× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / धर्म परिवर्तन गराएको आरोपमा ४ कोरियन नागरिक पक्राउ

धर्म परिवर्तन गराएको आरोपमा ४ कोरियन नागरिक पक्राउ

जिल्ला अदालत कास्कीले विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट पक्राउ परेका चार कोरियालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आर्थिक अवस्था कमजोर भएका पोखरेलीलाई प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट गत भदौ २९ मा पक्राउ परेका चार जना कोरियाली नागरिकलाई अदालत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको आरोप लागेका पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले ४ जना कसूरदार होइनन् भनी भन्ने आधार नभेटिएको जनाउँदै कारागार पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि उनीहरुलाई कसूरदार होइनन् भनी भन्न नमिल्ने भएकाले कारागार पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।
स्थानीयवासीले कोरियाली नागरिकहरुले गेस्ट हाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजन कीर्तन गर्ने, आर्थिक सहयोग, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने र चर्चमा लगेर धर्म परिवर्तन गराउने जस्ता कार्य गरेको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेका थिए ।
स्थानीयको उजुरीपछि प्रहरीले उनीहरु बसेको गेष्ट हाउसबाट येशुको प्रार्थना लेखेको चिट समेत बरामद गरेको थियो । बालबालिकालाई ट्युसन पढाउँदा पनि क्रिश्चियन धर्मसम्बन्धी काम गराउने बाइबलका श्लोक र भजन गाउन लगाउने जस्ता कार्य गरेको स्थानीयको आरोप छ ।
शनिबारको दिन बच्चाहरुलाई अनिवार्य चर्च जानुपर्ने नियम राखेर क्रिश्चियन धर्मसम्बन्धी प्रचार गर्ने गरेको स्थानीयको दाबी छ । अदालतसमक्ष कोरियन नागरिकहरुले आफूहरु धर्म परिवर्तन गराउन नआएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्