× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / साकेला गापामा पाँचदिने आधारभूत पत्रकारिता तालिम सुरु

साकेला गापामा पाँचदिने आधारभूत पत्रकारिता तालिम सुरु

टेम्के सम्वादाता

साकेला- साकेला गाउँपालिकाको आयोजनामा सोमबारदेखि पाँच दिने आधारभूत विकास पत्रकारिता तालिम मानेभञ्ज्याङमा सुरु भएको छ । ग्रामीण स्तरमा सूचना र सञ्चारको पहुँच विस्तार गर्ने उदेश्यका साथ पत्रकारिता सम्बन्धी अध्ययन नगरेका र तालिम बाट समेत बञ्चित स्थानीय नागरिकहरुलाई समेटेर तालिम सञ्चालन गरिएको हो ।

तालिममा गाउँपालिकाका पाँच वटै वडाबाट तीन/तीन जना स्थानीय नागरिकहरु सहभागि भएका छन् । गाउँपालिकाभित्र भएका विकासका गतिविधिहरुलाई अन्य नागरिक समक्ष सुसुचित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

गाउँपालिकाका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा सुरु भएको तालिममा समाचारको विषयवस्तु छनौट, संकलन, लेखन, फिचर लेखन, अन्तरवार्ता तयारी, रेडियो, पत्रपत्रिका तथा अनलाईन रिपोर्टिङको विषयमा प्रस्तुती हुनेछ । तालिमको सहजीकरण टेम्के खबर डटकमका अध्यक्ष उजुर राई र किराँत-कोशी डटकमका अध्यक्ष भीम राईले गरिरहनुभएको छ ।

तालिम उद्घाटन पछि सहभागिहरुमाझ संक्षिप्त भनाई राख्नुहुँदै गाउँपालिका अध्यक्ष राईले कलमको शक्तीको महत्व बुझि सत्यतथ्यमा आधारित भएर विषयवस्तुको गहिराईमा डुबेर मात्र कलम चलाउन आग्रह गर्नुभयो । गलत सूचना वा समाचार सम्प्रेषण गर्दा समाजमा नकारात्मक प्रभाव पर्नुका साथै दुर्घटना समेत निम्तने बताउँदै उहाँले पत्रकारिताको मर्म, भावना अनुरुप सन्तुलित र विश्वसनीय खबर प्रवाह गर्न आग्रह गर्नुभएको हो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायतको उपस्थिती रहेको थियो । २०८० असार २० गते

 

प्रतिक्रिया दिनुहोस्