साकेलाका स्वास्थ्य स्वयम् सेविकाको स्वागत र विदाई

टेम्के सम्बाददाता

सम्केला- ग्रामीण क्षेत्रको टोल तथा बस्तीस्तरमा रहेर नागरिकको स्वास्थ्यप्रति निरन्तर खट्ने महिला स्वास्थ्य स्‍वयम सेविकालाई साकेला गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी नागरिकको स्वास्थ्यप्रति संवेदनशिल भई टोलस्तरमा रहेर काम गर्ने एक जना उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरेको हो ।

गाउँपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न सम्मान कार्यक्रममा गत आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गर्नुहुने महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका धनमाया राई (वडा नम्बर-१)लाई नगद ८ हजार २५० रुपैंयाको साथमा सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

त्यस्तै ६० वर्ष उमेर पुरा हुनुभएको स्वास्थ्य स्वयम सेविका देविमाया खड्का (वडा नम्बर-४) लाई नगद रु. २० हजार रुपैंया सहित स-सम्मान विदाई गरिएको छ । त्यस्तै यशोदा कोईराला (ढकाल) (वडा नम्बर-५), मन्दिरा राई (वडा नम्बर-२), मनहिरा राई (वडा नम्बर-१) र मञ्जु खड्का (वडा नम्बर-४) लाई नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको रुपमा गाउँपालिका प्रमुख राई सहित उपाध्यक्ष बिर्सिका राई लगायतले स्वागत गर्नुभएको छ ।

उक्त कार्यक्रममा सुसंस्कृत, संस्थागत र समृद्ध साकेला निर्माणमा ग्रामीण महिला स्वास्थ्य स्वयम सेविकाहरुको अहम भूमिका हुने बताउँनुहुँदै गाउँपालिका प्रमुख राईले आफू केन्द्रित नभई गाउँपालिकाको समग्र विकासमा लाग्न सके मात्र नागरिकले देखेको पालिकाको समृद्धिको सपना पुरा हुने बताउनुभयो ।

महिला स्वास्थ्य स्वयम सेविकाहरु स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको र उनीहरुले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेको बताउनुभयो । सबै नागरिकहरुको पहुँचमा डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु पुग्न सक्दैनन् तर तपाईहरु हरेक घरघर र टोलबस्तीमा पुगेर सेवा प्रवाह गरिरहनुभएको छ, अध्यक्ष राईले भन्नुभयो तपाईहरुको भूमिका उल्लेख्य रुपमा सह्रानीय छ ।

गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले उल्लेखनीय काम गरिरहेको बताउनुहुँदै बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको योगदान रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्य प्रसाद सिग्देल, साकेला अस्पतालका डाक्टर किसन घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु तथा पाँच वटै वडा अन्तर्गतका टोल तथा बस्तीहरुमा क्रियाशिल महिला स्वास्थ्य स्वयम सेविकाहरुको उपस्थिती रहेको थियो ।२०८० भदौ १९

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *