साँच्चै हामी किन यति धेरै अविश्सनिय भयौँ? किन पत्यारै नलाग्ने भयौँ?

कसैको श्रीमान्, कसैको बाबु अनि सञ्चारकर्मीका रूपमा गरेका गतिविधि छाडौँ, सांसद भएपछि रवि लामिछानेसँग जोडिएर जे जति विषय सार्वजनिक भए त्यति अन्य कुनै दलका उम्मेदवार एक्सपोज भएको भए प्रतिस्पर्धी हुने त कल्पनै नगरौँ जमानत जोगाउन पनि हम्मेहम्मे हुन्थ्यो।

तर वैशाख ७ सम्मको दृश्यले उनले गरेका कानुन विपरीतका जे जति गतिविधि सार्वजनिक भए पनि त्यसले उनको लोकप्रियतामा कुनै असर परेको देखिएन।

आफैंले गरेका गलत कामको दोष अरूको टाउकोमा थोपर्ने त्यो पनि पत्यार लाग्ने गरी। गजबको कला पाएकै हुन् उनले। त्यही कलाको भरपूर प्रयोग गरिरहेका छन्। काम पनि लागिरहेकै छ।

नत्र मन्त्री बन्न आफ्नै पार्टीका सभापतिको कोर टिमलाई साढे २ करोड बुझाउनुपर्ने विवरण सार्वजनिक हुँदा पनि कोर टिमै नखुलाइ भ्रष्टाचार विरोधी छवि कायम राख्न कहाँ सम्भव छ र!

१० वर्षमा नागरिकको गोजीबाट १ अर्ब रूपैयाँ निजी कम्पनीले पाउने ठेक्का सदर गरेको सार्वजनिक हुँदा पनि’ऐन अनि नियम त मिलेको रहेनछ तर कर्मचारीले जे भने त्यो पत्याएर हस्ताक्षर गरे’ भन्दा पनि हो हो भन्ने समर्थक अन्य दलका नेताले कहाँ पाएका छन् र!

आफ्नी श्रीमती विरुद्ध २-४ स्टाटस आउँदा’प्रिय मेरा कारण तिमीले अनाहकमा दुख पायौँ’ भनेर लेख्दा ‘अघि बढ रवि दाइ हामी साथ छौँ भन्ने’ तर म रविलाई भोट दिन्न भनेर कुनै किशोरीले आफ्नो धारणा सार्वजनिक गर्दा चरित्रमाथि नै हमला गर्दै साइबर आक्रमण हुँदा पनि मौन बस्दा’रवि दाइ हाई-हाई भन्ने महिला मण्डल अन्य नेताले कहिले पाउनु?

अमेरिकामा ठगी लगायतका ५० बढि मुद्दा भएकालाई कसैले सिधै केन्द्रीय सदस्य बनाउने हिम्मत गर्छन्? सोविता गौतम अनि विराजभक्त श्रेष्ठ जस्ता केन्द्रीय सदस्य हुन अयोग्य हुने तर सरकारी कागज किर्तेमा मुद्दा खेपिरहेको ब्यक्ती केन्द्रीय सदस्य हुन योग्य हुने मापदण्ड कतै छ?

छक्क! जसरी साधुको भेषमा रहेका पाखण्डीहरूले फुकेकै भरमा क्यान्सर रोग उपचार गरिदिन्छु भन्दा पत्याउनेहरूको भिडै लाग्छ त्यस्तै दृश्य उपनिर्वाचनको माहौलमा पनि देखियो। कसैले उनमा कृष्णकै अवतार देखिरहेका छन्। कसैले ज्ञानेन्द्र शाहको।

नत्र २० औँ वर्ष राजनीति गरेर एक तले घर बनाउने नेतामाथि हिजो चप्पल पड्काउने नेताले कहाँबाट कमायो घर बनाउने पैसा भनेर प्रश्न गर्नेहरू टेलिभिजन छाडेर बेरोजगार भएपछि पनि रविले कहाँबाट चितवनको भरतपुरमा तीन तले घर जोडे भनेर प्रश्न गर्दा प्रश्न कर्तालाई ‘१२ भाइ’ भनेर उछितो काढ्दै उल्टो राष्ट्रिय उनलाई ‘वेस्ट अफ लक’ भन्नेहरू कहाँ पाउन सकिन्छ र!

निष्क्रिय नागरिकता कसैले प्रयोग गराएको थिएन उनलाई। उनैले जानाजान प्रयोग गरेका थिए। कमजोर राज्य संयन्त्रको उपयोग गरिसकेको अनुभवले होला सायद उनलाई सांसदै भएपछि त यतिको कुरा पचाउन सकिहालिन्छ नि भन्ने लागेको हुनसक्छ।

किनकि नेपालमा विदेशी नागरिकले नातेदार भिसामा पारिश्रमिक लिएर वा नलिई काम गर्न नपाउने कानुन मिच्दा पनि उनले उन्मुक्ति पाएकै हुन्।

मृत्यु अगाडिको बकपत्रलाई सबैभन्दा ठूलो प्रमाण मानिन्छ। तर लामो समय उनकै समूहको विश्वासपात्र बनेर काम गरेका सालिकराम पुडासैनीको भिडियो बकपत्रले उनलाई दोषी ठहर्याउन सकेन।

अनुसन्धानका लागि प्रहरी हिरासतमा बिताएका दिनहरू त उनको राजनीतिक भूमि बन्न सहयोगी पो भयो।

अमेरिकी राहदानी बोकेर नेपाल आउने अनि नेपाली हुँ भनेर नेपाली राहदानी बनाएको पोल खुले जेल जानुपर्ने हुनसक्छ भन्ने उनी जतिको जानकारले नजान्ने कुरा हुन्छ र!

तर प्रमाणसहित पोल खुल्यो। अन्य नेपालीले जस्तै मैले पनि बनाए अनि के बिराए पो भने। पत्याइहाले।

मासले पत्याएर मात्र कानुनबाट कहाँबाट उन्मुक्ति पाउन सकिन्थ्यो र!

कानुनी रूपमा अदालतमा जाँदा त प्रमाणले पुष्टि भइहाल्थ्यो। हिजो नेपाली काँग्रेसले १४ बढिलाई ज्यूँदै इटा भट्टामा जलाएको आरोप लागेका मोहम्मद अफ्ताव आलम विरुद्धको उजुरीमा मुद्दा चलाउनु नपर्ने गरी महान्यायाधिवक्ता कार्यालयबाट निर्णय गराएको सम्झिए वा कसैले अक्कल दियो। उनले त्यही बाटो समाते। सफल पनि भए।

तर आलमको निर्णय अदालतबाट उल्टिएर अहिले जेल पुगेको सत्य चैं त्यो अक्कल दिनेले दिए या दिएनन् कुन्नि!

अमेरिकामा पारिवारिक अनि आर्थिक दुवैतिर सङ्कट परेपछि बिरक्तिएर नेपाल आए। अमेरिका जान ज्यानै फालेर १० महिनासम्म पैदल हिड्नेहरुको ताँती भएको देशमा देश बनाउन फर्किएको कथा नपत्याउने कुरै थिएन। पत्याए। ठगीका नौ मुद्दा चलेका त्यसमा अझै केही जीवितै रहेको तथ्य सार्वजनिक हुँदा वाह अमेरिकालाई नै पो ठगेको भन्नेहरू पनि देखिए।

श्रीमतीसँग कुरा मिलेन। केही समय अर्कोसँग लिभिङ टुगेदरमा बस्दा बच्चा भयो त के भयो भन्दा परर ताली बज्यो।

चमत्कार। साँच्चै चमत्कारेै त हो यो। आशाराम बापुको भन्दा पनि भयङ्कर चमत्कार। फु गरेकै भरमा गानोगोला हैन क्यान्सरै निको पारिदिने विश्वास।

तर उनी नडराउने हैनन्, डराउँछन्। आन्तरिक बैठकहरूमा आफ्ना डर अभिव्यक्त गर्छन् पनि। तर सार्वजनिक कार्यक्रममा डरलाई आत्मविश्वासको रूपमा देखाउँछन्। आत्मविश्वासले सत्य कुरा पनि हैन कि क्या हो भन्ने बनाउन सफल हुने गजबको क्षमता।

नत्र उता तनहुँ-१ मा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन नामुद भ्रष्टका रूपमा परिचित गोविन्दराज जोशीको समर्थन लिने अनि यता चितवनमा आएर आफ्नो नागरिकता निष्क्रिय ठहर हुँदा उपनिर्वाचनमा राज्य कोषबाट भएको खर्च ब्यहोर्नु परे भ्रष्टाचारीमाथि कारबाही गरेर फिर्ता गर्छु भन्न सक्थे र! अरूले भनेको भए तररर त्यसरी ताली बज्थ्यो र!

अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुन प्राप्ति गर्ने प्रक्रिया पुरा नगरेको तथ्य प्रमाणसहित सार्वजनिक भयो उनी पार्टीका आन्तरिक बैठक अनि निकटहरूसँग त्यस्तै परे आफू जेल जान सक्ने भन्दै पार्टी सम्हाल्ने तयारीका लागि आग्रह गर्थे।

तर जब सभा हुन्थ्यो षडयन्त्रको कथा रच्थे। चक्ब्युहको कुरा गर्थे। तर कानुनविरुद्ध षडयन्त्र त उनैले गरेका थिए। कानुन विपरीत काम गरेर उनैले चक्रब्युह रचेका थिए। तर मासलाई अर्कै षड्यन्त्रकारी देखाइदिन्थे। मास पनि हो मा हो मिलाइहाल्थ्यो। क्या गजब।

जति ढाँटे पनि सर्वोच्च अदालतमा पुगेर रविको नागरिकता निष्क्रिय नै रहेको ठहर भयो। सांसद पद गुम्यो। तै पनि उनमा ग्लानि भएन। उनले त्यसलाई लगेर षडयन्त्रमै जोडे। उनीप्रति आँखा चिम्लिएर विश्वास गर्नेहरूले त्यसलाई अझै षडयन्त्रकै रूपमा लिएको देखियो। गजबको विश्वास।

मिडियाले जति प्रमाण सार्वजनिक गरून् त्यसको कुनै काम छैन। जति प्रमाण देखाउन् त्यसकै कुनै प्रभाव छैन। रविले कालोलाई सेतो भने सेतै हुन्छ। कसैले कालो प्रमाणित गरे मैले लगाको चस्माको सिसा कालो  रैछ यसमा मेरो के दोष भन्यो कुरा सकियो।

उनले जे बोल्छन् त्यो सत्य। उनले जे देखाउँछन् त्यो विश्वसनीय। बाँकी सबै अविश्सनिय। सत्य देखाउने पेसा त ‘हाम्रो’ पो हो। तर हामी किन यति धेरै अविश्सनिय भयौँ? किन पत्यार नलाग्ने भयौँ?

अन्त्यमा नयाँ पत्रिकामा काम गर्दाको एक अनुभव लेख्न मन लाग्यो।

भर्खर सुरक्षा सम्बन्धी विषयको रिपोर्टिङ गरेकाले जे विषय पनि समाचार हो जस्तै लाग्थ्यो। एक दिन तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको गुण्डागर्दी हेर्ने शाखाबाट काठमाडौँका गुन्डाहरूको सूची नै फेला पर्यो।

ए, बि, सी अनि डी गरेर समूह विभाजन गरिएको थियो। एरिया तोकिएको थियो। अनि नाइकेहरू पनि। समाचार कक्षमा छलफल गर्दा  राम्रै समाचार हुन्छ भन्ने सुझाव आयो। बढो मिहिनेत गरेर लेखे। छापियो।

भोलिपल्ट कार्यालयमा ज्ञानेश्वर आचार्य दाइ भेट भयो। महाराजगन्ज क्षेत्रमा बस्ने आचार्यलाई त्यहाँको केही केटाले मेरो नाम किन छुटाएको भनेर हप्काएछन्।

गुन्डाको सूचीमा नाम नपरेकोमा खुसी हुनुपर्नेमा उल्टो किन नलेखेको भनेर गाली खाएको सुनेर छक्क परेँ। पछि केहीले टोले गुन्डाहरूको नाम पत्रिकामा छापेर भाउ मात्र बढ्यो भन्ने प्रतिक्रिया पनि पाएँ। तर म विश्वस्त थिए मैले समाजमा भएका खराब पात्रहरूलाई चिनाउने असल काम गरेको छु। उनीहरूको भाउ बढ्ने हैन घट्छ अब।

तर आज अनुभव भयो। म गलत रहेंछु।

मेरा कारण गाली खानु परेकोमा सरी ज्ञानेश्वर दाइ।

[यो लेख www.ukeraa.com बाट साभार गरिएको हो]

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *