× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / कर्तुत लुकाउन परीक्षणमा नै अबरोध

कर्तुत लुकाउन परीक्षणमा नै अबरोध

(टेस)
दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– ८ बुवालुङमा ढलान गरिएको सडकको गुणस्तर परीक्षणमा निर्माण उपभोक्ता समितिले रोक लगाएको छ ।
गत असार मसान्तमा सम्पन्न गरिएको सडक ढलानको काम गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दाले विभिन्न निकायमा उजुरी दिएको लामो समयपछि आइतबार नगरपालिकाको टोली गुणस्तर परीक्षण गर्न बुवालुङ पुगेका टोलीलाई रोक लागाएका हुन् ।
नगरपालिकाको टोली आउने जानकारी पाएपछि कामदारसहित भेला भएका निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर बानियाँ तथा पदाधिकारीले कुनै पनि हालतमा परीक्षण गर्न नदिने अडान कसेका थिए।
आक्रोशित भेलाले सडक ढलानको गुणस्तर यसअघि पटक–पटक परीक्षण गरिसकेको भन्दै अब आउने कुनै पनि निकायलाई परीक्षण गर्न नदिने बताएका छन्।
काठमाडौंबाट झिकाइएको हाइटेक ल्याब प्रालिका इन्जिनियरसहित बुवालुङ पुगेका नगर उपप्रमुख विशन राई तथा कर्मचारीविरुद्ध उनीहरूले अपशब्दसमेत प्रयोग गरेका छन्। आक्रोशित भिडलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकको टोलीसमेत बुवालुङ पुगेको थियो।
यसअघि गरिएका परीक्षणको आधारमा नगरपालिकाले भुक्तानी दिए लिने अन्यथा भुक्तानीसमेत नलिने निर्माण उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताए।
‘हामीले नगरपालिकाको इन्जिनियर नै राखेर काम गरेका हौँ। नगरपालिकाले भुक्तानी रोकेपछि दिनरात कामदारहरू घर घेर्न आउँछन्। मैले के जवाफ दिनु ! कतिजनालाई सम्झाउनु,’ उनले भने, ‘नगरपालिका धाउँदा–धाउँदा दिक्दार भएपछि अब भुक्तानीसमेत नलिनेमा हामी पुगेका हौँ। यसअघि गरिएका परीक्षण तथा मूल्यांकनको आधारमा भुक्तानी दिए लिने, नदिए नलिनेमा हामी पुगेका छौँ।’
तत्कालीन अध्यक्ष हरिकुमार खत्री स्थानीय तहको निर्वाचनमा सदस्य उम्मेदवार भएपघि बानियाँलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको पाइएको छ तत्कालीन अध्यक्ष खत्री अहिले नेकपा एमालेबाट निर्वाचित वडासदस्य छन्। नगरपालिकामा भने हरिकुमार खत्रीले नै सम्झौता गरेका छन्।
गुणस्तरहीन काम गर्ने उपभोक्ता समितिका पदाधिकारीले नै परीक्षणमा अवरोध गरेपछि सर्जमिन मुचुल्का बनाएर फर्किएको अनुगमन समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख राईले बताए।
‘प्राविधिक स्टमेटमा उक्त सडक १५ सेन्टिमिटर ढलान गर्नुपर्ने उल्लेख छ । तर, आठ सेन्टिमिटर मात्र ढलान गरेको पाइयो । यो योजना अघिल्लो जनप्रतिनिधिको पालामा विनियोजित बजेटबाट सञ्चालन भएको हो,’ उनले भने, ‘उहाँहरू (नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राई)को पालामै गुणस्तरहीन भएपछि रोकिएको रहेछ । हामी निर्वाचित भएर आएपछि गुणस्तर कायम गर्न निर्देशन दिइए पनि वडाध्यक्षज्यूले जबर्जस्ती काम अगाडि बढाउँदा समस्या आएको हो । उपभोक्ता समितिले नै अवरोध गरेपछि झनै समस्या सिर्जना भएको छ ।’
दश महिनाअघि ढलान गरिएको सडक अहिले विभिन्न ठाउँमा फुटैको छ भने अधिकांश ठाउँमा उप्किन थालेको छ । सघीय सरकारको रु. ६८ लाख र वडाको रु. दश लाख गरी रु. ७८ लाख तथा उपभोक्ता समितिको दश प्रतिशत लागतमा मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको नौ सय १७ मिटरमध्ये पाँच सय ८५ मिटर सठक ढलान गरिएको हो।
मध्यपहाडी लोकमार्गदेखि तीन सय ३२ मिटर सडकखण्ड गोल्डेन गुड कम्पनीले निःशुल्क कालोपत्र गरिदिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र गर्नेक्रममा गोल्डेन गुड कम्पनीले कालोपत्र गरेको उक्त सडकसमेत गत वर्ष आएको बाढीले खोलेर जीर्ण बनेको पाइएको छ ।
उपभोक्ता समितिले ०७८ असोज १८ गते नगरपालिकासँग सम्झौता गरे पनि उक्त सडक ठेकेदारमार्फत गुणस्तरहीन ढलान गरिएको स्थानीय बासिन्दाको आरोप छ । सडक ढलान गुणस्तरहीन भएको भन्दै गत माघ २ गते स्थानीय जयप्रकाश राईले जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरीसमेत दिएका थिए।
प्रशासनमा उजुरी परेपछि बनेको छानबिन समितिले ढलान गरिएका सडकको क्वान्टिटी पूरा भए पनि क्वालिटी नभएको भन्दै भुक्तानी दिन नमिल्ने बताएको थियो। सडक ढलानको काम गुणस्तरहीन भएको विषयमा अख्तियारमा समेत उजुरी परेको र नगरपालिकाको तर्फबाट काम रोक्न निर्देशन दिइए पनि वडाध्यक्ष लीलाकुमार चौहानले आफूखुसी काम गरेकाले भुक्तानी रोकिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन्।
वडाध्यक्ष चौहानले भने राजनीतिक पूर्वाग्रही ढङगले आफ्नो वडामा सञ्चालित सडक ढलान योजनाको रकम भुक्तानी रोकेको आरोप लगाउँदै आएका छन्।
‘उपभोक्ता समितिले नगरपालिकाकै प्राविधिक राखेर सम्झौताअनुसारको तोकिएको समयमा काम सम्पन्न गरेको छ । तोकिएको समयमा काम सम्पन्न गरे पनि उपभोक्ता समितिले पेस्कीबापतको रकमबाहेक एक पैसा पनि लिएको छैन। यो रोक्नुको कारण के हो ? हामीले अहिलेसम्म बुझेका छैनौँ,’ उनले भने, ‘राजनीतिक रूपमा प्रतिशोध साँध्न भुक्तानी रोकिएको छ । यसले जटिलरूप लिने अवस्था छ ।’
उता, निर्माणस्थलमा खटिएका प्राविधिक भोजराज सुनुवारले आफू सुरुको चरणमा निर्माणस्थलमा रहेको र पछिल्लो समय वडाध्यक्ष चौहानले आफूखुसी काम गराएकाले समस्या आएको बताएका छन्।
एमालेको तर्फबाट वडाध्यक्ष जितेका चौहानको वडामा सञ्चालित सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती, कृषि अनुदानलगायतका विकासे योजनाका काममा अनियमितता भएको भन्दै विभिन्न समयमा विभिन्न निकायमा उजुरी परेको छ ।
वडाध्यक्ष चौहानमाथि विभिन्न निकायमा परेका कुनै पनि उजुरीमा अहिलेसम्म फैसला भएको छैन। वडाध्यक्ष चौहानले कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग निर्माणका लागि सिस्ने–हर्कटे सामुदायिक वनमा अवैध ढुंगाखानी सञ्चालन गर्न लगाएको भन्दै स्थानीयले वडाध्यक्ष चौहानमाथि कारबाही गर्न माग गरेका छन्।
अनुगमणटोलीलाई अनुगमण गर्न अबरोध गर्नु भनेको निर्माण कार्यमा गरिएका कमी कमजोरीलाई ढाकछोप गर्ने मनसाय रहेको बुद्दिजिबीहरुको बुझाइ छ । २०७९ चैत २२ गते ।

प्रतिक्रिया दिनुहोस्