Category: समाचार

  • गोर्खा वेल्फेयर ट्रष्टले बनाईदियो बिद्यालय

    गोर्खा वेल्फेयर ट्रष्टले बनाईदियो बिद्यालय

    टे स (साकेला॒)  करीव तीन सय विद्यार्थी अध्ययनरत खोटाङको साकेला गाउँपालिका-५ स्थित सरस्वती माध्यमिक विद्यालयमा ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको मात्तिमबिर्तास्थित सरस्वती माविमा दुई करोडभन्दा बढी लगानीमा बालबालिकामैत्री, अपाङ्गतामैत्री एकैसाथ दुई वटा भवन, व्यवस्थित शौचालय तथा खानेपानी सुविधा सहितको संरचना निर्माण गरिएको हो ।

    गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं विद्यालय र समुदायको सहभागितामा सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । सरस्वती माविका लागि २ करोड ६५ लाख ९२ हजारको लागतमा एउटा आठ कोठे र एउटा चार कोठे भवन निर्माण गरिएको हो । ६ महिनामै निर्माण गरिएको भवन आज असार ४ गते गोर्खा वेल्फेयर ट्रष्टले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

    देशभरीमा बनाइएका पाँच वटा आयोजनामध्ये साकेलामा विद्यालयको भवन निर्माण गरिएको हो । लामो समयसम्म ब्रिटिश आर्मीमा कार्यरत रहि सेवा निवृत्त हुनुभई ब्रिगेड गोर्खाकै ईतिहाँसमा पहिलो पल्ट स्थानीय तहको नेतृत्व सम्हालिरहनु भएका गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको पहलमा उक्त आयोजना मार्फत सो विद्यालय छनौटमा परेको थियो ।

    दुई सय नौ वर्षभन्दा पुरानो इतिहास बोकेको ब्रिटिश गोर्खामा आफूले समेत रगत र पसिना बगाएको स्मरण गर्नुहुँदै अध्यक्ष राईले आफू पहिलो पल्ट निर्वाचित भएको ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना उपलब्ध गराएको प्रति ब्रिटिश गोर्खा वेलफेयर, सिंगो गोर्खा वेलफेयर ट्रष्ट र भवन निर्माणको लागि पहल कदमी गर्नुहुने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    व्यवस्थित, सुविधायुक्त र पर्याप्त कक्षाकोठा र भवनको अभाव भईरहेको अवस्थामा ब्रिटिश गोर्खा वेलफेयरबाट प्राप्त अनुदान सहयोगबाट विद्यालयको भवन निर्माण हुनु गाउँपालिकाको समृद्धिको यात्रामा ठूलो उपलब्धी हाँसिल भएको अध्यक्ष  राईले टिप्पणी गर्नुभयो ।

    भवनसँगै आठ कोठे शौचालय, खानेपानी ट्यांकी, घेराबारा, चार कोठामा वालमैत्री फर्निचर, भित्तेलेखन तथा कार्पेटिङ, वालमैत्री धारा लगायतका संरचना निर्माण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्टले विद्यालयलाई फलामको ४० जोर डेस्कबेञ्च पनि उपलव्ध गराएको छ । गोर्खा वेल्फेयर ट्रष्टले सोही विद्यालयमा पहार ट्रष्ट नेपालसँगको सहकार्यमा लाइब्रेरी प्रोग्राम सञ्चालन गर्ने प्रधाध्यपक सितल राईले बताउनुभयो । २०८२ जेठ ५

  • कानूनी प्रकृया अघि बढाउने सहमती पछि ताला खुल्यो

    कानूनी प्रकृया अघि बढाउने सहमती पछि ताला खुल्यो

    टेस
    साकेला- अमेरिका गएका वडाध्यक्षलाई कारवाही गरि उपनिर्वाचनको वातावरण समेत मिलाउन दबाव दिने उद्देश्यले सर्वदलीय सम्यन्त्रद्वारा बुधबार देखि गरिएको साकेला गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा लगाईएको ताला शुक्रबार खोलिएको छ । गाउँपालिकाको कार्यालयमा आन्दोलनरत पक्ष र गाउँपालिकाको तर्फबाट बसेको छलफल पश्चात निर्वाचित वडाध्यक्ष अर्जुनकुमार कटवालको सम्बन्धमा कार्यालयको तर्फबाट थप आवश्यक कानूनी प्रकृया सुरु गर्न सम्बन्धित निकायले पहल गर्ने सहमति जुटेपछि शुक्रबार ताला खोलिएको हो ।
    गाउँपालिका अध्यक्ष रवि प्रकाश राई र आन्दोलनरत पक्षबीच भएको फोन वार्ता पश्चात तत्कालै निर्वाचित वडाध्यक्षको विषयमा प्रकृया सुरु गर्ने सहमती जुटेपछि कार्यालयमा लगाईएको ताला खोल्ने सहमती भएको हो । सहमती पत्रमा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष बिर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राई तथा आन्दोलनरत पक्षको तर्फबाट संयोजक कृष्णप्रसाद भट्टराई, राजनीतिज्ञ गोपिकृष्ण खड्का, प्रहरी प्रशासनको तर्फबाट वरिष्ठ प्रहरी नायव निरिक्षक सुरेश लामा सहित राजनैतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गर्नुभएको छ ।
    लामो समयदेखि वडा अध्यक्ष बिहिन उक्त वडाका अध्यक्ष कटवाललाई अमेरिकाबाट फर्किएर वडाबासीको काममा लाग्न र उनि निर्वाचित नेकपा माओवादी केन्द्रको नेतृत्व मार्फत अध्यक्षलाई फर्काउने वातावरण तयार गर्न गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले पटक-पटक पहल र ताकेता गर्दै आउनुभएको थियो ।
    वडाध्यक्षले जनभावना अनुसार काम नगरेको भनि वडाबासीहरुको जनगुनासो आईरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट निर्वाचित वडाध्यक्षको सम्बन्धमा आवश्यक प्रकृया अघि बढाउनका लागि पहिला देखिनै कानूनविद, निर्वाचन आयोग, जिल्ला प्रशासन, जिल्ला समन्वय सहित सम्बन्धित निकायमा बुझ्ने काम भईरहेकै थियो,यही क्रममा सम्बन्धित पार्टीको तर्फबाट वडाध्यक्ष दशैं सम्म कार्यक्षेत्रमा फर्किसक्ने भएकाले आवश्यक प्रकृया रोकिदिन अनुरोध भए बमोजिम यो बेला सम्म प्रकृया अघि बढाईएको थिएन, गाउँपालिका अध्यक्ष राईले भन्नुभयो- अब वडाध्यक्षको विकल्पको लागि विधि र कानून बमोजिम कार्यालयको तर्फबाट प्रकृया अघि बढ्छ ।
    वडा अध्यक्षको विकल्पमा नागरिकहरुको समस्या समाधान गरि सहजता प्रदान गर्नका लागि गाउँ कार्यपालिकाको वैठकले जेष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्ने गरि निर्णय गर्दै आएको थियो ।
    विभिन्न मितिमा तीन पटक सम्म कार्यपालिका वैठकले निर्णय गरेर कार्यवाहक अध्यक्षको रुपमा खड्कालाई जिम्मेवारी दिएको भए पनि पछिल्लो पटक गत भदौ २३ गतेदेखि थप गरेको म्याद समेत असोज २२ गते सकिएपछि वडाबाट दैनिक रुपमा हुने प्रशासनिक र विकासका कार्यहरु प्रभावित बन्दै आएको निष्कर्ष निकालेर वडाको स्थायी समस्या समाधानका लागि दबाव दिने उद्देश्यले वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको सर्वदलीय समितिले जनाएको छ ।
    वडाध्यक्ष कट्वाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका गएको र वडाबाट दैनिक रुपमा सम्पादन गर्नुपर्ने विकास निर्माण, प्रशासनिक र सेवाग्राहीको काम रोकिएर सेवाग्राहीले दुख पाएको भन्दै सर्वदलीय निर्णयपछि वडा कार्यालयमा तालावन्दी गरिएको थियो । नौ महिना बित्दा पनि वडाध्यक्ष कट्वाल वडामा नफर्केपछि बुधबार पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा वडामा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले समस्या समाधान नभएसम्मलाई वडा कार्यालयमा ताला लगाएको थियो ।
    गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईकै संयोजकत्वमा वडाध्यक्ष नहुँदा वडामा हुने समस्याको समाधान गर्न बनाईएको समितिले वडाध्यक्ष कट्वाललाई १५ दिनभित्र वडामा आएर जनताको काम गर्न अल्टिमेटम दिएको थियो । तर, वडाध्यक्ष अल्टिमेटम कटेर महिनौ बित्दा पनि वडा नफर्केपछि अन्ततः ताला लगाउन बाध्य भईएको पूर्ववडाध्यक्ष भट्टराईको भनाई थियो । अमेरिका छिरेका वडाध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् । उनै माओवादी पार्टीका नेता कार्यकर्ता पनि वडाध्यक्षको विरोधमा ताला लगाउनमा सहभागी भएका थिए। माओवादीसँगै, नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर वडामा तालाबन्दी लगाएका थिए ।
    वडाध्यक्ष कट्वाल २०७९ सालमा पनि अढाई महिना अमेरिका बसेका थिए । त्यसबेला चार वडा सदस्यलाई १५-१५ दिनको कार्यबाहकको जिम्मेवारी दिएका थिए। श्रोतका अनुसार वडाध्यक्ष कट्वाल दशैंमा पनि वडा नफर्केपछि उनी अमेरिकामै बस्न पिआरको प्रक्रियामा रहेको बताईएको छ । २०८१ कातिक ११ गते ।

  • दशैं लक्षित सामाजिक सुरक्षा भत्ता वडा/वडामा वितरण

    दशैं लक्षित सामाजिक सुरक्षा भत्ता वडा/वडामा वितरण

    टेस
    साकेला- खोटाङको साकेला गाउँपालिकाले दशैंको मुखमा आएर वडा/वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक भत्ता गाउँपालिकाले सबै वडामा शिविर आयोजना गरेर वितरण गर्न सुरु गरेको हो ।
    बैङ्किङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने भत्ता यसअघिदेखि नै वडा/वडा पुगेर वितरण गर्दै आएको गाउँपालिकाले यो प्रथम त्रैमासिकको भत्ता पनि वडामै पुगेर बाँड्न सुरु गरेको हो। गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार लक्षित बर्गलाई दुःख नहोस् भनेर घर पायक पर्ने गरी शिविर राखेर भत्ता वितरण गरिएको हो। वडामा सञ्चालित शिविरमा गाउँपालिका र बैंकका कर्मचारीको संयुक्त टोली खटाएर भत्ता वितरण गर्न सुरु गरेको उहाँले बताउनुभयो ।
    वृद्ध वृद्धाहरू हिँडडुल गर्न नसक्ने, गाउँपालिका केन्द्रमा रहेको बैंक आउन खर्च र शारीरिक कष्ट हुने तथा अशक्त र अपाङ्गतालाई थप गाह्रो नहोस् भनेर वडामै शिविर राखेर भत्ता बाँडेको अध्यक्ष राई बताउनुहुन्छ । साकेलाले सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेको नेपाल एसबिआई बैंकका कर्मचारी र पालिकाका कर्मचारीसँगै भत्ता वितरणको लागि खटिने गरिएको छ ।
    जनप्रतिनिधि भनेको जनताको सेवक र अभिभावकसमेत भएको र अझ ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरूलाई सहज सेवा दिन शिविर सञ्चालन गर्ने गरिएको अध्यक्ष राईले बताउनुभयो । जनताको सेवाका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले हिँडडुल गर्नै नसक्ने कतिपय अशक्तहरूलाई बैंक र गाउँपालिका कर्मचारीलाई घरघर खटाएर समेतबैंङ्किङ सुविधा प्रदान गरिने बताउनुभयो ।
    शिविरको पहिलो दिन आईतबार उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित रतन्छाको वडा कार्यालय मार्फत भत्ता वितरण गरिएको छ । उक्त वडामा आयोजित शिविरबाट ११७ जना लाभग्राहीको लागि १७ लाख ३६ हजार रकम वितरण गरिएको नेपाल एसबिआई बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले बताउनुभयो ।
    साकेला गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक हजार तीन सय ३३ जना लाभग्राही भत्ता प्राप्त गर्न योग्य छन् । उनिहरुको लागि गाउँपालिकाले एक करोड ३४ लाख २० हजार ४२५ रुपैंया निकासा गरेको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो ।
    लगातार छ दिन सम्म चल्ने शिविरको दोश्रो दिन असोज १४ गते ५ नम्बर वडा कार्यालय मात्तिमबिर्ता, असोज १५ गते ३ नम्बर वडा कार्यालय खिदिमा, असोज १६ गते ४ नम्बर वडा कार्यालय मात्तिम, असोज १८ गते १ नम्बर वडा कार्यालय बाँझेच्यानडाँडा र असोज २० गते चण्डेश्वरी आधारभूत विद्यालय १ नम्बर वडामा पुगेर शिविर टुङ्गिने गाउँपालिकाले जनाएको छ ।
    शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीहरूले भने देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने व्यवस्था गरिएको छ । २०८१ असोज १६ गते ।

  • वेलफेयरको सहयोगमा विद्यालय भवन १२ कोठे भबन बन्ने

    टेस साकेला- खोटाङको साकेला गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा विद्यालय भवन निर्माण हुने भएकोछ । जिल्लाको दशवटा स्थानीय तहमध्ये छनौट भएको साकेला गाउँपालिका-५ को उक्त विद्यालयमा जि.डब्लु.टि नेपालको आर्थिक सहयोगमा १२ कोठे पक्की भवन निर्माण हुने गरि सम्झौता भईसकेकोछ । कूल २ करोड ८५ लाख ५८ हजार १३३ रुपैंयामा निर्माण सम्पन्न हुने उक्त विद्यालय भवनमा समुदायको २८ लाख १५ हजार ९७३ रुपैंया जनश्रमदान जोडिनेछ ।
    यहि कार्तिक २५ गतेदेखि निर्माण सुरु हुने विद्यालयको नयाँ भवन आगामी २०८२ असार १४ गते सम्पन्न हुने लक्ष्य राखिएको छ । विद्यालयको पूर्वतर्फ रहेको लामो पुरानो विद्यालय भवन र सो अगाडिको दुई कोठे भवन भत्काएर उपलब्ध हुने ठाउँमा नयाँ भवन निर्माण गरिने सो विद्यालयका प्रधानाध्यापक शितल राईले बताउनुभयो । नयाँ विद्यालय भवन सँगै पुरानो भवनहरुको मर्मत सँगै ६ कोठे अपाङ्ग र महिलामैत्री शौचालयको समेत निर्माण हुने प्रअ राईले जानकारी दिनुभयो ।
    उक्त आयोजना अन्तर्गत ६० जोर डेक्सबेञ्च, फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ, पीउने पानीको धारा, खानेपानीको ट्याङ्कि लगायतको काम समेत सम्पन्न हुने बताईएको छ । जीडब्लुटी नेपाल र विद्यालयबीच हालै भएको सम्झौता पत्रमा विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई, प्रधानाध्यापक शितल राई र कार्यवाहक वडाअध्यक्ष निर्मला राईले हस्ताक्षर गर्नुभएको छ भने एरिया वेल्फेयर दिक्तेलको तर्फबाट अफिसर भूमिराज निङलेखु लिम्बु र प्रोजेक्ट सेलको प्रतिनिधि जीवन गुरुङले हस्ताक्षर गर्नुभएको छ ।
    व्यवस्थित, सुविधायुक्त र पर्याप्त कक्षाकोठा र भवनको अभाव भईरहेको अवस्थामा ब्रिटिश गोर्खा वेलफेयरबाट प्राप्त अनुदान सहयोगबाट विद्यालयको भवन निर्माण हुनु अत्यन्तै गौरव महशुष गरेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको ब्रिटिश गोर्खामा आफूले समेत रगत र पसिना बगाएको उल्लेख गर्नुहुँदै अध्यक्ष राईले आफू निर्वाचित भएको ठाउँमा ब्रिटिश गोर्खा वेलफेयरबाट विद्यालय निर्माणको लागि अनुदान पाउनु निकै महत्वको विषय भएको उल्लेख गर्नुभयो ।२०८१ असोज १५ गते ।

  • जनश्रमदानमा समन्वय प्रमुख र अध्यक्ष

    जनश्रमदानमा समन्वय प्रमुख र अध्यक्ष

    टेस
    साकेला- वर्षादका कारण सडक बिग्रिएर आवत-जावतमा समस्या भएपछि साकेला गाउँपालिकाले आफ्नै मेसिन र ट्याक्टरको सहायताले जनश्रमदान जुटाएर सडक मर्मत गरेको छ ।मानेभञ्ज्याङ-बाँझे सडक खण्ड अन्तर्गत साकेला गाउँपालिकाको वडा नम्बर-२ रतन्छाखण्डमा हिलोका कारण सवारी आवागमनमा समस्या भएपछि शुक्रबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्मा जनश्रमदान जुटाएर सडक मर्मत गरिएको हो ।
    जिल्ला समन्वय समिति खोटाङका संयोजक सनबहादुर राईले समेत सडकमा श्रमदान गर्नुभएको थियो। गाउँपालिकाले चलाएको जनश्रमदानको अभियानमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै उहाँले नागरिकले भोग्दै आएको दुख र समस्यालाई साकेला गाउँपालिका सरकारले समाधान गर्ने कार्य सह्रानीय भएको बताउनुभयो ।
    हिलोका कारण सवारी आवतजावतमा समस्या देखिएपछि उक्त क्षेत्रमा एक वटा ब्याकहोलोडर र तीन वटा ट्याक्टर प्रयोग गरेर हिलो फ्याल्ने र सवबेस लगाउने काम सम्पन्न गरिएको हो । करीव आठ सय मिटर लम्वाईको सडक मर्मत कार्यका लागि स्थानीय नागरिकहरुले जनश्रमदान गरेका थिए । वर्षादका कारण सडक विग्रिएर आवतजावतमा समस्या भईरहेको क्षेत्रहरुमा क्रमिकरुपमा सुधार गर्दै लगिने गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ ।
    साकेला गाउँपालिकाको समृद्ध साकेला निर्माणको अभियानलाई साथ दिन स्थानीय नागरिकहरुको श्रमदान उल्लेख्य मात्रामा देखिएको थियो । उक्त क्षेत्रमा सडक खाल्डाखुल्डी हुनुका साथै पानी जमेर हिलो भएपछि आवत जावतमा समस्या हुँदै आएको थियो । सडक मार्गहुँदै आवतजावत गर्ने सवारी तथा यात्रुहरुको समस्यालाई बुझेरगाउँपालिकाले चलाएको उक्त अभियान पश्चात आवतजावतमा सहज भएको स्थानीय सन्तराज राईले बताउनुभयो । सडक मर्मत गरिएपछि पालिकाको केन्द्रसम्म आवत-जावत गर्न सहज भएकोउहाँको भनाई छ ।
    पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बनेमात्र गाउँपालिकाले देखेको समृद्धिको सपना पुरा हुने गाउँपालिका अध्यक्ष राईको भनाई छ । टोल-टोल बाट नागरिक आफै सक्रिय भएर विकासको कार्यलाई हातेमालो गरी सडक तथा पूर्वाधार, सरसफाई लगायतका कार्यमा लागि पर्नुपर्ने र पालिकाभित्र हुने हरेक विकासको कार्य नागरिकस्तरबाट भईरहँदा पालिकाको साथ रहने उहाँले बताउनुभयो । पालिकाको समग्र क्षेत्रको विकास गरि समृद्ध साकेला निर्माण गर्न सम्पूर्ण साकेलाबासी एकजुट हुनुपर्ने प्रमुख राईको धारणा छ ।२०८१ भदै ९ गते ।

  • निर्मलीडाँडाको पेलुङमा अस्थायी प्रहरी चौकी

    निर्मलीडाँडाको पेलुङमा अस्थायी प्रहरी चौकी

    निर्मलीडाँडा टेस ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाका लागि शान्तिसुरक्षा कायम गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी बुधबार स्थापना गरिएको हो ।
    अस्थायी प्रहरी चौकी निर्मलीडाँडामा प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा छजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । “नागरिकलाई शान्तिसुरक्षा दिनु प्रहरीको कर्तव्य हो । स्थानीय नागरिकलाई शान्तिसुरक्षा दिन निर्मलीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “नागरिक बिना बर्दीका प्रहरी हुन् । उहाँहरुको सहयोग र समन्वयले मात्र समाजमा शान्तिसुरक्षा कायम गर्न सक्छौँ । अस्थायी प्रहरी चौकीमा खटिएका प्रहरीहरुले स्थानीय बासिन्दासँग सहकार्य गरेर अघि बढ्छ ।”
    निर्मलीडाँडास्थित पेलुङका स्थायी बासिन्दा अर्जुन कार्कीको घर वार्षिक रु ४० हजार भाडामा लिएर सञ्चालन गरिएको प्रहरी चौकीको घर भाडा वडा कार्यालय निर्मलीडाँडाले उपलब्ध गराउने सहमति भएको जनाइएको छ । अस्थायी प्रहरी चौकी स्थायी स्थायी नभएसम्म घर भाडा तथा अन्य बन्दोबस्तीको व्यवस्था सम्बन्धित वडा कार्यालयले गर्नुपर्ने दुई पक्षीय सहमतिपत्रमा उल्लेख छ ।
    निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका नागरिकले शान्तिसुरक्षाको महसुस गर्नुका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण हुने विश्वास गरिएको वडाध्यक्ष दिनेशकुमार कठेतले बताउनुभयो । “आफू जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुपूर्व निर्मलीडाँडामा प्रहरी चौकी स्थापना गर्ने जनताबीच गरेको प्रतिवद्धता पूरा भएको छ । ढिलै भएपनि यहाँका नागरिकलाई शान्तिसुरक्षाको महसुस गराउनका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण हुने विश्वास गरिएको छ”, उहाँले भन्नुभयो, “प्रहरी चौकी स्थापनाका लागि आवश्यक फर्निचर, भान्छामा प्रयोग हुने सामान, बिजुली, खानेपानी तथा इन्टरनेट सेवाका साथै घर भाडासमेत वडा कार्यालयले उपलब्ध गराएको छ । आगामी दिनमा पनि अस्थायी प्रहरी चौकीलाई आवश्यक पर्ने भौतिक तथा प्राविधिक सहयोग वडा कार्यालयबाट निरन्तर उपलब्ध गराइनेछ ।”
    मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–भाजपुर सडकखण्डको निर्मलीडाँडास्थित पेलुङमा स्थापना गरिएको प्रहरी चौकी आज (बुधबार) प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले रिबन काटेर उद्घाटन गर्नुभएको छ । प्रहरी चौकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहनुभएका प्रजिअ कार्कीले शान्तिसुरक्षा कायम राख्न स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

    अस्थायी प्रहरी चौकी स्थापना कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दा लगायतको उपस्थिति थियो । प्रहरी चौकी स्थापना गर्न निर्मलीडाँडा पुगेका सुरक्षा निकायका टोलीलाई स्थानीय बासिन्दाले साँकृतिक झाँकीसहित फूलमालाले स्वागत गरेका थिए ।

    यसैबीच, निर्मलीडाँडामा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय दुईजना समाजसेवीले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । भाडाको घर प्रयोग गरेर अस्थायीरुपमा सञ्चालन गरिएको प्रहरी चौकीका लागि पक्की भवन निर्माण गर्न स्थानीय केशरमान राई र अर्थमान राईले दुई÷दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको वडाध्यक्ष कठेतले जानकारी दिनुभयो ।
    जग्गादाता राईद्धयलाई प्रहरी चौकी उद्घाटन कार्यक्रममा दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ । प्रहरी चौकीका लागि निःशुल्क प्राप्त जग्गामा पक्की भवन निर्माणका लागि यसै वर्षबाट पहल थालिने वडाध्यक्ष कठेतले बताउनुभएको छ ।
    दश स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना गरेर सञ्चालन ल्याइएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, छवटा ईलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा कार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एकवटा पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।२०८१।०४। १० गते ।

  • साकेलाका कृषकले अनुदान हैन ऋण पाउने

    साकेलाका कृषकले अनुदान हैन ऋण पाउने

    टेम्के सम्बाददाता
    साकेला- आफ्नै ठाउँमा किसानलाई रोजगारी प्रदान गरि आयआर्जनमा सुधार ल्याई जीवनस्तर उकास्न साकेला गाउँपालिकाले कार्यक्रम अघि सारेको छ । व्यवसायिक रुपमा कृषि खेतीप्रति किसानलाई आकर्षित गराई आयस्तरमा सुधार ल्याउन गाउँपालिकाले लागत साझेदारीमा कृषि समाग्री उपलब्ध गराएको छ । साकेला गाउँपालिका-३ स्थित जन विकास बहुउद्देश्यीय सहकारी संस्था खिदिमालाई गाउँपालिकाले विभिन्न समाग्री हस्तान्तरण गरेको छ भने समूह मार्फत उक्त समाग्री किसानलाई प्रदान गरिएको छ ।
    गाउँपालिकास्थित कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम तरकारी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत उक्त सहकारी संस्थालाई गाउँपालिकाको ९ लाख ७५ हजार र समूहको २ लाख १० हजार ४४० गरि ११ लाख ८५ लाख ४४० रुपैंया बजेटबाट १२० थान टनेल, २ थान हाते ट्याक्टर र ४ थान स्पेयर (विषादी छर्किने) मेसिन हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले समूहका अध्यक्ष दूधराज तामाङ मार्फत किसानलाई उक्त समाग्री हस्तान्तरण गर्नुभएको हो ।
    उक्त समूहमा १२० जना कृषकहरु आवद्ध रहेका छन् । उनहरुले खिदिमा क्षेत्रका १५ रोपनी जग्गामा साग, सिमी, मूला, टमटर, अकबरे खुर्सानी, काँक्रा, फर्सी लगायतका विभिन्न प्रजातिका तरकारी खेती यसै वर्षदेखि सुरु गरेको उक्त समूहका अध्यक्ष तामाङले बताउनुभयो ।
    कृषकलाई रोजगारी प्रदान गरि आयस्तरमा सुधार गर्दै ताजा तरकारी उत्पादनमा वृद्धि गर्ने लक्ष्य गाउँपालिकाले लिएको अध्यक्ष राईले बताउनुभयो । साकेला गाउँपालिकाले पछिल्लो समय कृषिमा दिँदै आएको अनुदान वितरण बन्द गरेको छ । यसअघि किसानलाई उपलब्ध गराईएको अनुदान बालुवामा हालेको पानी भएपछि अनुदानलाई बन्द गरि सहुलियत दरमा ऋण प्रदान गर्ने नीति ल्याएको अध्यक्ष राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ अघिल्लो सरकारको पालामा कृषि क्षेत्रमा भएको लगानी हेरौं, बाख्राको खोरमा बाख्रा छैन अहिले त खोरै छैन, माछा पोखरी हेरौ पोखरी मात्र छ, भैंसीको गोठ हेरौं गोठै भत्किसकेको छ कहाँबाट समृद्धि आउँछ ?
    पालिकाले गरेको लगानी त्यसै खेर गएको पाएपछि राज्यको रकम दुरुपयोग हुन नदिन हामीले कृषिमा अनुदान हैन ऋणको व्यवस्था गरेका छौं, अध्यक्ष राईले भन्नुभयो –सोही नीति अनुरुप आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरि केही रकम बिनियोजन गरेका छौं । अब हामी किसानलाई ऋण प्रवाह गर्नका लागि छुट्टै कार्यविधि बनाएर कार्यान्वयनमा लाग्नेछौं, यसबाट वास्तविक किसानको पहिचान हुनेछ ।
    किसानलाई धनि बनाईयो भने पालिका आफै धनी हुन्छ, समृद्धि छाउँछ तर राज्यको लगानीलाई दुरुपयोग हुन दिनेछैनौं –अध्यक्ष राई भन्नुहुन्छ, अब साकेलाको कुन भूगोलमा के उत्पादन हुन्छ सोही अनुरुप पालिकाले लगानी गर्दै जानेछ । पालिकाले आफ्नो भूगोलभित्रको कुन कुन स्थानमा के के उत्पादन गर्न सकिन्छ भनेर माटो परीक्षण समेत गरिसकेको छ ।

  • मात्तिमलाई केरा पकेट क्षेत्र बनाउन पाईप वितरण

    मात्तिमलाई केरा पकेट क्षेत्र बनाउन पाईप वितरण

    साकेला (टेस)
    खोटाङ जिल्लाका सदरमुकाम लगायत व्यापारी केन्द्रहरुमा तराईवाट केरा ढुवानी गरी उपभोक्ताहरुको माग पूर्ती भईरहेको बेला साकेला-खोटाङको साकेला गाउँपालिकास्थित वडा नम्बर ५ मात्तिमबिर्ता क्षेत्रलाई केरा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ ।
    केरा खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०/०८१ का लागि उद्योग कृषि

    तथा सहकारी मन्त्रालय कोशी प्रदेशबाट प्राप्त २० लाख र २५ प्रतिशत स्थानीयको लागत साझेदारीमा सो वडामा केरा खेती विस्तार सँगै योजना कार्यान्वयन सुरु गरिएको छ ।
    उक्त वडाको ४६६ रोपनी क्षेत्रफलमा यस वर्षदेखि केरा खेती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । जसका लागि जी नाईन जातको तन्तु प्रजनन (टिस्यु कल्चर) बाट उत्पादन गरिएको २८ हजार विरुवा रौतहटको चन्द्रनिगाहपुरबाट खरिद गरि ल्याएर किसानलाई वितरण गरिएको छ ।
    यसै क्रममा केरा खेतीका लागि खाडल खन्ने तीन वटा उपकरण मेसिन किसानलाई हस्तान्तरण गरिसकिएको छ भने शुक्रबार गाउँपालिका प्रमुख रवि प्रकाश राईले रोपिएको केराको बिरुवालाई जगाउन र सिंचाई सुविधा पुर्याउन २५ एमएमको १० हजार ८७० मिटर पाईप सोही योजना बाट खरिद गरी टोल सुधार समिति मार्फत किसानलाई हस्तान्तरण गर्नुभएको छ ।
    केरा खेती विस्तार गर्नका लागि स्थानीय मात्तिम कृषि तथा पशुपंक्षी कृषक समूह मार्फत काम अघि बढाईएको उक्त वडाका वडाध्यक्ष जीवन खत्रीले बताउनुभएको छ । गाउँपालिका अध्यक्ष राईले वडा नम्बर ५ लाई केरा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरि संघ प्रदेश तथा स्थानीय तहबाट लगानी बढाउँदै लैजाने बताउनुभएको छ । किसानले उत्पादन गरेको वस्तुहरुलाई बजार व्यवस्थापन गर्ने जिम्मा गाउँपालिकाले लिने बताउनुहुँदै अध्यक्ष राईले हरेक उत्पादनमा आत्मनिर्भर बन्न सके साकेलालाई समृद्ध बनाउन समय नलाग्ने धारणा व्यक्त गर्नुभयो ।
    पालिका भित्रका विभिन्न स्थानको माटो परीक्षण गरिसकिएको छ, कुन भूगोलमा के लगाउने भन्ने विस्तृत प्रतिवेदन आएपछि निर्धारण हुने र तत्कालका लागि वडा नम्बर ५ को भूगोलमा सुहाँउदो केरा, कफी, कागती, लिची लगायतका विरुवा रोप्न किसानलाई प्रोत्साहन गरिने अध्यक्ष राई बताउनुहुन्छ । गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, सोही वडाका वडाध्यक्ष तथा प्रवक्ता जीवन खत्री न्यौपाने लगायतको उपस्थितिमा केरा उत्पादक कृषकहरुलाई पाईप हस्तान्तरण गरिएको जनाईएको छ । २०८१ असार ६ गते

  • चुला पूजेर घरको शिलान्यास

    चुला पूजेर घरको शिलान्यास

    टेस
    साकेला- खोटाङको साकेला गाउँपालिकामा एकीकृत वस्ती विकास अन्तर्गत साँस्कृतिक घरहरु निर्माणको काम सुरु गरिएको छ । गाउँपालिकाभित्र रहेका १३ वटा जातजातीको धर्म, संस्कार र सँस्कृति झल्कने प्रकारको पुरातात्विक घरहरु निर्माण गर्ने गरि उक्त गाउँपालिकाको वडा नम्बर-३ खिदिमास्थित पर्यटकीय क्षेत्र तावाभञ्ज्याङमा काम सुरु गरिएको हो ।
    साकेला गाउँपालिकाको पहलमा सहरी विकास तथा भवन कार्यालय मार्फत चालु आर्थिक वर्षमा प्राप्त ४३ लाख रुपैंया बजेटबाट घर निर्माणको काम सुरु गरिएको छ । सुरुमा किराँत राई जातिको धर्म संस्कार र संस्कृति झल्कने ऐतिहाँसिक घरको निर्माण हुनेछ ।
    आज सोमबार स्थानीय रीतिरिवाज र परम्परा अनुसार तीन चुला पूजेर उक्त घरको शिलान्यास गरिएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्षहरु हेमन राई, गोविन्द तामाङ, प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायत राजनैतिक दल तथा स्थानीयहरुको उपस्थितिमा स्थानीय राई धामी (नछुङ)ले किराँत राईको रीतिरिवाज अनुसार तीन चुला पुजेर, ढोलझ्याम्टा बजाएर नाच्दै घर निर्माणको औपचारिक काम सुरु गरिएको हो ।
    यस वर्ष किरात राईहरुको जातीय घर निर्माण सुरु गरेर ‘एकीकृत साँस्कृतिक गाउँ’ निर्माण सुरु गरिएको छ, पालिकाभित्रका सबै जातजातिलाई समेटेर १३ वटै घर निर्माण सम्पन्न गरेर पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाको लक्ष्य भएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । हामी गाउँपालिकालाई पर्यटन प्रवर्द्धनको माध्यमद्वारा समृद्ध बनाउने दीर्घकालिन सोंचका साथ अगाडि बढिरहेका छौं, उहाँले भन्नुभयो- हाम्रो यो कार्यलाई सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्यो ।
    गाउँपालिकाको प्रमुख पर्यटकीय हवको रुपमा तावाभञ्ज्याङ क्षेत्रलाई विकास गर्दै लैजाने गाउँपालिकाको दीर्घकालिन सोंच रहेको छ । सो स्थानमा निर्माण हुने साँस्कृतिक गाउँमा आ-आफ्नो जातजातिको पहिचान झल्कने संरचना तयार हुनेछ । सो क्षेत्रमा बन्न लागेको तावाताल, धार्मिक पार्क घुम्न आउने पर्यटकलाई लक्षित गरि निर्माण सुरु गरिएको बहुसाँस्कृतिक घरहरुलाई होमस्टेको रुपमा समेत सञ्चालन गरिने अध्यक्ष राई बताउनुहुन्छ ।
    यसरी निर्माणहुने घरहरु दुई तल्लाको हुनेछ । पहिलो तल्लामा जातीय संस्कार, संस्कृति झल्कने समाग्री र ऐतिहाँसिक महत्वका समाग्री सहितको संग्राहलय हुनेछ भने माथिल्लो तल्लाको दुईवटा कोठामा गेष्ट रुम निर्माण गरिने गरि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । वरिपरी निर्माण हुने १३ वटा घरको बीचमा भने सबै जातजातिको पहिचान झल्कने सामूहिक घर निर्माण हुनेछ, जहाँ रिसेप्सन सहितको हल बन्ने अध्यक्ष राईको भनाई छ ।
    साकेला गाउँपालिकाभित्र बसोबास गर्ने १३ वटा जातीहरु रहेका छन् । यसरी आफ्नो राज्यभित्र भएका जातजातिलाई समेटेर बस्ती निर्माण गर्ने साकेला गाउँपालिका नेपालमा मात्र नभई विश्वमै पहिलो हुने बताईएको छ । त्यसो त साकेला गाउँपालिकालाई समृद्धिको गन्तव्यमा लैजाने प्रमुख आधार भनेको पर्यटन पूर्वाधार तयार गर्नु नै हो । सोही अनुरुप पालिकाले सो क्षेत्रमा तावाताल, धार्मिक पार्क निर्माणको योजनालाई महत्वकांक्षि योजनाको रुपमा समेटेर आफ्नो आवधिक योजनामा समेत समावेश गराएको छ । तावाताल र धार्मिक पार्क निर्माण गर्नको लागि समेत पालिकाले डिपिआर तयार गरिसकेको छ ।
    साँस्कृतिक गाउँ निर्माणको काम भने स्थानीय उपभोक्ता समिति मार्फत सुरु गरिएको छ । गाउँपालिकाले अघि सारेको साँस्कृतिक गाउँ निर्माणको काम विश्वकै नमूना भएको स्थानीयवासी मिनराज राईले बताउनुभएको छ । उहाँले यो महत्वकांक्षि योजना जसरी भए पनि पुरा हुने र योजना सञ्चालनको लागि महत्वपूर्ण भूमिका निभाउनुहुने गाउँपालिका अध्यक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
    अर्का स्थानीयवासी तथा महिला नेतृ शान्तिकला राईले गाउँपालिकाले सुरु गरेको यो योजनालाई सबैले साथ सहयोग गरेर सम्पन्न गराउनुपर्ने बताउनुभयो । पर्यटन प्रवर्द्धनबाट मात्र गाउँपालिकाको भविष्य सुन्दर हुनेभएकाले यसरी हुने सामूहिक कार्यमा सबै क्षेत्रका व्यक्तिहरुबाट सहयोग प्रदान हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । साँस्कृतिक गाउँ निर्माण भएपश्चात गाउँपालिकाभित्र बस्ने नागरिकहरुले समेत नयाँ घर निर्माण गर्दा सोही बस्तीमा निर्माण गरिएको नमूना घरको नक्शा अनुसार आफ्नो घर निर्माण गर्ने गरि गाउँपालिकाले कानून बनाउने तयारी गरेको जनाईएको छ । २०८१/०२/२२

  • साकेला शिली प्रतियोगिता सम्पन्न,  किराती सभ्यताको जगेर्ना गर्न गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष राईको भनाई

    साकेला शिली प्रतियोगिता सम्पन्न, किराती सभ्यताको जगेर्ना गर्न गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष राईको भनाई

    टेस
    साकेला- खोटाङको साकेला गाउँपालिका-२, रतन्छामा साकेला शिली प्रतियोगिता सम्पन्न भएको छ । किरात राई यायोक्खा र किरात राई चाम्लिङ खाम्मातिम वडा कार्य समिति रतन्छाको आयोजनामा शुक्रबार स्थानीय दारुलाटार खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको हो । साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यता तथा किरात राई यायोक्खा वडा कार्य समिति रतन्छाका अध्यक्ष चुनु राईको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो । किरात राईहरुको प्रमुख पर्व साकेला उभौली धिरिनाम)को अवसरमा राई जातिको साकेला शिलीको प्रचारप्रसार एवम् प्रवर्द्धन गरि संस्कृति संरक्षणलाई
    जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताईएको छ । पाँच वटा प्रतियोगि समूह सहभागि कार्यक्रममा युवा जनसाँस्कृतिक परिवार माचास्का प्रथम, पारुहँ युवा सेवा समाज दोश्रो, किरात भुसुरी यायोक्खा बुतेपा तेश्रो तथा महरुङ्ग मिश्रित सामुदायिक संस्था सान्तवना भएका छन् ।
    विजयीहुने सबै समूहलाई गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले पुरस्कार हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा प्रथम हुने समूहलाई पन्ध्र हजार रुपैंया बराबरको एकथान ढोलझ्याम्टाको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै दोश्रो हुनेलाई १२ हजार रुपैंया बराबरको ढोलझ्याम्टाको साथमा प्रमाणपत्र, तेश्रो हुने समूहलाई ९ हजार बराबरको ढोलझ्याम्टाको साथमा प्रमाणपत्र र सान्तवना हुने समूहलाई ६ हजार रुपैंया बराबरको एक जोर झ्याम्टाको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । साकेला शिली नाच प्रतियोगितामा देशवीर राई, भिम बहादुर राई र धिराज राईले (धामी, नछुङ)को भूमिका निर्वाह गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले किराँती संस्कार र सभ्यताको जगेर्ना गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले भन्नुभयो किराती सँस्कृति र सभ्यता बचाउन गरेको कोशिष सह्रानीय छ यसलाई बढाउँदै लैजानुपर्छ । उहाँले किराँती संस्कार र सभ्यतालाई फराकिलो मन, उच्च विचार, उच्च सोंच बनाएर अघि बढ्नुपर्ने बताउनुहुँदै साकेला गाउँपालिकाले सभ्यतालाई जगेर्ना गर्न कुनै कन्जुस्याई नगर्ने र आगामी दिनमा सहयोग प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतियोगिताले साकेला सिलीको विषयमा जानकारी गराउने, भाषा, कला, ज्ञानसीप, संस्कार र संस्कृतिको जगेर्ना गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैर राईबीचमा सद्भाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको विषयमा समान बुझाईको विकास गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति संरक्षण हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा मछामा–बेसारा–सेन्हमा-वापा लगायतका शिली प्रस्तुत गरिएको थियो । प्रतियोगिताले किरात राईहरुको संस्कृतिलाई बचाई राख्न मद्दत पुग्ने बताईएको छ ।
    प्रतियोगितामा साकेला गाउँपालिका उपाध्यक्ष एवम् किरात राई यायोक्खा केन्द्रीय सदस्य बिर्सिका राई, यायोक्खा केन्द्रीय सदस्य अञ्जना राई, पूर्व जिल्ला विकास समिति उपसभापति बाबुराम राई, वडा अध्यक्षहरु जितेन्द्र कुमार राई, गोविन्द तामाङ सहित जनप्रतिनिधि, समाजसेवी, राजनैतिक व्यक्तित्व लगायतको उपस्थिती रहेको थियो । २०८२ जेठ २० गते