× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

टेस/साकेला
साकेला गाउपालिकामा मंगलबा देखि छैटौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन आफू प्रतिवद्ध भएको बताउनुभएको छ । गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल जगतलाई माथि उठाउनको लागि सिङ्गो पालिका सरकार लागि पर्ने कुरा बताउनुभएको हो ।
साकेला गाउँपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ताको व्यवस्थापनमा मंगलबारदेखि स्थानीय नौलाखर्क खेलमैदानमा सुरु भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो । उहाँले आजका विद्यार्थी नै भोलिको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा ध्यान दिनु जरुरी भएको बताउनुभएको छ । हामीलाई जनताले भरोसा गरि नेतृत्वमा पुर्याउनुभएको छ, हामी तपाईहरुको भरोसालाई निराशामा बद्लिन दिदैनौ, उहाँले भन्नुभयो पालिकाबासी नागरिकले देखेको सपनालाई व्यवहारमा रुपान्तरण गरि पालिकालाई दिगो विकास गर्न प्रयत्नशिल छौं ।
अध्यक्ष राईले साकेलाको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने बताउनुभएको छ । साकेला गाउँपालिका सरकार जनताको सरकार भएको हुँदा जनतानै मालिक बनाउने हाम्रो सपना छ, गाउँपालिकाको हरेक क्षेत्रमा कुनै प्रकारको पनि विभेद नभएको बताउनुहुँदै उहाँले जनताको निर्णय र माग बमोजिम नै पालिका सरकार सञ्चालन हुने उद्घोष गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउनुभयो । पालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाउन पालिका सरकार लागिरहेको बताउनुहुँदै पालिकाले गर्ने हरेक सकारात्मक विकासमा आम नागरिकको सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा गाउँ शिक्षा समिति सदस्य तथा पूर्व सांसद कूल प्रसाद फुयाल, पूर्व गाउँपालिका उपाध्यक्ष सरिता खड्का, १ नम्बर वडा अध्यक्ष हेमन राई, नेकपा एमालेका नेता गोपिकृष्ण खड्का, शिक्षक महासङ्घका अध्यक्ष इन्द्रकुमार तामाङ, साकेला माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवेन्द्र कुमार राई लगायतले साकेलाको खेलकुदको विकास गर्नका लागि संस्थागत रुपमा लागि पर्नु पर्ने सुझाव दिनुभएको छ । साकेला गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन खत्रीको सभापतित्वमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी बिहीबार सम्म सञ्चालन हुने जनाईएको छ ।
प्रतियोगितामा भलिवल तर्फ छात्रछात्रा, कब्बडी, हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौड लगायत विभिन्न २६ विधामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिष्पर्धा हुने व्यवस्थापनको जिम्मा पाएको विद्यालय सरस्वती माविका प्रधानाध्यापक सितल राईले जानकारी दिनुभयो । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध भएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन-जान तथा अन्य व्यवस्थापन खर्चको व्यवस्थापन समेत पालिकाले गर्नेछ । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कहिलेबाट शुरु हुने भन्ने बारे टुङ्गो लागेको छैन ।२०८० माघ २४ गते

प्रतिक्रिया दिनुहोस्