× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / साकेलामा जनश्रमदान अभियान सञ्चालन गरिंदै

साकेलामा जनश्रमदान अभियान सञ्चालन गरिंदै

टेम्के सम्बाददाता

साकेला-साकेला गाउँपालिकाले जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सबै वडामा बिग्रिएका सडक, घोरेटोबाटो तथा सार्वजनिकस्थलहरुमा जनश्रमदान अभियान सञ्चालन गरि मर्मतकार्यको थालनी गरिने भएको हो । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको वैठकले वर्षादका कारण बिग्रिएर क्षतिग्रस्त बनेका ग्रामीण सडक, घोरेटो बाटो र सार्वजनिक स्थलहरु जनश्रमदान मार्फत मर्मत/सफा गर्ने निर्णय गरेको हो ।

वैठकले प्रत्येक वडामा महिनाको कम्तीमा दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकाको पाँच वटै वडाले नेतृत्व गरी महिनाको कम्तीमा दुई दिन अनिवार्य रुपमा जनश्रमदान अभियान सञ्चालन गर्नुपर्ने निर्णय गरिएको अध्यक्ष राईले बताउनुभयो । वर्षादका कारण क्षति भएका ग्रामीण सडक, घोरेटो बाटो, पुलपुलेसा लगायत भौतिक संरचनाहरुको श्रमदान मार्फत मर्मत गरिने उहाँको भनाई छ ।

यसअघि गाउँपालिकाको ३ नम्बर वडा कार्यालय खिदिमाले महिनाको दुई पटक श्रमदान अभियान सञ्चालन गर्दै आएको छ । वडा कार्यालयले सञ्चालन गरेको श्रमदान अभियान अत्यन्तै स्वागतयोग्य भएको बताउनुहुँदै अध्यक्ष राईले अन्य वडाहरुमा पनि श्रमदान अभियान सुरु गर्ने निर्णय गरिएको बताउनुभयो । श्रमदान अभियान सञ्चालन गर्दा गाउँमा छिटो विकास हुनुका साथै राज्यको करोडौं रकम खर्च हुन बाट जोगिने अध्यक्ष राईको भनाई छ ।

खिदिमाका वडा अध्यक्ष गोविन्द तामाङले आफूहरुले सञ्चालन गरेको श्रमदान अभियानमा स्वतस्फूर्त नागरिकहरु सहभागि भईरहेको बताउनुभयो । नागरिकहरु विकास चाहान्छन्, हामीले अभियान मात्र सञ्चालन गरेका हौं, उहाँले भन्नुभयो-श्रमदान गर्न नागरिक आफै अघि सर्नुभएको छ । ३ नम्बर वडा खिदिमा अन्तर्गतका विभिन्न ग्रामीण सडक, घोरेटो बाटो, वावु (चिण्डो) पोखरी वर्षादका कारण बिग्रिएको थियो । जनश्रमदान अभियान मार्फत उक्त स्थानहरुको सफाई गरिसकिएको छ । २०८० भदौ १७

प्रतिक्रिया दिनुहोस्