× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / ‘टोल-टोलाबाटै सरकारी सेवा’

‘टोल-टोलाबाटै सरकारी सेवा’

टेम्के सम्बाददाता

साकेला- नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ साकेला गाउँपालिकाको टोल-टोलमा विभिन्न सेवा सहितको शिविर आयोजना गरिएको छ । शुक्रबार गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा सोही वडाको सेखुवा डाँडागाउँमा स्वास्थ्य परीक्षण सहितको विविध शिविर सञ्चालन गरिएको छ ।

शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था समेत मिलाईएको छ भने भौगोलिक विकटताका कारण नियमितरुपमा जग्गाको तिरो तिर्न नपाएका सर्वसाधारणको लागि समेत उक्त शिविर उपयोगी मानिएको छ ।

भौगोलिक विकटताका कारण वडा कार्यालय सम्म पुगेर फर्कन समस्या हुने नागरिकहरुको समस्यालाई समाधान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको सो वडाका वडा सचिव नमी राईले बताउनुभयो । यस वडा भौगोलिक रुपमा ठूलो र विकट भएका कारण टोल-टोलमा शिविर सञ्चालन गर्नु परेको उक्त वडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो । सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको उहाँको भनाई छ ।

हामी जनताको सेवक हौं, नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा हाम्रो सेवा पुर्याउने कोशिष गरिरहेका छौं- साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले भन्नुभयो- ”जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल-टोलबाटै प्रदान हुनेछ ।” हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्नुहुनेछ प्रमुख राईले भन्नुभयो- ‘सरकारी सेवा प्राप्त गर्नका लागि नागरिकलाई अहिले व्यहोरिरहेको झण्झटबाट मुक्त गराउनेछौं ।’

साकेला गाउँपालिकाले निर्माण सुरु गरेको आवधिक योजनामा ‘डिजिटल पालिका निर्माण’ योजनालाई प्राथमिकता दिएर काम सुरु गरेको छ । डिजिटल पालिका निर्माण भईसकेपश्चात नागरिकहरुले अनलाईनबाटै आफूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा घरै बसिबसी लिन सक्नेछन् । वडा कार्यालय तथा पालिकाबाट प्राप्त गर्ने सेवा अन्तर्गत विभिन्न सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व/कर प्रणाली लगायतका सेवा डिजिटल पालिका निर्माण भईसकेपश्चात प्राप्त गर्ने गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

उक्त शिविर भोली शनिबार १ नम्बर वडा कार्यालय बाँझे र पर्सी आईतबार सोही वडाको डाँडागाउँस्थित पिपलडाँडा आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिने बताईएको छ । आज सञ्चालन गरिएको शिविरबाट ६४ जना जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका र लक्षित बालबालिकाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । त्यस्तै ९२ जना नागरिकले शिविरस्थलबाटै जग्गाको तिरो/मालपोत कर बुझाएका छन् भने १५० जना नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी वितरण गरिएको छ । शिविरमा १ नम्बर वडाका वडा अध्यक्ष हेमन राई, वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारीहरु, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई लगायतको उपस्थिती रहेको छ । २०८०  भदौ २४ गते ।

 

प्रतिक्रिया दिनुहोस्