× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / टाेलटोलमै वृद्धभत्ता वितरण गर्न सुरु

टाेलटोलमै वृद्धभत्ता वितरण गर्न सुरु

टेस
साकेला- खोटाङको साकेला गाउँपालिकाले वडा-वडा पुगेर बैंङ्किङ प्रणाली मार्फत वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिक बापत वृद्ध-वृद्धाले प्राउने भत्ता रकम उक्त गाउँपालिकाले मङ्गलबारदेखि भुक्तानी शिविरको आयोजना गरि वितरण सुरु गरेको हो ।
पालिकामा रहेकाे नेपाल एसबिआई बैंक र साकेला गाउँपालिकाले पालिकाको छ स्थानमा भुक्तानी शिविर सञ्चालन गर्ने याेजना अनुसार वडा नम्बर १ को बाँझेच्यानडाँडाबाट भत्ता वितरण सुरु गरेको हो । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म आएर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरको पहिलो दिन आज मङ्गलबार वडा नम्बर १ बाँझेच्यानडाँडाका ८२ जना लाभग्राहीहरुलाई नौ लाख त्रियत्तर हजार रुपैंया रकम वितरण गरिएको छ ।
भोली बुधबार सोही वडाको डाँडागाउँ, पर्सी बिहीबार २ नम्बर वडा कार्यालय रतन्छा र शुक्रबार ३ नम्बर वडा कार्यालय खिदिमामा शिविर मार्फत भत्ता वितरण गरिने तयारी गाउँपालिकाले गरेको छ । त्यस्तै माघ ७ गते आईतबार ५ नम्बर वडा कार्यालय र ९ गते मङ्गलबार ४ नम्बर वडा कार्यालयमा भत्ता वितरण गरिने बताईएको छ ।
भौगोलिक कठीनाईका कारण जेष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा तथा अशक्त भएका नागरिकहरु नसक्ने भएकाले सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर गाउँमै सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको बताउनुभयो ।
गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ । टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको उहाँको भनाई छ । २०८० माघ ४ गते ।

प्रतिक्रिया दिनुहोस्