× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / पूर्ण सरसफाईमैत्री पालिका अभियानमा साकेला

पूर्ण सरसफाईमैत्री पालिका अभियानमा साकेला

टेम्के सम्बाददाता

साकेला- साकेला गाउँपालिका फोहोरमैलाको दिगो व्यवस्थापन गरि पालिकालाई ‘सरसफाईमैत्री पालिका’ निर्माण अभियान सुरु गरेको छ । बजार, पार्क, सार्वजनिक स्थल तथा कार्यालयहरुमा डस्टविन राख्न सुरु गर्दै अभियान बुधबार देखी सुरु गरिएको हो ।

गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने भावि लक्ष्य लिईएको छ । आज बुधबार गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा पालिकाको मानेभञ्जयाङदेखि नौलाखर्क सम्मको बजार, पार्क तथा सडकमा फ्यालिएका फोहोरमैला हटाउनुका साथै पूर्ण रुपमा सरसफाई गरिनुका साथै आवश्यक पर्ने र बढी जनघनत्व हुने ठाउँमा डष्टविन राखेको छ ।

पालिकाले सबै वडा अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कहरुमा फोहोरमैला व्यवस्थापनका लागि डस्टविन राख्ने तयारी समेत गरेको छ । उक्त स्थानहरुमा केही दिनभित्रै डस्टविन राखिने जनाईएको छ । डष्टविनमा संकलन गरिएको फोहोरमैलालाई पालिकाले डम्पिङ साईडमा लगेर व्यवस्थापन गर्नेछ । फोहोरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका-३ खिदिमामा जग्गाको समेत व्यवस्थापन भईसकेको र डम्पिङ साईड निर्माणको तयारी भईरहेको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

पालिकाले सुरु गरेको फोहोरमैला व्यवस्थापन कार्यलाई सहयोग गर्न स्थानीय नागरिकहरु समेत अग्रसर भएर लागि परिरहेका छन् । पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पुरा हुन्छ,-अध्यक्ष राईले भन्नुभयो- सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ यसका लागि नागरिकले साथ दिनुपर्छ ।

हरेक विकासका कार्यहरुलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नु पर्ने कुरामा अध्यक्ष राईले जोड दिनुभयो । यसैक्रममा अध्यक्ष राईले विकास र परिवर्तनका लागि आफू केन्द्रित हुन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले हालसम्म नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले राष्ट्रलाई केन्द्रमा नराखी काम गर्दा अहिले देश आर्थिक सङ्कटमा फसेको बताउनुभयो । उहाँले भन्नुभयो- नेतृत्व गर्नेहरुले देशको विकास भन्दा पनि आफ्नो विकास गर्न तर्फ लागे त्यसैले अहिले देश आर्थिक संकटमा फस्यो । अहिले हामी हरेक कुराबाट पालिकालाई समृद्ध बनाउने कोशिष गरिरहेका छौं, संघ र प्रदेशको मात्र भर पर्ने हैन आफै आत्मनिर्भर बन्ने प्रयत्नमा लागिरहेका छौं, त्यसका लागि स्थानीय सरकार मात्र हैन नागरिक पनि संवेदनशिल बन्नुपर्छ –अध्यक्ष राईले भन्नुभयो ।

गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रमको आयोजनामा भएको सरसफाई कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मी, स्थानीय व्यापार व्यवसायीहरु र सरोकारवाला नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । फोहोरमैला व्यवस्थापनबारे पूर्ण सरसफाई कार्यक्रमका कर्मचारीहरुबाट सडक नाटक समेत प्रस्तुत गरिएपछि सरसफाईको कार्यक्रम सञ्चालन गरिएको थियो ।

फोहोरमैला व्यवस्थापन र पूर्ण सरसफाईको कार्य पालिकाका सबै वडा र टोल तथा बस्तीहरुमा नियमित रुपमा गरिँदै लगिने गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले जानकारी दिनुभयो । सरसफाईमैत्री स्थानीय तह बनाउन पालिकाले गर्ने हरेक गतिविधिप्रति जागरुक भएर सहयोग गरिने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । साकेला गाउँपालिकामा विगत चार वर्षअघिदेखि पूर्ण सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ । विगतमा गैरसरकारी संस्था मार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम विगत एक वर्षदेखि भने गाउँपालिका आफैले नेतृत्व गरेर सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत एक जना अधिकृतस्तरको संयोजक पालिकामा र पाँच जना सहायकस्तर चौथो तहका कर्मचारीहरु प्रत्येक वडाहरुमा कार्यरत छन् । २०८० भदौ २१ गते ।

 

प्रतिक्रिया दिनुहोस्