× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पाले चुम्यो

जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पाले चुम्यो

जुनु परियार टेस

सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा आज (शनिबार) भएको फाइनल खेलमा सोही नगरपालिकाको वडा नं.-११ खार्मीलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले उपाधि चुमेको हो । दर्शकका लागि निक्कै रोचक भएको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल नभएपछि ट्राइब्रेकरमार्फत प्रतियोगिताको उपाधि छिनोफानो गरिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडी सहभागी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् । प्रतियोगिताका विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्रथम, द्धतीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमलाई क्रमशः रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ नगदको साथमा ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताको अनुशासित टिममा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा तथा बेष्ट प्लेयरमा नेर्पाका सुरज राई घोषित भएका छन् । अनुशासित टिम र बेष्ट प्लेयरलाई क्रमशः नगद रु पाँच हजार ५५५ प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभरका बेष्ट किपरमा खार्मीका निशान विश्वकर्मा, बेष्ट डिफेण्डरमा खार्मीकै ध्रुव विश्वकर्मा, बेष्ट मिड फिल्डरमा नेर्पाका पारश कार्की, हाइ स्कोररमा नेर्पाकै विदेश राई, बेष्ट कोचमा नेर्पाका वीरेन गुरुङ र योङगेष्ट प्लेयरमा नेर्पाकै प्रज्वल गुरुङ घोषित भएका छन् । बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिएको क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता समापनको अवसरमा युट्युबर एवम् पत्रकार मनोज आचार्यलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गरिएको आयोजकले जनाएको छ । युट्युबर एवम् पत्रकार आचार्यले तेस्रो सँस्करणको प्रतियोगिता सफल पार्न उल्लेख्य भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको आयोजकले जनाएको छ । खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले दोस्रो सँस्करण वि.सं. २०७५ वैशाखमा सञ्चालन गरेको थियो । दोस्रो सँस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलले उचालेको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले यही फागनु-६ गते सोल्मा स्पोर्टस क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको थियो । सोल्माका स्थानीय समाजसेवी एवम् सिङ्गापुर प्रहरीका पूर्व प्रहरी निरीक्षक रुद्र राईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलो पटक आफ्नै खेलमैदान निर्माण गरेको छ । सोल्मा स्पार्टस् क्लबको खेलमैदान मध्यपहाडी लोकमार्गभन्दा करिब तीन किलोमिटर टाढा रहेको छ । प्रतियोगिता समापन कार्यक्रममा सितोरियो कराँतेका राष्ट्रिय खेलाडी विद्याकला राईलाई उहाँका ‘मावली विक्रम परिवार’ले नगद रु एक लाखसहित सम्मान गरेको छ । खेलकद्को माध्यमबाट आफ्नो जिल्ला तथा परिवारलाई विश्वमा परिचित गराएको भन्दै मावली परिवारले सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-७९ मा विद्याकलाले ५५ केजी तौल समूहमा रजत पदक हाँसिल गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा घर भएकी विद्याकलाले जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा दर्जनौँ पदक प्राप्त गर्नुभएको छ ।  २०७८ फागुन १३ गते ।

प्रतिक्रिया दिनुहोस्