× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खोटाङ दिक्त्तेलका भाकाहरु लण्डनमा अनवरत गुञ्जिँरहदा

खोटाङ दिक्त्तेलका भाकाहरु लण्डनमा अनवरत गुञ्जिँरहदा

भीम राई

हाते घडीमा समय अपरान्हको ४ बजेको हुनुपर्छ । अझै तिथिमिति तोकेर ठ्याक्कै भन्ने हो भने त्यस दिन १२ नोभेम्वर २०२२ को दिन हुन आउँछ । बेलायती नोभेम्बर महिना भनेपछि मुटु ठिङ्ग्रिने जाडोको कल्पना गर्न सकिन्छ । त्यति मात्र नभएर त्यस महिनामा बेलायती आकासदिउसै अन्धकारमयदेखिन्छ । त्यसैले अपरान्हकोसमय ४ बजेको भएतापनि रात परिसकेको आभास हुन्छ । त्यस्तो हिउँदे मौसममा झरी र हुरीले लछप्पै भिज्नेअल्डरसट धन्न त्यस दिन पानी नपरेर थोरै ओबानो बनेको छ । तैपनि घरबाहिरको जाडोचाहिँ खप्पि नसक्नुको छ । त्यसैले प्रायः मानिसहरु आ-आफ्नो घरदेखि बाहिर निस्केकाकहिँ कतै देखिँदैनन् ।यदि गृष्मकालिन समय हुँदो हो त ‘मिनी नेपाल’ भनेर परिचय बनाएको अल्डरसट बजारभरि गोर्खा सिपाहीहरु र पूर्व गोर्खा सिपाहीका परिवारहरुछपक्कै देखा पर्दथे ।

बेलायती नेपालीहरुको क्यालेण्डरमा त्यसदिन एउटा रमाईलो दिन थियो । किनभने अल्डरसटको एम्पाएर हलमा धुमधामको साथ राजेश पायल राईको ‘एकल कन्सर्ट’हुँदै थियो । जसले गर्दा भर्खरभर्खर बजारमा हल्काफुल्का गोर्खालीहरु देखा पर्न सुरु गरेका थिए । तिनै कन्सर्ट हेर्नका लागि हामी पनि चुल्है निम्तो अल्डरसट बजारमा पुगेका छौं । नत्रभने हामीबानबरी भन्ने सानो गाउँमा बस्छौं । अनि त्यो गाउँअक्सफोर्डसायर जिल्लामा पर्छ । जुन गाउँमा हामी बाहेक अन्य नेपालीहरु बसेका छैनन् होला जस्तो लाग्छ । नत्रभने बिगत ५ बर्षको समयभित्र हामीले कुनै न कुनै नेपालीलाई भेटनु पर्ने हो । तर कसैलाई नभेटेर पनि हामीलाई एक्लोपनमहसुस भएका छैन् । यदि त्यस्तो भयो भने पनि औसी पूर्णेमाहामी त्यसरी नै अल्डरसट पुगिहाल्छौं । र, धित मरिन्जेल नेपाली टोपी लगाएका मानिसहरु हेरेर आफ्नो प्यारो जन्मभूमीबुईपा, खोटाङको याद गर्दैगर्दै बानबरी फर्कन्छौं ।

‘रापा’ कन्सर्टको समय बेलुकि ७ बजे छ । तैपनि हामी सबेरै होटलमा चेकइन भइँसकेका छौ । यसपटक छोरीको काम होटल आरक्षण गर्नु थियो । त्यसैले उनको रोजाइ अनुसार नै उनले‘ट्राभल लज’ आरक्षण गरिन् र पैसा पनि उनैले तिरिसकेकी छिन् । भरै बेलुकी रेष्टुरेन्टमा खाना खाएको पैसा तिर्ने कामचाहिँ छोरोको अँशमा परेको छ । तर यसबेलासम्म उनको अनुहार अल्डरसटमा देखापरिसकेको छैन् । किनभने गत रात उसको रात्रीकालिन ड्यूटी थियो । बिचरा अस्पतालमा कामगर्ने मान्छे । सेन्ट मार्क अस्पताल लण्डनमा रातभरी दुईजना बिमारी गोराहरुको आन्द्राभुँडी चिरफार गरेर जोडेपछि सिधै ऊँ रेल यात्रामा लागेका छन् भन्ने कुरो उनले फोन मार्फत जानकारी गराएका छन् । आधुनिक जमानाका सर्जन । रातभरी काम गरयो । अनि दिनभरी रेल यात्रामा आखाको बिषमारयो । लण्डन जस्तो व्यस्त सहरमा यो नै उसको दिनचार्य बनेको छ ।

हामी होटलमा चेकइन भएपछि, “म एकछिन आराम गर्छु है,किनभने समय पनि फालाफाल छ । फेरि मलाई गाडीले थोरै मातेको जस्तो भयो ।” ताराले सानो स्वरमा मलाई सुनाइँन,र थपक्कै खास्टो ओढेर आराम गर्न थालिन् । आधुनिक मटरहरु र तारा एक अर्कामा बिपरित धृवहरु जस्तै हुन् भन्ने कुरो मैले निक्कै अगाडीदेखि चाल पाएको छु ।त्यसैले यस बारेमा मैले केही भन्न चाहिनँ । नत्रभने मैले एक रफ्तारमा थोत्रो मर्सिडिज हाकिरहँदा कतै छाउरी कुकुर्नीझैं भुक्लुक्कै वान्ता गर्छिन कि भन्ने सुर्तामा थिए । धन्न त्यस्तो दुर्घटनाचाहिँ घटेन । त्यसैमा बिघ्न खुसी छु । तर अति आरामदायी बिस्तारा भेटेपछि कुकुरकोझैंखुट्टा कुङलिङ्ग बाङ्गो पारेर मज्जाले निदाइँ हालिन । मचाहिँ खै अलिक बूढो भएछु कि क्या हो? सुत्नेबेलामा किताब नपल्टाइँ छुसुक्क सुतेको रेकर्ड नै अहिलेसम्म छैन् ।

उनी निन्द्रामा परेपछिमहातेझोला उघार्छु । एकछिनखत्र्याकखुत्रुक चकचक गर्छु । झोलादेखिलैनसिंह बाङदेलको “स्पेनको सम्झँना” पुस्तक निकाल्छु । र, तिनै पुस्तकलाई सरसर्ती पढन थाल्छु । मैले ध्यान दिएर खुरुन्धार त्यस पुस्तक पढनुको मूख्य कारण कुनै परिक्षा उतिर्ण हुनको लागिचाहिँ कदापि हुँदै होइन । आगामी जनवरी महिनामा हामी स्पेन जादै छौं । अनि मैले एउटा कुरो यहाँ नढाँटी भन्नुपर्छ । पहिले पहिलेम स्पेन त्यतिक्कैपुगेको रहेछु । केही नपढि,केही नबुझि । अझ त्यो पनि एकचोटी मात्र कहाँ हो र ? तीन तीन चोटि । पहिले स्पेनको मूख्यभूमी बार्सोलोना (क्याटोलोनिय) क्षेत्र, त्यसपछि मार्लोका (बलेरिक टापुहरु) अनि अन्तमा लान्जारोटी र फियोर्टभेन्चुरा (क्यानरी टापुहरु) पुगेको सम्झन्छु ।

स्पेनदेखि हुरुरु मन उडाएर अल्डरसटमा ल्याउँछु । हामी होटलको दोश्रो तलामा छौं । होटलको कोठा एकदम सुनसान वा प्रायः मृत अवस्थामा छ । त्यति सुनसान कोठामा म एक्लै घुटुकघुटुक चिया पिउँछु । तर चियाको कप टेबलमा राख्दा निस्केको टक्क आवाजले घरिघरि म झस्कन्छु । म त्यसरी झस्केपछि किताबका पानाहरुदेखि नजर भगाएर होटल बाहिरतिरडुलाउछु । अनि बेलायती सेनाको घर (होम अफ द ब्रिटिस आर्मी) अल्डरसटलाई दूरसम्म नियाल्छु । त्यसपछि मुन्टोलाई १ सय ८० डिग्री घुमाउँछु र किताबका पानाहरुमा पुनः ठोकाउँछु । किताबमा भएका कलापारखीहरु पिकासो, एल ग्रे र भेलास्कीका नामहरु कण्ठस्त बनाउनको लागि मन्त्रमुग्ध हुन्छु । अझै भिन्सी, भ्यान गग, मोनेट, रेम्ब्रान्ड र माइकल एन्जेलोको कला हेर्न म लण्डनदेखि एउटा थोत्रो झोला बोकेर न्यूयोर्क, पेरिस, आम्सटर्डम, रोम, बार्सोलोना र सेन्ट पिटर्सबर्ग कहाँकहाँ र कतिचोटी पुगेँ होला भनेर एकछिन स्मंरण गर्छु ।

साँच्चै मानिसको मन आकासभन्दा फराकिलो हुन्छ रहेछ भनेर एकछिन सोच्छु । तर त्यसरी सोच्दै गर्दा अचानक मेरो मोबाइलको घण्टी बज्छ । फोनबाट आएको किरिङकिरिङ आवाजले मेरो ध्यान भङ्ग हुन्छ । कस्ले फोन गरेछ भनेर एकझलक स्क्रिनमा हेर्छु । ए…अरुण भान्जा पो रहेछ भनेर हतारहतारफोन उठाउछु ।

फोन उठाउने बितिक्कै, “मामा ! कता हुनुहुन्छ ?” भान्जाको पातलो स्वर सुनिन्छ ।

“होटलमा नै छु,” छोटो उत्तर दिन्छु ।

“यतै आउनोस है,” अनुरोध गर्नुहुन्छ ।

“हस् हस्,” भनेर फोन मार्छु ।

त्यसबेलासम्म तारा बेडमा लम्पसार परेर सुतिरहेकी छे । म उनलाई नजिकदेखि एक झलक नियाल्छु । त्यसपछि हतार हतार शरिरमा एकसरो कपडा उन्छु । र,हिड्नको लागि तयारभइँहाल्छु । तर म कोठामा त्यसरी चलमलाएको सुनेर उनी अचानक ब्युझँन्छिन् ।

“सात बजेको कार्यक्रम हेर्न पाँच बजेनै जानु हुन्छ कि के हो ?” अनायसै उनको मुख खोलिन्छ ।

“भान्जाले बोलाउनु भएको छ । त्यसैले अबउतै जान्छु । भरै कार्यक्रम स्थलमा नै भेटौला नि,” भन्छु । त्यसपछि ड्याम्मै ढोका बन्द गर्छु । र, ठमठम हिडिहाल्छु ।

होटल छाडेपछि सडकको बाया किनारै किनार हिड्न थाल्छु ।एकछिन हिडेपछि एम्पाएर हलको सामुन्ने पुग्छु । हलको ढोका छेउँमा अरुण भान्जासँग भेट भइँहाल्छ । भान्जाले भेट हुने बितिक्कै नेपालको राजनैतिक गफ सुरु गर्न खोज्नु हुन्छ । किनभने अर्को हप्ता नेपालमा व्यवस्थापिका संसद र प्रदेशको मतदान हुन गइँरहेको छ । मलाई बेलायत बसेर के नेपाली राजनैतिक गफ गर्ने भन्ने मनमनै लाग्छ । तर भान्जालाई त्यसो भनिहाल्न पनि सक्त्तिनँ । धन्न अहिलेसम्म परदेश पसेर त्यति कुटनीतिसम्म जानेको रहेछु भन्ने भान हुन्छ । अझै त्यतिले मात्र मेरो मन कहाँ मान्छ र ?

“हिड्दा पाइतालाले किरा फटेङ्ग्रा नमरोस, र बोल्दा मानिसको अनुहार नजलोस,” भन्ने मनमनै सोच्छु ।

साँच्चै साँच्चै भन्नुपर्दा हामीलाई राजनैतिक बिज्ञानको ज्ञान छैन भने पनि हुँदोरहेछ । मैले आफू पूर्व गोर्खा सैनिक भएकोले मात्र त्यसो भनेकोचाहिँ निश्चय पनि होइनँ । नेपाली राजनीतिलाई नै व्यावसाय बनाएका र देशभित्र बसिरहेका मानिसहरुको मनगढन्ते बिचार सुनेर त्यस्तो चाल पाएको हुँ । हुनत मैले राजनीति बुझ्नको लागि पटकपटक रहर गरेको हुँ । तर प्रत्यक्ष भाग लिनको लागि होइनँ । त्यसैले पटकपटक रोम र एथेन्स पुगेर केवल दिमागलाई दुःखमात्र दिएको छु । प्राचिनकालकाराजनीति शास्त्रका पिता अरिस्टोटलदेखि आधुनिक राजनीति शास्त्रका पिता निकोला म्याकाभेलियाको बिचारहरु यूरोपमा बसेर अध्यान गर्ने अवसर जुरेका छन् । तरपूर्विय र पश्चिमी दर्शनहरु अध्यान गरेपछि झन धेरै अलमल्ल परेर कुहिरोभित्रको कागझैं बनेको छु । त्यसैले अहिले त्यस बिषयलाई चट्टै भुलेर साधरण जिन्दगी बिताउदै छु । नत्रभने सतहिमा बोल्यो, अनि अनुहार खुम्च्याउनु बाहेक केही नहुने रहेछ जस्तो लाग्छ ।

आखिर कुरो संक्षिप्तमा हुनुपर्छ भन्ने सोच्छु । त्यसपछिसानो स्वरमा, ‘भान्जा ! राजनीतिज्ञले मानिसलाई दुई भागमा धृविकरण गर्छन् “ट्रुप्स अथवा इनेमी”नित्सेको भनाई सुनाउछु र प्रसङ्ग बदल्छु ।

“अ…बरु भट्टी पशल खोलियो कि छैन?” भनेर सोध्छु ।

“अघि नै खोलिसकेको छ, भित्र जाने हो र ?”सोध्नु हुन्छ । त्यसपछि हामी दुईजना सुस्तरि हिड्दै कार्यक्रम हुने हलतिर जान्छौं । तर मूख्य द्वारमा पुग्दा २-३ जना महिला स्वंयसेविकाहरुलेधमाधम टिकट बिक्री गरिरहेकोरमाईलो दृश्य देख्छौं । अन्य स्वंयसेविकाहरुलाई मैले चिन्न सकिनँ । तर एकजनाचाहिँमेरी बुहारी हुन्–‘अनिता’ । रात दिन केहि नभनि अहोरात्र सामाजिक सेवामा खटिरहने बुहारीलाई देखेर अति प्रसन्न हुन्छु । उनलाई देखेपछि म उनको नजिकै पुग्छु रसंक्षिप्तमा बोल्न थाल्छु, –

“जेठी ! मैले टिकटबोकेको त छैन् । अग्रिम टिकट खरिद गरेका छौं । तर मसँग छैन्, नमिताले पो बोकिरहेकी छिन् ?” बिस्तारै सुनाउछु । (नमिता गायक राजेशपायलको आफ्नै दिदीहुन् र, उनी आफ्नो परिवारको साथमा अल्डरसटलाई गृह नगर बनाएर यतै घरजम गरेकी छिन् )

मेरो कुरो सुनेर, “काका ! हस् हस्,” मात्र भन्दै थिइँन् । तर उनको हातमा भएको फोन अचानक बजिहाल्छ । त्यसबेला बुहारी र म सानो टेबलको वारिपारी उभिरहेका थियौं । त्यति नजिक भएको हुनाले फोन भतिज गजेन्द्रको रहेछ भनेर मैले ठहर गरें । अझै उनले ठूल्ठूलो स्वरमा, “मेरो कालो कोट कता राखेकी छौं ?” भन्दै बुहारीलाई थर्काएको पनि सुनें । मैले पनि तारालाई त्यसरी थर्काउने भए, मैले यहाँ बोकिहिडेकी छु र ? भन्ने उत्तर पाउँथे हुँला । धन्न मेरो अगाडी बुहारीले त्यसोचाहिँ भनिनन् ।

तैपनि भतिजको कुरो सुनेर म एकछिन छक्क परें । किनभने उनको हजुर बाबुले शखुँ खोलाको सिरदेखि छसुङ खोलाको दोभानसम्म दुई गाउँ जग्गा जमिन जोडिदिनु भएको छ । आलमारी भित्रको कोट नदेख्नेले त्यतिका धेरै जग्गा जमिन भविष्यमा कसरी हेरचाह गर्छ होला भनेर एकछिन पिर परें । त्यतिले मात्र कहाँ हुनु र ? मेरो भतिज ज्यादै भाग्यमानी रहेछ । किनभने उनको छोरी ‘अमेरिकन ल फर्म’ लण्डनमा सोलिसिटर हुँदै छिन् र ३० बर्ष भन्दा सानी उमेरमा ६ अङ्क वेतन खानेवाला छिन् । त्यो सुनेर गर्वले मेरो कुखुरे छाती पनि फुलेर सगरमाथाझैं अग्लो हुन खोज्छ ।

बुहारीलेफोन राखेपछि उनी थोरै व्यस्त भइँन् । म त्यहाँदेखि अलिक पछाडी सरें र भित्ताको नजिकै अडेस लगाएर उभिरहें । केहीबेरमाहस्याङ फस्याङ गर्दै नमिता आइँपुग्छिन्। उनी आउने बितिक्कै, ‘काका ! यी टिकटहरु लिनुहोस,’ भन्दै उनले मलाई टिकटहरु दिन्छिन् ।मैले ५ वटा टिकटहरु खरिद गर्नको अग्रिम जानकारी गराएकोथिएँ । त्यसपछि हामी दुईजना त्यहिँ कुनामा एकछिनकमिला गन्थन गर्न थाल्छौं । ठीक त्यहिँबेला तारा, उनकी आमा, र छोराछोरीहरु सँगसँगै कार्यक्रम स्थलमा आइँपुग्छन् ।

उनीहरु आएपछि हामी सरासर कार्यक्रमस्थलभित्र छिर्छौं । र, सुस्तरी हिड्दैभट्टिपशलमा पुग्छौ । त्यहाँ पुगेर छोराले नाती र बजुको लागि एक-एक पाइन्ट बियर मगाइँ हाल्छन् । त्यसपछि हामीलाई के के पिउँनु हुन्छ भनेर सोध्छन् । ताराले एक गिलास वाइन पिउने रहर गरिन् । छोरीले जिन एण्ड टोनिक पिउँछु भनिन् । म अलिक कमजोरी मान्छे । तैपनि किराँतीको छोराले जाडरक्सी छोएन भने गरिखान्छ भन्ने सपना देखेर मादक पदार्थको नजिक नपुगेको दुई दशक भएको छ । बरु धेरै बोलेर हरहर तिर्खा लागिरहेको थियो । त्यसैले एक बोतल पानीपिउछु भनें । त्यसपछि हामी हातमा पेय पदार्थ बोकेर बस्ने स्थानको खोजिमा लाग्छौं । हलभित्र रङ्गिचङ्गी बलिरहेको बत्तिमा झुमुस खाँदैखाँदै अगाडी बढ्छौं ।

निक्कै अगाडी पुगेपछि बाटैमा ठिङ्गै उभिरहेको एकजना स्वयंसेवकसँग हाम्रो भेट हुन्छ । उनले भेटने बितिक्कै, “अगाडिको तीनलहरमा राखिएका कुर्सीहरु अल्डरसटकाअति महत्वपूर्ण (भिआइपी) मानिसहरु बस्नको लागि हुन् । त्यसपछिका अन्य कुर्सीहरुदोश्रो दर्जाका मानिसहरुका लागि । ती कुर्सीहरुमा झुसमुस र गिरिधारीलालहरु जतासुकै बसेपनि हुन्छ,” पल्टने भाषा प्रयोग गरेर उनले आफ्नो वाक्यांशलाई बिट मार्छ । उनको भनाइँ सुनेर मलाई हाइगेटमा लम्पसार परेर सुतिरहेको कार्ल मार्क्सको बेस्सरी याद आउछ । उनले समस्त मानव जातिलाई ‘कुलिन र सर्वहारा’ दुई बर्गमा बिभाजन गरेका थिए । अबमलाई यहाँनेर, “पैसा सबै चिज होइनँ, तर केही चिज हो,” भन्ने महसुस हुन्छ ।स्वयंसेवकको भनाइले म अक्क न बक्क भएर उभिरहेको देखेर ताराले, “ल ! ठीक्छ, हामी यतै बसौं कि कसो ?” भन्छिन् । मैले प्रति उत्तर नफर्काएपछि उनको कुरोलाई आमाले सहि थाप्छिन् र हामी त्यहिँ आसन गर्छौं ।

हामी कुर्सीमा आसन गरेपछि बिस्तारै बिस्तारै हल भरिनँ सुरु गर्छ । एकछिनपछि त भरिभराउ मात्र नभएर खचाखच भइँहाल्छ । एउटै स्थानमा त्यतिका धेरै नेपाली मूलका मानिसहरु देख्दा अल्डरसटलाई त्यतिक्कै मिनी नेपाल भनेको होइनँ रहेछ भन्ने महसुस हुन्छ । त्यतिका धेरै मानिसहरु देखेपछि हाते घडिलाई एकझलक हेर्छु । बेलुकिको समय ७ बज्नै लागेको थियो । सोहि बेला अचानक स्टेजमा ज्यादै आकर्षक शरिरकी धनि एकजनाउद्घोषिका देखा पर्छिन् । उनले आफ्नो नाम प्रमिला लाबुङ बताएपछि बहुचर्चित गायक राजेशपायललाई स्टेजमा आमन्त्रण गर्छिन् । हुनत त्यो कार्यक्रम बेलायती गृष्मकालिन मौसम जुलाईमा निर्धारित गरिएको थियो । तैपनि बिबिध कारणहरुले गर्दा अनिश्चितकालसम्मका लागि स्थगित भयो । त्यसैले लामो समयको प्रतीक्षापछि कार्यक्रम गरिएको हुनाले कार्यक्रम स्थलभित्र खुट्टा टेक्ने ठाउँ नै थिएन ।

उद्घोषिकाले राजेशपायललाई बोलाएपछि भिडको बिचमा सानो बाटो खुल्छ । तिनै बाटोमा अजङ्गका तीनजना अश्वेत सुरक्षाकर्मीहरुले घेरा हालेर अति सुरक्षित तरिकाले राजेशलाई स्टेजतर्फ लान्छन् । उनलाई त्यसरी डोहोर्याउँदै लैजादा दर्शकहरुले गडगडाहत तालीले भव्य स्वागत गर्छन् । हलभित्र स्वागत गर्ने दर्शकहरुमध्ये मेरो आदरणिय दाजु र भाउज्यू अथवा उनका आमा र बाबु पनि हुनुहुन्छ । त्यति जोडदार होहल्ला र तालिको साथमा हलभित्र उनी छिर्दा मैले नजिकबाट दाजु र भाउजूको अनुहार पढिरहेको हुन्छु ।उहाँहरुलाई यतिबेला कस्तो अनुभूती भइँरहेको छ होला भनेर म मनमनै कल्पना गर्छु । अब त्यो वातावरण र उत्साह देखेर म आफै त त्यति उत्साहित छु भने उहाँहरु आफ्नो छोरालाई देखेर झन कति धेरै उत्साहित एबम गौरवान्तित भएका होलान् भनेर झन सोच्न बाध्य हुन्छु ।

राजेशपायलले स्टेजमा पुग्ने बितिक्कै, “कृपया ! तपाईहरुको सिटको बेल्ट बाँध्नुहोला, अब सांगीतिक यात्रा सुरु हुनै आँटेको छ,” ध्वनिप्रसारक यन्त्र हातमा लिएर पहिलो वाक्यशँ छाड्दा म कताकता हर्षले बिभोर भइँरहेको हुन्छु । मैले जीवन जिउने क्रममा लगभग छ दशक जिन्दगी पार गरिसकेको छु । तैपनि जीवनमापहिलो चोटि नेपाली सांगीतिक कन्सर्ट हेर्न गइँरहेको छु । ताराले त पहिले पनि अल्डरसटमा उनको कन्सर्ट हेरिसकेकी थिइनँ । तैपनि मभन्दा अझै बढि उनी नै खुसि देखिन्थिन् ।कारण के छ भने उनको माइती घरमा हिउद बर्खा पारिवारिक राजनैतिक खिचातानी भइँरहन्छ । जस्ले गर्दा यस बर्षको दशै तिहार उनलेआफ्नी आमासँग मनाउन पाएकी थिइँनन् । बल्लबल्ल कन्सर्टको समयमा आज काकताली परेको छ । त्यसैले आमाको छेउमा बसेर केटाकेटीझैं पुल्पुलिरहेकी छिन् । र, उनको खुट्टा भुइँमा नभएर माथिमाथि उडि हिडेको छ ।

राजेशपायल उर्फ ‘राई इज किङ’ले स्टेजमा पुगेर सबैभन्दा पहिले ‘नमाग मसँग सहारा नमाग, भूइँमा छु आकासका जुन तारा नमाग’ भन्ने गित गाउदा म भावुक बनिसकेको छु । त्यो गित सुन्दैगर्दा मेरो तन त्यतिका धेरै मानिसहरुको बिचमा भएतापनि मन हुरुरु उडेर उनको जन्मघरबुईपा, लेक्पाको बेसीडाँडा पुग्छ । मैले यहाँ गर्वको साथ के भन्नु पर्छ भने उनको घर मुनी एउटा फाटिलो जमिन छ र जस्लाई टारी खेत भन्ने गरिन्छ । तिनै टारी खेतमा फलेको मार्सी धानको भात खाएर मात्र होइन टारी खोलाको पानी पिएर हुर्केको एकजना बालकले जगतभरि पुगेर बसोबास गरिरहेका हरेक नेपाली भाषीहरुको मन र मुटु जित्न सफल भएको छ । जुन सौभाग्य जो कोहीलाई मिल्न त अवश्य सक्त्तैन । केवल राजेशलाई जुरेको छ भन्ने सोचिरहन्छु ।

करिब ८ सय दर्शकहरुको उपस्थिति रहेको त्यस कन्सर्ट हलमा उनले जीवनकै पहिलोपटक लाइभ ब्याण्डका साथ कन्सर्ट गरिरहेका छन् । विश्वको अलौकिक सहर लण्डनलाई क्रमशः साढे दुई घण्टा थर्काइरहँदा, “तिमी शक्त्ति पाएर जन्मेको रहेछौ- भाई,” रुन्चे स्वरमा ताराको मुख खोलिन्छ । दर्शन नमस्ते, मत मर्छु कि क्या हो, ठूली ? बैगुनि रैछौ मायालु, दिक्त्तेल बजार भन्ने कर्णपृय गितहरु गाउदा बैसालु जवानहरुदेखि केस पाकेका बुढापाकाहरुले पनि कम्वर हल्लाएका देखिन्छ ।

‘हौवा हौ हौवा’ भन्ने गित सुन्दा भने मेरो मन हाम्रै गाउँको बुईपा, पन्चरबाटोको हटिया भर्न पुग्छ । बिहे गरेर धेरै टाढा पुगेकी चेलीले लामो समयपछि आफ्नो माइतीलाई तिनै हटियामा भेट्दा एक बोतल रक्सि राखेर चाम्लिङ् भाषामा ‘दाजै, स्या मुइँ – हौवा है हौवा,’ भनेको सुन्दा चाम्लिङ्गेहरु बाहेक अरुले ‘बाहुनले च्याउँ खावस न च्याउँको स्वाद पावस’भन्ने आभाष हुन्छ । त्यति धेरै भाषा र संस्कृती बोकेका उनको गितहरुले हामीलाई भरपुर मनोरन्जन त यस्सै दिइँरहेकै छ । तैपनि त्यति रमाइलो समयले हामीलाई बिदाइ गर्छ ।

त्यसपछि हामी सुस्तरी हलबाट बाहिर निस्कन खोज्छौ । तर बारको नजिकै मात्र के पुगेको हुन्छौं । एक हुल पूर्व गोर्खा यातायात रेजिमेन्टका सदश्यहरुसँग हाम्रो जम्काभेट भइँहाल्छ । १५-१६ बर्षपछि भेटिएका रेजिमेन्टमा सदश्यहरुसँग ‘पेचाउ, पेचाउ’ (क्यान्टोनिज भाषामा बियर) भन्दै सम्झना स्वरुप तस्विर लिएपछि मात्र बिदा हुन पाइन्छ ।

होटलको लबिमा पुग्दा समय रातको ११ बज्छ । तर हामी त्यहाँ पुग्दा राजेशपायल र नमितात्यहिँ हुन्छ । अझै हामी पुग्ने बितिक्कै, –

“काका ! अब राजेशसँग हाम्रो घरमा आउनोस है । मैले कालिजको मासु पकाएकी छु,” उनले अनुरोध गर्छिन् ।

बेलायती सैनिक अधिकृत मेसकी अनुभवी भान्से छोरीको अनुरोधलाई अस्विकार गर्न त यो मन मान्दैन तैपनि, “म बुढो भएको मान्छे । यसोत्यसो गरेर ११ बजे त सुति हाल्छु, आज रात पनि धेरै गइसक्यो,” भन्छु ।

“ल ल हामी काकासँग आउछौं,” उल्टो राजेशले जबाफ फर्काउछ ।

त्यति बोलिसकेर नमिता आफ्नो बाटो लाग्छिन् । ‘अरुलाई के को धन्दा, घर जुवाइँलाई खानेको धन्दा’ भनेझैं जेशन बारमा जान्छ र नाति बजुलाई एक-एक पाइन्ट बियर लिएर आइहाल्छ । राजेशले अल्कोहल पिउँदिन भन्छ । तर, “मेरो कोठामा बर्गर छ लिएर आउछु है,”भनेर ऊ बसिरहेको ठाउँदेखि जुरुक्कै उठछ् । जेशनले, “मामा ! म पनि सघाउनको लागि आउनु कि ?” भनेर एक पटक सोध्छ । त्यसपछि उनीहरु दुवैजना सँगसँगैकोठातिर लाग्छन् । हुनत उसको र हाम्रो कोठा एउटै तलामा छ । अझै कोठाहरु पनि जानेको जस्तै ठ्याक्कै वरतिर र परतिर नै परेका रहेछन् ।

एकछिनपछि दुईजनाले बर्गरहरु लिएर लब्बिमा उपस्थिति जनाउँछन् । बर्गरहरुको साइज हेर्दा बेलायती नभएर अमेरिकन हो कि भन्ने मलाई भान पर्छ । त्यसरी म छक्क परिरहेको बेला, “काका ! यो मेरो साथिले स्पेशल बनाइदिएको हो,” राजेशले भन्छ । हामी तिनै बर्गरलाई लब्बिमा बसेर टोक्न थालिहाल्छौं । उनलेबर्गरलाई केवल दुई गाँस पनि खान पाएको थिएनँ । तस्विर लिने भनेर एक हुल मानिसहरु सरासर होटलभित्र छिरिहाल्छन् । अब मानिसहरु उनलाई खोज्दै आएपछि खानुको सट्टा ऊँ उतैतिर लाग्छ । ऊँ हामीदेखि बिलय भएपछि हामीलाई पो मिनी दशैं सुरु हुन्छ । अब केहिबेरमा आउला भन्दा झन हुलका हुल फोटो खिच्ने मानिसहरुकोताँती लाग्छ ।

ठीक त्यहिँबेला नमिताले मलाई किरिङकिरिङ फोन गर्छिन् ।

“काका ! आउने होइनँ र ?” सोध्छिन् । म सानो स्वरमा, “छोरी ! आउदै छौं है,” भनेर फोन मार्छु । तर दुई टुक्रा रोटीलाईमज्जाले चपाउन पाउदा नपाउँदै त्यतिका धेरै मानिसहरुलाई समय दिनु पर्दा तारालेटाउको हल्लाउँदै अचानक मुख खोल्छिन्, –

 “साच्चै ! सेलिब्रेटीको जिन्दगी कति चर्को रहेछ, हगि ।”

 बानबरी, बेलायत ।

प्रतिक्रिया दिनुहोस्