सोही सरस्वती आधारभूत विद्यालयलाई नगद दश हजार रुपैंया सहयोग प्रदान गर्नुभएको सो विद्यालयका प्रधानाध्यापक गोविन्द बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष राईले आजको बालबालिका भोलिका कर्णधार भएको हुनाले उनिहरुको वृत्तिविकासमा शिक्षकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । हामीले शिक्षालाई समृद्धिको जग मान्दै आएका छौं, शिक्षक समृद्धिको मुहान हो, शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको हुने भएकालेबालबालिकाको रुची र चाहनाअनुकूल प्रविधिमैत्री सिकाई हुनुपर्ने कुरामा अध्यक्ष राईले जोड दिनुभयो । शैक्षिक गुणस्तर वृद्धि गर्न साकेला गाउँपालिका सरकार निरन्तर लागिरहेको बताउनुहुँदै अध्यक्ष राईले कस्तो शिक्षा प्रणालीबाट कस्तोजनशक्ति उत्पादन गर्ने भन्ने कुरा राज्यको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ विधी, मूल्याङ्कन पद्धतिले निर्धारण गर्ने भएकाले नैतिक र व्यवहारिक शिक्षाको पाठ्यक्रम चाँडै तयार गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै सहयोगदाता आशा राईले आफू जन्मिएर हुर्किएको ठाउँको विद्यालयलाई सहयोग गर्नु पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावकको अहम् भूमिका हुने भएकाले विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नुपर्दछ । अर्का सहयोगदाता अनिता राईले आजका बालबालिका भोलिको भविष्य बन्न सक्ने भएकाले उनिहरुको क्षमता र चाहनालाई बुझेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । आगामी दिनमा पनि गाउँको विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफूले सकेको सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत उहाँहरुले व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राई तथा सहयोगदाताहरुलाई विद्यालयका प्रधानाध्यापक गोविन्द बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन राई लगायत सो विद्यालयका शिक्षक-शिक्षकाहरुले स्वागत गर्नुभएको थियो । विभिन्न समयमा विद्यालयलाई सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई एक कार्यक्रमबीच सम्मान गरिने प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभएको छ ।२०८० फागुन २९ गते ।

प्रतिक्रिया दिनुहोस्