× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / साकेलाको खिदिमामा हरेक बार खाना चार सुत्केरी भेटघाट

साकेलाको खिदिमामा हरेक बार खाना चार सुत्केरी भेटघाट

खिदिमा (टेस)

साकेला- खोटाङको साकेला गाउँपालिकामा हरेक बार खाना चार गर्भवती र सुत्केरी भेटघाट कार्यक्रम भएको छ । मंगलबार स्वास्थ्य चौकी खिदिमाको आयोजनामा वडा नं. ३ बोराटोलमा एक सुत्केरीसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । सुत्केरीसँगको भेटघाट क्रममा हरेक बार खाना चारको साथमा सुत्केरी र बच्चाको लागि हाईजिन किट उपलब्ध गराईएको छ ।

हरेक बार खाना चारको खानेकुरा गर्भवती/सुत्केरी महिला र परिवारले खानुपर्ने प्रमुख उद्देश्यका साथ सुत्केरी भेटघाट कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयलले बताउनुभयो । कार्यक्रमले पोषणमैत्री स्थानीय टोल घोषणा र पूर्ण सरसफाईको अभियानलाई समेत सहयोग पुग्ने भएकाले आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिईने उहाँको भनाई छ । सुत्केरी भेटघाट कार्यक्रमका लागि यस वर्ष ३ नम्बर वडा खिदिमाले ३० हजार रुपैंया बजेट बिनियोजन गरेको छ ।

सुत्केरी भेटघाटका लागि गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, ३ नम्बर वडा अध्यक्ष गोविन्द तामाङ, साकेला अस्पतालका डाक्टर किसन घिमिरे, गाउँपालिका स्वास्थ्य प्रमुख रिता ढकाल, पोषण संयोजक नविन राई, खिदिमास्थित स्वास्थ्यचौकी प्रमुख फुयल सहित अन्य स्वास्थ्यकर्मीहरुको समेत उपस्थिती रहेको थियो । सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत आगामी वर्षहरुमा पनि बजेट बिनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिईने गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सुत्केरी भेटघाट कार्यक्रमका लागि चालु आ.व. २०८०/०८१ मा  गाउँपालिकास्थित विभिन्न वडाहरुले बजेट विनियोजन गरेको छ । वडा नम्बर १ बाँझेच्यानडाँडाले पोषिलो आहार शीर्षक राखि ३० हजार, २ नम्बर वडा कार्यालय रतन्छाले सुत्केरी भेटघाट कार्यक्रममा ३० हजार, ३ नम्बर वडा कार्यालय खिदिमाले सुत्केरीहरुलाई पोषण नाङ्लो कार्यक्रम शीर्षकमा ३० हजार र ४ नम्बर वडा कार्यालय मात्तिमले स्वास्थ्यसँग जनप्रतिनिधि सुत्केरी परामर्श खर्च शीर्षकमा ६० हजार रुपैंया बजेट बिनियोजन गरेको छ । २०८० भदौ २१ गते ।

 

 

 

प्रतिक्रिया दिनुहोस्