दशैं लक्षित सामाजिक सुरक्षा भत्ता वडा/वडामा वितरण

टेस
साकेला- खोटाङको साकेला गाउँपालिकाले दशैंको मुखमा आएर वडा/वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक भत्ता गाउँपालिकाले सबै वडामा शिविर आयोजना गरेर वितरण गर्न सुरु गरेको हो ।
बैङ्किङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने भत्ता यसअघिदेखि नै वडा/वडा पुगेर वितरण गर्दै आएको गाउँपालिकाले यो प्रथम त्रैमासिकको भत्ता पनि वडामै पुगेर बाँड्न सुरु गरेको हो। गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार लक्षित बर्गलाई दुःख नहोस् भनेर घर पायक पर्ने गरी शिविर राखेर भत्ता वितरण गरिएको हो। वडामा सञ्चालित शिविरमा गाउँपालिका र बैंकका कर्मचारीको संयुक्त टोली खटाएर भत्ता वितरण गर्न सुरु गरेको उहाँले बताउनुभयो ।
वृद्ध वृद्धाहरू हिँडडुल गर्न नसक्ने, गाउँपालिका केन्द्रमा रहेको बैंक आउन खर्च र शारीरिक कष्ट हुने तथा अशक्त र अपाङ्गतालाई थप गाह्रो नहोस् भनेर वडामै शिविर राखेर भत्ता बाँडेको अध्यक्ष राई बताउनुहुन्छ । साकेलाले सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेको नेपाल एसबिआई बैंकका कर्मचारी र पालिकाका कर्मचारीसँगै भत्ता वितरणको लागि खटिने गरिएको छ ।
जनप्रतिनिधि भनेको जनताको सेवक र अभिभावकसमेत भएको र अझ ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरूलाई सहज सेवा दिन शिविर सञ्चालन गर्ने गरिएको अध्यक्ष राईले बताउनुभयो । जनताको सेवाका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले हिँडडुल गर्नै नसक्ने कतिपय अशक्तहरूलाई बैंक र गाउँपालिका कर्मचारीलाई घरघर खटाएर समेतबैंङ्किङ सुविधा प्रदान गरिने बताउनुभयो ।
शिविरको पहिलो दिन आईतबार उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित रतन्छाको वडा कार्यालय मार्फत भत्ता वितरण गरिएको छ । उक्त वडामा आयोजित शिविरबाट ११७ जना लाभग्राहीको लागि १७ लाख ३६ हजार रकम वितरण गरिएको नेपाल एसबिआई बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले बताउनुभयो ।
साकेला गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक हजार तीन सय ३३ जना लाभग्राही भत्ता प्राप्त गर्न योग्य छन् । उनिहरुको लागि गाउँपालिकाले एक करोड ३४ लाख २० हजार ४२५ रुपैंया निकासा गरेको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो ।
लगातार छ दिन सम्म चल्ने शिविरको दोश्रो दिन असोज १४ गते ५ नम्बर वडा कार्यालय मात्तिमबिर्ता, असोज १५ गते ३ नम्बर वडा कार्यालय खिदिमा, असोज १६ गते ४ नम्बर वडा कार्यालय मात्तिम, असोज १८ गते १ नम्बर वडा कार्यालय बाँझेच्यानडाँडा र असोज २० गते चण्डेश्वरी आधारभूत विद्यालय १ नम्बर वडामा पुगेर शिविर टुङ्गिने गाउँपालिकाले जनाएको छ ।
शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीहरूले भने देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने व्यवस्था गरिएको छ । २०८१ असोज १६ गते ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *