× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खिदिमामा जताततै डष्टबिन

खिदिमामा जताततै डष्टबिन

साकेला
साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ खिदिमामा जतातै डष्टबिन राखिएको छ । गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रम मार्फत वडाका विभिन्न २९ वटा स्थानहरुमा डष्टबिन राखिएको हो । गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हरेक वर्ष बजेट बिनियोजन गरि सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।
गाउँपालिकालाई केही वर्षभित्रनै सरसफाईको क्षेत्रमा उत्कृष्ट बनाउने योजना मुताबिक विभिन्न सरसफाईको कार्य गरिँदै आईएको छ । सरसफाई अन्तर्गत पालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, बजारक्षेत्र, पार्क, धार्मिकस्थल, विद्यालय र संघसंस्थाहरुमा फोहोरमैला व्यवस्थापन गर्नका लागि डष्टबिन राखिएको छ ।
पाँच वटा वडा भएको साकेला गाउँपालिकामा फोहोरमैलाको दिगो व्यवस्थापनका लागि वडा नम्बर ३ खिदिमामा सटिङ साईड समेत निर्माणको क्रममा रहेको छ । विभिन्न स्थानहरुबाट निस्किएको फोहोरलाई उक्त स्थानमा पुर्याई कुहिने, नकुहिने, प्लाष्टिक र सिसाजन्य फोहोरहरुको व्यवस्थापन गरिने छ । अन्य वडाहरुमध्ये रतन्छा, मात्तिम र बाँझेच्यानडाँडाका विभिन्न स्थानहरुमा यसअघिनै डष्टबिन राखिसकिएको छ ।
गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने गाउँपालिकाको भावि लक्ष्य छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा सरसफाईको क्षेत्रमा हरेक गतिविधि हुँदै आएको छ । पालिकाले सुरु गरेको फोहोरमैला व्यवस्थापनको कार्यमा स्थानीय नागरिकदेखि जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुको महत्वपूर्ण साथ मिलेको छ । पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पुरा हुन्छ,-अध्यक्ष राईले भन्नुभयो- सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ यसका लागि नागरिकले साथ दिनुपर्छ ।
अहिले हामी हरेक कुराबाट पालिकालाई समृद्ध बनाउने कोशिष गरिरहेका छौं, संघ र प्रदेशको मात्र भर पर्ने हैन आफै आत्मनिर्भर बन्ने प्रयत्नमा लागिरहेका छौं, त्यसका लागि स्थानीय सरकार मात्र हैन नागरिक पनि संवेदनशिल बन्नुपर्छ –अध्यक्ष राईले भन्नुभयो -हरेक विकासका कार्यहरुलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नुपर्छ । अध्यक्ष राईले विकास र परिवर्तनका लागि आफू केन्द्रित नभई समग्र विकासको क्षेत्रमा कार्य गर्नुपर्ने बताउँदै आउनुभएको छ । २०८०/०९/२४

प्रतिक्रिया दिनुहोस्