× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home /

उदयपुर(टेस)

नेपाल विद्युत प्राधिकरण उदयपुरले चालु वर्ष साढे ३३ करोड रुपैँया उठाएको छ । गएको साउनदेखि वैशाखसम्मको १० महिना अवधिमा ३९ करोड ६७ लाख ५९ हजार ५ सय ५ रुपैँया बराबरको विद्युत विक्री गर्दै सो परिमाणको महसुल उठाएको हो ।

जेठ महिनामा विक्री र उठेको रकमको रिपोर्ट भने आउन बाँकी रहेको लेखा अधिकृत राजन राईले बताए । उनका अनुसार केन्द्रको विक्री शाखाले जेठको तथ्याङ्क सङ्कलन गरिरहेकाले वैशाखसम्मको मात्र हिसाव अभिलेखमा रहेको छ । प्राधिकरणले विभिन्न ९ प्रकारका ग्राहकलाई विद्युत विक्री गर्ने र महसुल सङ्कलन गर्ने गरेको छ ।

जसमा सबभन्दा बढी महसुल सर्वसाधारण ग्राहक (उपभोक्ता)बाट २३ करोड ५४ लाख ९८ हजार रुपैँया उठाएको अधिकृत राईले बताए । त्यस्तै व्यवसायिक ग्राहकबाट ३ करोड ८३ लाख १३ हजार रुपैँया उठेको छ भने औद्योगिक ग्राहकबाट ३ करोड ५५ लाख ७५ हजार सङ्कलन भएको छ ।

खानेपानी ग्राहकको महसुल ८४ लाख १७ हजार २ सय ४८ उठेको छ भने सिँचाई उपभोक्ताको ५८ लाख ५० हजार ५ सय ७६ रुपैँया, सडक बत्तीवापत ५७ लाख ११ हजार ८ सय ३० र ३३ लाख १ हजार ७ सय ६० रुपैँया महसुल यातायात क्षेत्रबाट उठेको लेखा अधिकृत राईले बताए । त्यसैगरी मठ मन्दिरको महसुल ३ लाख ७४ हजार ८ सय ३९ रुपैँया उठेको छ । अस्थायी ग्राहकबाट अहिलेसम्म ३ लाख ९ हजार ४ सय १८ रुपैँया महसुल सङ्कलन भएको छ ।
प्रााधिकरणको बक्यौता रकम पनि उत्तिकै उठ्न बाँकी छ । गत वैशाख मसान्तसम्म बक्यौता महसुल ६३ करोड २७ लाख ६८ हजार ५ सय ४० उठ्न बाँकी छ । गत आर्थिकवर्षको असारसम्म बक्यौता महसुल ५९ करोड ६३ लाख ५४ हजार ५ सय १३ रुपैँया उठ्न बाँकी थियो । चालु वर्ष बक्यौता उठाउन लाईन काट्ने तथा पत्राचार गरेर ताकेता गर्ने काम भईरहेको छ ।

वितरण केन्द्र प्रमुख माधवप्रसाद यादवका अनुसार प्राधिकरणको सदरमुकाम गाईघाटमा वितरण केन्द्र, चौदण्डीगढी नगरमुकाम बेलटार र कटारी नगरमुकाम कटारी बजारमा शाखा कार्यालयहरुमार्फत विद्युत विक्री भईरहेको छ । तीनवटै कार्यालयबाट ७६ हजार ९ सय ५१ ग्राहक सङ्ख्या पुगेको वितरण केन्द्र प्रमुख यादवले बताए ।

गाईघाट अन्तर्गत ३३ हजार ४ सय ४६ ग्राहक छन् भने बेलटार अन्तर्गत २३ हजार ९ सय ९६ र कटारी शाखा मातहत १९ हजार ५ सय ९ ग्राहक उपभोक्ता रहेको यादवले बताए । उदयपुरको झण्डै ९० प्रतिशत उपभोक्तासमक्ष विद्युत सेवा विस्तार भईसकेको पनि हाकिम यादवले बताएका छन् ।

बक्यौता यति धेरै हुनुमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडले तिर्न बाँकी महसुल मुख्य कारण हो । पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट मात्र ३५ करोड बढी महसुल बक्यौता छ । प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि देशलाई लोडसेडिङ मुक्त बनाउने क्रममा उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङक लाईनमार्फत २४ घण्टै सञ्चालन गर्ने गरी दिएको सुविधावापत महसुल अहिलेसम्म उद्योगले नतिरेकाले व्याज र हर्जाना जोडिएर यति ठूलो परिमाण बक्यौता पुगेको हो ।

सरकारी उद्योग भएकाले हिसाव मिलान गर्ने गरी बाँकी रहेको बक्यौता मन्त्रीपरिषदबाट आन्तरिक व्यवस्थापन गर्न नसक्दा महसुल रकम व्याज र हर्जना चक्रवर्ती रुपमा बढ्दै त्यत्ति ठूलो आकारको बक्यौतामा परिणत हुन पुगेको उद्योग प्रशासनले जनाएको छ ।

वितरण केन्द्र प्रमुख यादवले बक्यौता रकम उठाउन ताकेता गर्दै पत्राचार भईरहेको छ । पहिलो पटक सचेत गराइने, दोस्रो पटकको ताकेतामा पनि महसुल नउठे लाईन काट्ने प्रक्रिया अघि बढाउने हाकिम यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्