टेस उदयपुर
मदन भण्डारी राजमार्गको कटारी गाईघाट सडकखण्ड अन्तर्गत उदयपुरगढी नगरपालिका -७ मा पर्ने अँधेरीमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा सहचालकसहित १५ जना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको छ ।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुङ्गे डिलक्स बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उदयपुरगढीकी ७३ वर्षीय सोममाया तामाङ र कटारी नगरपालिकाकी ६० वर्षीय सोममाया परियार गम्भीर घाइते छन् । उनीहरूको शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको जनाइएको छ ।
अन्य घाइतेहरूमा ताप्ली गाउँपालिकाकी २८ वर्षीय मोनिका मगर, सोही पालिकाकी ४० वर्षीय प्रकाश भुजेल र २८ वर्षीय सुवास नेपाली रहेका छन् । त्यस्तै कटारी नगरपालिकाकी ३५ वर्षीय अनिल चौधरी, सोही पालिकाका १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १५ वर्षीय सुजन तामाङ रहेका छन् । त्रियुगा नगरपालिकाका २१ वर्षीया रेसिका बस्नेत, सोही पालिकाकी २० वर्षीया रेश्मा बस्नेत पनि घाइते छन् भने उदयपुरगढी गाउँपालिकाका १७ वर्षीय तिलक बस्नेत, सोही पालिकाका १० वर्षीय बालक दिपस तामाङ घाइते रहेका छन् । उनीहरूको अवस्था । सामान्य रहेको प्रहरीले जनाएको छ।
उक्त ठाउँ मदन भण्डारी राजमार्गकै सबैभन्दा बढी दुर्घटना हुने ठाउँ हो। अत्याधिक दुर्घटना हुने भएका कारणले यसलाई जिल्ला ट्राफिक कार्यालय उदयपुरले ब्ल्याक स्पटको रुपमा परिभाषित गरी सतर्कतापूर्वक सवारी चलाउन सचेत गराउने गरेको छ। अँधेरीदेखि जोगीटोलसम्मको करिब ३ किलोमिटर अत्याधिक घुम्ती र ओरालो भएका कारण त्यहाँ अत्याधिक दुर्घटना हुने गरेको हो। स्थानीय प्रशासन र स्थानीय तहहरूले उक्त ठाउँको मोडसुधार तथा सडक सुधारमा पहल गरिरहेको भएपनि हालसम्म काम हुन सकेको छैन । ११ फागुन २०८२