× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / वडास्तरीय फुटबल प्रतियोगितामा नेर्पाको विजयी शुरुवात

वडास्तरीय फुटबल प्रतियोगितामा नेर्पाको विजयी शुरुवात

जुनु परियार

सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेल मैदानमा शुरु भएको खेलको उद्घाटन कार्यक्रममा शुभम् फाउण्डेशनका विद्यार्थीले साँस्कृतिक कार्यक्रम तथा तेक्वान्दो खेलको डेमोस्ट्रेशन प्रर्दशन गरेका थिए । प्रतियोगिताको शुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र सोल्मा स्पोर्टस क्लब सोल्माका भेट्रान टिमबीच भएको मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ ।
निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेललाई पछि निर्णय गर्ने गरी टुङ्ग्याइएको आयोजकले जनाएको छ । मैत्रीपूर्ण खेलको पुरस्कार राशि नगद रु दश हजार राखिएको आयोजक सोल्मा स्पोर्टस् क्लबका सल्लाहकार समिति सदस्य गङ्गाबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
उद्घाटन खेलपछि सोल्मा स्पोर्टस क्लब सोल्माले युवा समाजसेवी हटमिलन राईलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सोल्मामा हुने गरेका सबैखाले सामाजिक कामहरुमा अग्रभाग रहेर आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएकोमा उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र वडा नं. १४ बुइपाबीच भएको थियो । खेलको मध्यान्तरसम्म कुनै पनि गोल नभएको खेलको मध्यान्तरपछि भने, नेर्पा स्पोर्टस क्लबले लगातार तीन गोल गरेको छ ।
नेर्पाका लागि १० नं. जर्सीका मिङ्मार तामाङ, ९ नं. जर्सीका विदेश राई र ८ नं. जर्सीका विशाल पाण्डेले गोल गर्दा बुइपा स्पोर्टस क्लब पराजित भयो । प्रतियोगितामा नेर्पाका ४ नं. जर्सीका आशिष राई म्यान अफ दि म्याच घोषित भएका छन् ।
प्रतियोगिताको दोस्रो खेल भोलि (आइतबार) खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरबीच हुने भएको छ । जम्मा तीनवटा खेलमध्ये दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र वडा नं. ४ खाल्ले साथै अन्तिम खेल वडा नं. १० पाथेका र वडा नं. ३ बाम्राङबीच हुने आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धतीय र सेमीफाइनलिष्ट हुने दुईवटा टोलीले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ ।
खोटाङभित्रका स्थानीय तहका वडालाई मात्र सहभागी गराइएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १८ वटा टिम सहभागी छन् । वडास्तरीय फुटबल प्रतियोगिताको अवसरमा एक जना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गर्ने क्लबले जनाएको छ ।
खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले ‘दिक्तेल नगरपालिका कप २०७२’ सञ्चालन गरेको थियो । पाँच वर्षअघि सञ्चालन गरिएको प्रतियोगितामा वडा नं. १ दिक्तेलले उपाधि चुमेको थियो  । २०७९ फागुन ७ गते।

 

प्रतिक्रिया दिनुहोस्