× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / राई इज किङ नगर सदभावना दूत चयन

राई इज किङ नगर सदभावना दूत चयन

‘राई इज किङ’को उपाधि पाउनु भएका गायक राजेशपायल राई खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको नगर सदभावना दूत चयन भएका छन्।
गीत–संगीतको क्षेत्रमा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाएका गायक राईलाई यही चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले सदभावना दूत चयन गरेको हो।
सोही नगरपालिकाको वडा नं. १४ बुइपामा जन्मिएका गायक राईलाई नगरको शान, मान र स्वाभिमानको रूपमा लिइएकाले नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सदभावना दूत चयन गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
‘गायक राजेशपायल राईले हाम्रो नगरपालिकाको समग्र विकासमा केही गर्न खोजिरहनुभएको थियो। नगर कार्यपालिकाको बैठकबाट उहाँलाई नगर सदभावना दूत चयन गरिएको छ,’ उनले भने, ‘सदभावना दूत चयन गरेपछि उहाँ नगरपालिकाको समृद्धि र पहिचानको निम्ति थप सक्रिय रहनुहुनेछ , उहाँको नियमित हुने देश तथा विदेश भ्रमणका क्रममा नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा हामी विश्वस्त छौँ।’
नगर कार्यपालिका बैठकले विभिन्न १९ वटा विद्यामा सल्लाहकार चयन गरिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पूर्वनगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईलाई अनुभवी सल्लाहकार चयन गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख भट्टराईले जानकारी दिए।
नगरपालिकाको राजनीतिक सल्लाहकारमा प्रकाशकुमार श्रेष्ठ, प्राज्ञिक सल्लाहकारमा जसराज किराँती, स्वास्थ्य सल्लाहकारमा डा. के.के. राई, सञ्चार सल्लाहकारमा कृष्ण आचार्य, कानुनी सल्लाहकारमा नारायणदाश राई, सांस्कृतिक संरक्षण सल्लाहकारमा पदमप्रसाद आचार्यलाई चयन गरिएको छ ।
यस्तै, संस्कृति सभ्यता सल्लाहकारमा भोगीराज राई, कृषि सल्लाहकारमा सूर्य राई, पर्याटन सल्लाहकारमा ज्ञानिन राई, निजी क्षेत्र सल्लाहकारमा राजन आचार्य, परराष्ट्र समन्वय सल्लाहकारमा जेपी राई, खेलकुद सल्लाहकारमा बिचारी तामाङलाई चयन गरिएको छ ।
स्थानीय सामग्री प्रवर्द्धन सल्लाहकारमा चन्द्रप्रसाद आचार्य, आन्तरिक पर्यटन सल्लाहकारमा जेपी राई, प्रदेश सञ्चार सल्लाहकारमा रत्नप्रसाद आचार्य र उपत्यका कानुनी सल्लाहकारमा लक्ष्मण आचार्यलाई चयन गरिएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । कानुनी सल्लाहकारबाहेक अन्य व्यक्तिलाई राज्यले उपलब्ध गराउने सेवासुविधा नदिने निर्णय गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिए।
बैठकले अनुभवी सल्लाहकार, नगर स्रोत व्यवस्थापन सल्लाहकार, प्रोजेक्ट बैंक सल्लाहकार र प्राज्ञ एवं विज्ञ समूहसमेत चयन तथा गठन गरेको छ ।
यसैबीच, नगर कार्यपालिकाको बैठकले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रमसमेत गर्ने निर्णय गरेको छ । जिल्लाको महत्व, यहाँका संस्कृति र सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले चित्रकला कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

आगामी वर्ष आयोजना गरिने चित्रकला कार्यक्रममा विभिन्न देशका वरिष्ठ चित्रकार तथा नेपालका मूर्धन्य चित्रकारहरूलाई दिक्तेलमा सहभागी गराउने कार्ययोजना बनाइएको नगर प्रमुख भट्टराईले जानकारी दिए।
नगरपालिकाको समग्र विकासका लागि पाँचवर्षे आवधिक योजना निर्माणको काम भइरहेको पनि जनाइएको छ । आगामी दिनमा आवधिक योजनाको मार्गदर्शनअनुसार वार्षिक नीति तथा कार्यक्रम तयार पारेर कार्यान्वयन गरिने जनाइएको छ ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिले अघि बढाएका योजनालाई समेत प्राथमिकतामा राखेर नगरको विकासमा आफूहरू लागेको नगर प्रमुख भट्टराईले जानकारी दिए। प्रदेश तथा संघीय सरकारबाट प्राप्त बजेट मार्फत नगरभित्र सञ्चालित योजनाको गुणस्तर निर्धारण एवं छिटो सम्पन्न गर्न–गराउनसमेत निगरानी भइरहेको जनाइएको छ । २०७९ चैत २२ गते ।

 

प्रतिक्रिया दिनुहोस्